
काठमाडौँ, १८ भदौ। काठमाडौंको तार्केश्वर नगरपालिकास्थित फुटुङबाट एक जनालाई अपहरण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तार्केश्वर–१ घर भएका विराट सिंह लवट ‘मगल दास’, सोही ठाउँका ४४ वर्षीय राज लवट खत्री र तार्केश्वर वडा नम्बर–७ घर भएका ३९ वर्षीय सन्तोष महर्जन छन् ।
आरोपीहरूले सोमबार मध्याह्न तार्केश्वर–७ फुटुङ घर भएका राजु पण्डितलाई अपहरण गरेका हुन् । घटनाको सूचना प्राप्त भएको दुई घण्टापछि पीडितलाई उद्धार गरिएको प्रहरी वृत्त बालाजुका डीएसपी ज्ञान बहादुर विष्टले रातोपाटीलाई जानकारी दिए ।
जग्गा कारोबारको लेनदेन विवादमा आरोपीहरूले पण्डितलाई अपहरण गरेर २ करोड २३ लाखको चेक काटेको भेटिएको छ । पीडितलाई फुटुङ चोकबाट लगेर मंगल दासको घरमा राखेर बन्धक बनाएको र चेक काट्न लगाएको डीएसपी विष्टले बताए । चेकमा पीडितले हस्ताक्षर गरेका छैनन् ।
मंगल दासले पीडितसँग ६३ लाख लिनुपर्ने र सो रकम नदिएपछि अपहरण गरेको अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।
