
भदौ ८ गते । रौतहट
बिगत केही दिनदेखि कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालले नगरभित्रका विभिन्न क्षेत्रमा भइरहेको विकास निर्माण, स्वास्थ्य सेवा र शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि अनुगमन तथा निरिक्षण अभियानलाई निरन्तरता दिनुभएको छ । नगर प्रमुख जैसवालले नगरवासीलाई सहज, सुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यसहित प्रत्यक्ष स्थलमै पुगेर समस्याबारे बुझ्दै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिँदै आउनु भएको छ ।
आईतबार नगर प्रमुख जैसवालले कटहरिया नगरपालिका–५ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको अनुगमन गर्नुभयो ।
स्थानीयवासीबाट निरन्तर आउने लापरबाहीका गुनासो र स्वास्थ्य सेवामा देखिएका कमजोरीका कारण उहाँ स्वयं स्वास्थ्य केन्द्रमै पुग्नुभएको हो । अनुगमनको क्रममा ल्याब सेवा, शैय्या (बेड) को अवस्था, एक्स–रे कक्ष, ओपिडी (इएम्) सेवा, शौचालय लगायत सम्पूर्ण पक्षलाई नजिकबाट निरीक्षण गर्नुभएको थियो ।
अनुगमनपछि उहाँले तत्काल सुधार गर्न सकिने कमजोरीलाई छिट्टै कार्यान्वयनमा ल्याउन सम्बन्धित कर्मचारीलाई निर्देशन दिनुभयो । यसैबीच स्वास्थ्य केन्द्र परिसरमा निर्माण भइरहेको १५ शैय्या क्षमताको नयाँ भवन करिब ८५ प्रतिशत सम्पन्न भइसकेको र केही महिनाभित्र पूर्ण रूपमा तयार हुने जानकारी समेत नगर प्रमुख जैसवालले दिनुभयो ।
उक्त भवन सञ्चालनमा आएपछि स्थायी रूपमा एमडी सर्जन चिकित्सक रहने व्यवस्था गरिने बताउँदै नगर प्रमुख जैसवालले अब नगरवासीलाई सामान्य उपचारदेखि शल्यक्रिया (सर्जरी) सम्मका लागि बाहिर धाउनुपर्ने आवश्यकता नहुने स्पष्ट पारे । उहाँले भवन निर्माण समयमै सम्पन्न गरी आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने दाबी पनि गर्नुभयो ।
यसैगरी नगर प्रमुख जैसवालले कटहरिया नगरपालिका–९ मा अवस्थित श्री माध्यमिक विद्यालय डुमरियाको समेत अनुगमन गर्नुभयो । विद्यालयमा पुगेर उहाँले प्रत्यक्ष कक्षाकोठा निरीक्षण गर्नुका साथै छात्र–छात्रासँग पठनपाठन सम्बन्धी अनुभवबारे सोधपुछ गर्नुभयो । विद्यार्थीले सामना गरिरहेका समस्याबारे सुनेपछि उहाँले विद्यालय प्रशासनलाई कमजोरी र आवश्यकता अनुसारको सूची तयार पारेर नगरपालिकामा पेश गर्न निर्देशन दिनुभयो ।
नगर प्रमुख जैसवालले विद्यालय र स्वास्थ्य संस्थाहरुको सुधार नगरपालिकाको प्राथमिकतामा रहेको भन्दै यसलाई प्रभावकारी बनाउन निरन्तर अनुगमन, प्रत्यक्ष छलफल र आवश्यक निर्णय गर्न आफू तत्पर रहेको स्पष्ट गर्नुभयो ।
नगरवासीले नगर प्रमुखको यस प्रकारको सक्रियता र पहललाई सराहना गर्दै यसले स्वास्थ्य र शिक्षा क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
