
स्याङ्जा, १५ भदौ। पोखराको पृथ्वीचोकस्थित सन्तोष होटल डेढ दशकअघि निकै चहलपहलको केन्द्र थियो । स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, बुटवल हुँदै दाङ–धनगढी जाने यात्रुको मुख्य गन्तव्य सिद्धार्थ राजमार्ग भएकाले होटल सधैं व्यस्त रहन्थ्यो । उक्त होटलका सञ्चालक थिए स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ३८ वर्षीय ठाकुर विक । होटल राम्रो चलिरहेको थियो, कमाइ पनि सन्तोषजनक थियो ।
होटलमा महिला–पुरुष कर्मचारी काम गर्थे । ठाकुर आर्थिक कारोबारमा व्यस्त रहने भएकाले दैनिक व्यवस्थापन स्टाफकै जिम्मामा थियो । एक दिन रामबाबुप्रसाद कलवार ग्राहक बनेर होटल आए । उनी एक दिन बास बस्दै खाना–खाजा खाए, तर भाडा तिरेनन् । रामबाबु होटलमै कार्यरत १६ वर्षीया सुनिता विकसँग बास बसेका थिए । सुनिता पोखरा कालिकास्थानकी बासिन्दा थिइन् । भोलिपल्ट खर्च तिर्ने क्रममा रामबाबु र ठाकुरबीच चर्काचर्की भयो ।
खर्च भएको भन्दा बढी बिल तिर्न लगाएको भन्दै विवाद चर्कियो । रामबाबुले १५ सय नगद, मोबाइल फोन र मोटरसाइकल होटलमै छाडेर पछि आउने सर्तमा निस्किए । केही बेरपछि उनी फर्किए तर प्रहरीसहित ।
रामबाबुले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिँदै महिला र आफूलाई अपहरण तथा शरीर बन्धकमा राखेको आरोप लगाए । बालिकामाथि अपहरण र शरीर बन्धकको जाहेरी परेपछि प्रहरी गम्भीर भयो र मुद्दा अदालतसम्म पुग्यो ।
यो घटना २०६९ साल जेठ १८ गतेको हो । रामबाबुले जेठ २३ गते प्रहरीमा जाहेरी दर्ता गराएका थिए । जाहेरीमा भनिएको थियो, ‘२०६९ जेठ १८ गते दिउँसो १ बजेको समयमा पोखरा–९ पृथ्वीचोकस्थित सन्तोष होटलबाट ठाकुरबहादुर विकले अपहरण गरी नगद १५ सय, मोबाइल र मोटरसाइकल लुटी शरीर बन्धक राखी भोलिपल्ट १९ गते मात्र छाडेको हुँदा कानुनबमोजिम कारबाही गरियोस् ।’ यसपछि सुनिता अहिलेसम्म फरार छिन् ।
१२ असारमा प्रहरीले जिल्ला अदालतमा मुद्दा पेस गर्यो । अदालतको थुनछेक आदेशले ठाकुरलाई पुर्पक्षका लागि कारागार पठायो । ८ महिनापछि उनी धरौटीमा छुटे । जिल्ला अदालतको फैसलाप्रति असहमति जनाउँदै रामबाबु पुनरावेदन अदालत पुगे । पुनरावेदन (हालको उच्च अदालत पोखरा) ले २०७० चैत १८ गते ठाकुरलाई दोषी ठहर गर्दै २ वर्ष ९ महिना ५ दिन कैद र २५ हजार रुपैयाँ जरिवाना तोक्यो । त्यसयता ठाकुर फरार थिए ।
लामो समय वैदेशिक रोजगारीमा कतार गएका ठाकुरको परिवार पोखरा–१७ छोरेपाटनमा बस्दै आएको थियो । आमाको स्वास्थ्य अवस्था गम्भीर भएपछि परिवारले उनलाई नेपाल बोलाएको थियो । आमाको निधनपछि ठाकुर किरियमकम बसे । तर, सादा पोसाकमा खटिएको प्रहरीले निगरानी बढाएर भदौ १० गते घरबाटै नियन्त्रणमा लियो । ‘हामीले खोजी गरिरहेका थियौं,’ जिल्ला प्रहरी प्रमुख दधिराम न्यौपानेले भने, ‘झोला कसेर हिँड्ने बेलामा घरबाटै पक्रेका हौं ।’ प्रहरीका अनुसार कतारमै हुँदा पनि उनीबारे नियमित अपडेट लिइन्थ्यो । नेपाल आएपछि किरिया गर्न मानवताका आधारमा समय दिइएको थियो । तर, फरार अभियुक्त भएकाले अन्ततः पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
भदौ ११ गते ठाकुरलाई जिल्ला अदालतमा हाजिर गराई कैद सजाय भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्दामा फरार रहेका कसूरदारलाई पक्राउ गर्ने अभियान चलाइरहेको छ । प्रहरी निरीक्षक प्रवेश तिवारीले भने, ‘अदालतका फैसला कार्यान्वयनलाई चुस्त र प्रभावकारी बनाउन हामीले यो विशेष अभियान चलाएका हौं । सुरक्षित र न्यायपूर्ण समाज निर्माण नै हाम्रो उद्देश्य हो ।’
