
विराटनगर, ०२ भदौ। मोरङमा कारबाट लागुऔषध बरामद गरेर प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। उर्लाबारीबाट कारमा ल्याइएको लागुऔषधसहित झापाको दमक नगरपालिका–४ का ४३ वर्षीय केदार ओझा, मोरङको उर्लाबारी नगरपालिका–४ की २२ वर्षीया एन्जिला दाहाल र उर्लाबारी–७ का ३२ वर्षीय सुजन सेन्दाङलाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्।
दुर्गापुरी–उर्लाबारी सडक खण्डमा आमबारीबाट उर्लाबारीतर्फ आउँदै गरेको बा३ च ७९८१ नम्बरको कारलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा कारबाट लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
ग्यालिनमा भरेर राखिएको लागुऔषध कोरेक्सजस्तो देखिने वस्तु ५ लिटर र नाइट्राभेट १० पत्ता (१ सय ५० ट्याब्लेट) कारको सीटबाट बरामद भएको जानकारी चुँडालले दिइन्। इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखिएका उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।
