
वीरगञ्ज, ०३ भदौ। बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीमा पिकअप गाडीको ठक्करबाट एक ९० वर्षीय पैदल यात्रीको मृत्यु भएको छ । मृतकको पहिचान स्थानीय बासिन्दा कुवर राउत कुर्मीको रूपमा भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, प्र.२–०३–००१ च १७९४ नम्बरको पिकअप गाडीले सोमबार कुर्मीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका कुर्मीलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा सोमबार साँझ उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
घटना लगत्तै पिकअप चालक फरार भएका छन् । परवानीपुर प्रहरी कार्यालयले चालकको खोजी कार्य तीव्र रूपमा अगाडि बढाएको जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
घटनाले स्थानीय समुदायमा शोक छाएको छ भने सवारी चालकको लापरबाहीप्रति आक्रोश व्यक्त गरिएको छ । प्रहरीले चालकलाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
