
रौतहट, १८ भदौ। रौतहटमा ट्रक र स्कार्पियो ठोक्किँदा सात जना घाइते भएका छन्।
जिल्लाको चन्द्रपुर नगरपालिका – ४, धनसर पुलनजिकै रहेको पूर्व – पश्चिम राजमार्गमा बुधबार बिहान ट्रक र स्कार्पियो गाडी एक अर्कासँग ठोक्किँदा सात जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार घटना बिहान ४:३० बजे भएको हो।
पोखराबाट सर्लाहीको हरिवनतर्फ जाँदै गरेको गण्डकी प्रदेशको नम्बर प्लेट ‘बि ए ए ०८०४’ भएको स्कार्पियो र विपरीत दिशाबाट आइरहेको ‘प्र–१ ०२–००१ ख ९४१०’ नम्बरको ट्रक एक आपसमा ठोक्किएका थिए। दुर्घटनामा स्कार्पियो र ट्रकका चालकसहित सात जना घाइते भएका छन्।
घाइतेमध्ये सामान्य अवस्थाका व्यक्तिहरूको चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेहरूलाई बाराको परवानीपुरमा रहेको एलएस न्यूरो अस्पतालमा भर्ना गरिएको छ।
हाइवे ट्रमा अस्पतालमा उपचाररत घाइतेहरूमा स्कार्पियो चालक पोखरा–११, कास्कीका ४९ वर्षीय विष्णुप्रसाद पौडेल, सोही ठाउँका ५६ वर्षीया मीरा अधिकारी, पार्वती गुरुङ र ट्रक चालक बाराको सिमरा जितपुर – २ का ३२ वर्षीय शिव आले मगर छन्।
यसैगरी स्कार्पियोमा सवार पोखरा–११ की ५४ वर्षीया सोनु माया पाइजाको अवस्था गम्भीर छ। त्यस्तै, ३४ वर्षीया भगवती गुरुङको टाउको फुटेको छ भने ५७ वर्षीया वृद्धिमाया पुनको टाउकोमा सामान्य चोट लागेको छ। यी तीनै जनाको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
स्कार्पियोमा सवार पोखरा–११ का ६५ वर्षीय दामोदर अधिकारी र ट्रकका सहचालक धादिङको नीलकण्ठ–२ का २९ वर्षीय राजन थापा भने सकुशल छन्। दुर्घटनापछि राजमार्ग अवरुद्ध भएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय र चन्द्रनिगाहपुर इलाका प्रहरीको टोलीले बाटो खुलाएको छ।
स्कार्पियो र ट्रकलाई ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको प्रहरी प्रमुख लोकेन्द्र अधिकारीले बताए।
