
झापा, ३० श्रावण। झापामा जंगली हात्तीको आक्रमणबाट घाइते एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका १ घर भइ हाल दमक १ मा होटेल व्यवसाय सञ्चालन गर्दै आएकी ४७ वर्षीया सुनिता राई रहेको प्रहरीले जनाएको छ ।
गत साउन ११ गते बिहान करिब सवा ४ बजेतिर दमक–१ बरगाछीनजिक मर्निङ वाकमा जाँदै गर्दा सुनिता र उनकी बहिनी ४२ वर्षीया कवितालाई हात्तीले आक्रमण गरेको थियो।
घाइते दुवैमध्ये सुनिताको उपचारका क्रममा आज बिहान २:१३ बजे विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको हो । उनको टाउको, दाहिने आँखी भौँ, दुवै खुट्टा, बायाँ हात र शरीरको विभिन्नमा भागमा चोट लागेको थियो ।
यता घाइते कविता उपचार पश्चात् साउन २५ गते डिस्चार्ज भएकी थिइन् ।
