भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद कुशवाहा पदबाट निलम्बित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ कार्तिक १, शुक्रबार (४ महिना अघि)
  • ४ पटक पढिएको
भ्रष्टाचार मुद्दा दायर भएपछि जसपाका सांसद कुशवाहा पदबाट निलम्बित

जनकपुरधाम, ३१ असोज। जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश सभा सदस्य सरोज सिंह कुशवहा पुनः निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि आरोप पत्र दायर गरेपछि मधेस प्रदेश सभाले निलम्बन गरेको सूचना सार्वजनिक गरेको हो ।

यसअघि जेठ २९ गते पनि उनलाई अख्तियारले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाउँदा प्रदेश सभाले अख्तियारको पत्र अनुसार निलम्बन गरेको थियो। तर, गएको भदौ १३ गते मधेस प्रदेशसभा सचिवालयले एक सूचना जारी गर्दै सिंहको निलम्बन फुकुवा गरेका थिए ।

आयोगको असार १३ गतेको निर्णयअनुसार प्रदेशसभा सदस्य सिंह धरौटीमा रिहा भएको देखिएको, हाल हिरासत वा थुनामा नरहेको र उनीविरुद्ध भ्रष्टाचार सम्बन्धी आरोप पत्रसमेत अदालतमा दायर नभएकाले उनको निलम्बन फुकुवा गरिएको सूचनामा उल्लेख गरिएको थियो ।

सिंह महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४(२) बाट निर्वाचित भएका थिए । विभिन्न उपभोक्ता समिति गठन गरी उपभोक्ता समितिको रकम निजी सचिव विनोदलाल कायस्थको खातामा जम्मा गरी घुसबापतको उक्त रकम सिंहले आफ्नो खातामा जम्मा गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । सोही अभियोग अख्तियारले उनीमाथि आरोप पत्र दायर गरिएको छ ।

सिंहको निलम्बनले मधेस प्रदेशको नव नियुक्त मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)लाई विश्वासको मतमा केही कठिनाइ हुने आकलन गरिएको छ । ५६ सांसदको सर्मथनमा मुख्यमन्त्री नियुक्त भएका सोनलाई जनमतबाट अल्गिएर जनस्वराज रोजेका दुई र सिंह निलम्बन भएपछि तीन सांसदको मत नपाउने देखिन्छ ।

मधेस प्रदेश सभा १ सय ७ सदस्यीय छन् । जसमध्ये तीन जना सांसद निलम्बन भइसकेका छन् । यसअघि नेकपा एमालेका प्रदेश सभा सदस्य दीपेन्द्र ठाकुर र अभिराम शर्मा पनि निलम्बन भइसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस