श्रीमतीलाई छुरा देखाई बलात्कार गरेको अभियोगमा श्रीमान पक्राउ ६ महिना कैद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ भाद्र ७, शनिबार (६ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

काठमाडौँ, ०७ भदौ। विवाह भएको एक सातामै श्रीमतीलाई छुरा देखाई बलात्कार गरेको अभियोगमा एक पुरुषलाई दोषी ठहर गर्दै ६ महिना कैद र एक लाख रुपैयाँ क्षतिपूर्तिको फैसला भएको छ ।

धनुषा जिल्ला अदालतका न्यायाधीश दिलकुमार बर्देवाको इजलासले श्रीमतीको मन्जुरीबिना जबर्जस्ती करणी पुष्टि भएपछि सजाय र क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको हो । यसको पूर्णपाठ बिहीबार सार्वजनिक भएको हो ।न्यायाधीश बर्देवाको इजलासले गत जेठ १३ गते वैवाहिक जबरजस्ती करणी मुद्दामा श्रीमान्‌लाई दोषी ठहर गर्दै जेठ ३० गते सजाय निर्धारण गरेका थिए ।

यसरी भएको थियो घटना

पीडित र अभियुक्तबीच सामाजिक परम्पराअनुसार २०७९ वैशाख १४ विवाह भएको थियो । श्रीमान्‌ले हनिमुनका लागि काठमाडौं जान श्रीमतीलाई प्रस्ताव गरे । श्रीमतीले प्रगाढ रुपमा चिनजान नभएको हुनाले अस्वीकार गरिन् । राम्ररी चिनजान भएपछि जाने बताइन् । तर, विवाह भएको एक सातापछि वैशाख २१ गते श्रीमान् राति साढे ९ बजे मदिरा सेवन गरी कोठामा प्रवेश गरे । श्रीमतीले खाना खान आग्रह गरिन् । तर, श्रीमानले कोठाको चुकुल लगाई बलात्कार गरेको अभियोग पत्रमा उल्लेख छ ।

‘मलाई छुरा देखाएर राक्षसी प्रवृतिले मेरो मन्जुरीबिना नै बलजबर्जस्ती बेडमा लडाई मैले लगाएको लुगा फुकाली, जबर्जस्ती करणी गरी रक्तामे बनाएको,’ पीडितको अभियोगपत्रमा उल्लेख छ ।

श्रीमान्‌को बलात्कारबाट यौनांग च्यातिएर घाइते भएकी पीडितले जनकपुरधामको रामजानकी अस्पतालमा १० दिन उपचार गराएकी थिइन् । थप उपचार भारतको सीतामढीमा पनि गराएपछि पीडित माइती घर फर्किएकी थिइन् ।

पीडितका तर्फबाट बहस गरेका अधिवक्ताले मेडिकल रिपोर्ट, उपचार भएको अस्पतालको कागज, पीडितको स्वास्थ्य परिक्षण गर्ने डाक्टरहरुको बकपत्र तथा पीडितको बकपत्र, बुझिएका मानिसहरुको बकपत्र व्यहोराबाट पुष्टि भएकाले अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने जिकिर गरेका थिए ।

न्यायाधीश बर्देवाले दुवै पक्षका वकिलहरुको बहस तथा वादी–प्रतिवादीको बयानपश्चात् पीडितको वैवाहिक अवस्थामा जबरजस्ती करणी गरेको दाबी पुष्टि भएको ठहर गरेका थिए । ‘पीडित र प्रतिवादीबीच हालसम्म पति–पत्नीको नाता नै रहेको देखिन्छ । वारदातपश्चात् पनि प्रतिवादीको साथमा पीडित रहेको, पीडितलाई प्रतिवादीले नै उपचारमा वारदातको समयमा र सोपश्चात् पनि लगेको भन्ने देखियो,’ पूर्णपाठमा उल्लेख छ, ‘प्रतिवादीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(४) बमोजिम कसुर गरेको हुनाले ६ महिना कैद र उक्त संहिताको दफा २२८ बमोजिम एक लाख क्षतिपूर्ती बापतको रकम दिलाई भराई पाउने ठहर्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस