रौतहटको फतुवा विजयपुर विद्यालयमा ताला फोडेर चोरी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ६, शुक्रबार (६ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

रौतहट, ०६ भदौ। रौतहटको फतुवा विजयपुर नगरपालिका–३ स्थित आधारभूत विद्यालय मेवामा बिहीबार राति अज्ञात समूहले ताला फोडेर चोरी गरेको छ। विद्यालयको स्टोर र गेटको ताला तोडेर ग्यास चुल्हो, सिलिन्डर, तेल–मसला, बाल्टिन, कुर्सी, इन्टरनेट राउटर, नेपाली शब्दकोश तथा विद्यार्थीहरूलाई हातखुट्टा धुने ५० भन्दा बढी साबुनलगायतका सामग्री चोरी भएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक रामजन्म महतो कहारका अनुसार चोरी भएका सामानहरू प्रायः दिवा–खाजाका लागि ल्याइएको सामग्री थिए। अस्थायी प्रहरी चौकी मेवाले रड प्रयोग गरी ताला तोडेर चोरी भएको पुष्टि गरेको छ।

शुक्रबार बिहान सफाइका लागि विद्यालय पुगेका कर्मचारी राजेश पटेलले ताला फोडिएको देखेपछि चोरी भएको थाहा भएको बताएका छन्।

अहिलेसम्म चोरीमा संलग्न व्यक्तिको पहिचान नभएको र खोजी कार्य भइरहेको अस्थायी प्रहरी चौकी मेवाका असई संजय रामले जानकारी दिएका छन्।

विद्यालयमा चोरी हुनु सामान्य घटना होइन। ग्यास चुल्हो, खाजाका लागि ल्याइएको खाद्यान्नदेखि इन्टरनेट राउटरसमेत चोरी भएकोले शैक्षिक क्रियाकलापमा प्रत्यक्ष असर पुर्‍याउने देखिएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस