मोटरसाइकल दुर्घटना हुँदा : दुई जनाको मृत्यु, एक जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ श्रावण ३२, शनिबार (६ महिना अघि)
  • ३ पटक पढिएको
मोटरसाइकल दुर्घटना हुँदा : दुई जनाको मृत्यु, एक जना घाइते

विराटनगर, ३१ श्रावण। मोरङको बूढीगंगा गाउँपालिकाको अलगअलग स्थानमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर छ । 

मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले एउटा दुर्घटना बूढीगंगा–२ अमाही बोक्ला टोलस्थित भित्री सडकखण्डमा राति १०:१५ बजेतिर भएको जानकारी दिए । नेमुवाबाट अमाहीतर्फ जाँदै गरेको को ३५ प ५०३३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा पर्दा चालक बूढीगंगा–२ का ३५ वर्षीय विकासकुमार भगतको मृत्यु भएको उनले बताए । 

गम्भीर घाइते भएका भगतलाई उपचारका लागि बूढीगंगाकै विराट शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा राति १२:३२ बजेतिर मृत्यु भएको इन्स्पेक्टर लाम्सालले बताए । मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा छ । 

त्यस्तै, कोशी लोकमार्गअन्तर्गत बूढीगंगा–३ स्थित एसियन फ्यूल सेन्टरनजिक राति ११ बजेतिर अर्को दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।  इन्स्पेक्टर लम्सालका अनुसार नेमुवाबाट विराटनगरतर्फ आउँदै गरेको को २१ प ८६९२ नम्बरको मोटरसाइकल सडकको डीभाईडरमा ठोक्किएर दुर्घटनामा परेको थियो । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार विराटनगर महानगरपालिका–४ का ४२ वर्षीय कात्तिक विश्वासको मृत्यु भएको जानकारी उनले दिए । गम्भीर घाइते अवस्थाका उनलाई घटनास्थलबाट उद्धार गरेर उपचारका लागि कोशी अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका थिए । 

दुर्घटनामा परेर मोटरसाइकल चालक विराटनगर–४ का सञ्जय थान्दार गम्भीर घाइते भएका छन् । उनको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा छ । दुवै घटनाको अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस