कुवेतमा विषाक्त मदिरा सेवन गरेका कारणले ९ जना नेपालीको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ३१, शुक्रबार (६ महिना अघि)
  • २ पटक पढिएको
कुवेतमा विषाक्त मदिरा सेवन गरेका कारणले ९ जना नेपालीको मृत्यु

काठमाडौं, ३० श्रावण। कुवेतमा विषाक्त मदिरा सेवन गरेका कारण ९ जना नेपालीले ज्यान गुमाएका छन् । अझै केही उपचारकै क्रममा छन् । केहीलाई भने डिस्चार्ज गरिसकिएको त्यहाँस्थित अस्पतालले नेपाली राजदूतावासलाई जानकारी गराएका छन् ।

दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यले अनलाइनखबरलाई दिएको जानकारी अनुसार, मृत्यु हुनेहरूको विवरण संकलन हुँदैछ । मेडिकल रिपोर्ट नआउँदासम्म मृत्युको कारण यकिन गर्न नसकिने उनले बताए ।

‘तीन दिनको बीचमा ९ नेपालीको मृत्यु भएको छ । मेडिकल रिपोर्ट नआउँदासम्म विषाक्त मदिरा वा अन्य के कारण भन्न सकिने अवस्था छैन,’ उनले भने ।

कुवेतस्थित स्वास्थ्य मन्त्रालयले मेथानोल मदिराका कारण बिरामीहरू धमाधम अस्पताल भर्ना हुने क्रम बढेको उल्लेख गरेको छ । नेपाली ९ सहित अन्य एसियाली मुलुकका २३ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ ।

१ सय ६० जनाभन्दा बढी उपचारका क्रममा रहेको मन्त्रालयले जनाएको छ । कुवेतस्थित आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा बिरामीहरूको उपचार भइरहेको छ

कुवेतमा मदिरा पूर्णरूपमा प्रतिबन्धित छ । तर, पनि लुकिछुपी हुने उत्पादन गरी अवैधानिक बेचबिखन भएको पाइएको हो । विषाक्त मदिराको स्रोत पत्ता लगाउन अनुसन्धान भइरहेको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ ।

मिर्गौला फेल भएकाहरूको डायलासिस चलिरहेको, केहीमा पूर्ण र आंशिक दृष्टिदोष देखिएको मन्त्रालयले जनाएको छ । विषाक्त मदिरा सेवन गरेर मृत्यु हुने र गम्भीर बिरामी हुनेमा अधिकांश निर्माण मजदुर रहेका छन् ।

प्रारम्भिक अनुसन्धानमा मदिरामा मेथानोल प्रयोग भएको देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पुष्टि गरेका छन् । मेथानोल एक विषालु रसायन हो ।

उद्योगहरूमा एन्टिफ्रिज, सोल्भेट र इन्धन बनाउन प्रयोग गरिने मेथानोल मदिरामा प्रयोग भएको देखिएको अधिकारीहरूले बताएका छन् । सामान्य मदिरामा पाइने एथानोल मानव उपभोगका लागि प्रयोग हुने भएपनि मेथानोल खाद्य प्रयोजनमा प्रयोग गरिँदैन ।

मेथानोलयुक्त पेय पदार्थ पिउँदा टाउको दुखाइ, बान्ता, दृष्टि धमिलो हुने, कोमामा पुग्ने लक्षण देखिन्छ भने व्यक्तिको मृत्यु समेत हुनसक्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस