महिन्द्रा XUV400 EV मा प्राविधिक समस्या : ग्राहकले ५२ लाख खर्चेर पनि पाएको छैन समाधान

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ १५, बिहिबार (३ हप्ता अघि)
  • ३ पटक पढिएको
महिन्द्रा XUV400 EV मा प्राविधिक समस्या : ग्राहकले ५२ लाख खर्चेर पनि पाएको छैन समाधान

रौतहट, १५ माघ। पछिल्लो समय नेपालमा विद्युतीय सवारी (EV) को प्रयोग तीव्र रूपमा बढ्दै गइरहँदा केही ठूला ब्रान्डका गाडीमा प्राविधिक समस्या र कमजोर बिक्रीपछिको सेवाले उपभोक्तालाई मर्कामा पारेको छ।

५२ लाख रुपैयाँ खर्चेर खरिद गरिएको महिन्द्रा XUV400 विद्युतीय गाडीमा एक वर्ष नपुग्दै दर्जनौँ गम्भीर प्राविधिक समस्या देखिएपछि रौतहट जिल्लाको गरुडा–६ स्थित माँ सरस्वती जनरल सप्लायर्सका सञ्चालक धर्मनाथ प्रसाद जयसवाल न्यायको खोजीमा लागेका छन् ।

कम्पनीले बिक्रीका क्रममा एक पटकको फुल चार्जमा ४०० किलोमिटर रेन्ज दिने दाबी गरे पनि वास्तविक प्रयोगमा गाडीले २४० देखि २५० किलोमिटर मात्र दूरी तय गर्ने गरेको जयसवालको आरोप छ । उनका अनुसार गाडी खरिद गरेको एक वर्ष नपुग्दै रेन्ज समस्यासहित विभिन्न दर्जनौँ गम्भीर प्राविधिक खराबी देखिन थालेका हुन् । गाडीमा समस्या आएपछि विगत एक महिनादेखि वीरगञ्जस्थित महिन्द्राको आधिकारिक शोरूममा गाडी थन्किएको छ । तर, नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड नेपालले हालसम्म कुनै स्थायी समाधान नदिएको जयसवालको गुनासो छ ।

महिन्द्राकै डायग्नोस्टिक सिस्टम (MIDA) अनुसार गाडीको ब्याट्री म्यानेजमेन्ट सिस्टम (BMS), भेइकल कन्ट्रोल युनिट (VCU), मोटर कन्ट्रोल युनिट (MCU) र इन्टेलिजेन्ट पावर डिस्ट्रीब्युसन युनिट (IPDU) जस्ता मुख्य प्रणालीहरूमा “NO RESPONSE / DTC FOUND” देखिएको बताइएको छ ।

नेपालको उपभोक्ता संरक्षण ऐन अनुसार वस्तुमा त्रुटि देखिएमा वा दाबी गरिएको गुणस्तर नपाइएमा विक्रेताले क्षतिपूर्ति दिनुपर्ने वा वस्तु साटफेर गरिदिनुपर्ने व्यवस्था छ । यही आधारमा पीडित जयसवालले वारेन्टी तथा उपभोक्ता अधिकारको गम्भीर उल्लङ्घन भएको दाबी गर्दै अग्नि इन्कर्पोरेटेडसँग गाडी पूर्ण रूपमा परिवर्तन गर्नुपर्ने वा उचित क्षतिपूर्तिसहित रकम फिर्ता गर्नुपर्ने कानुनी माग अघि सारेका छन् ।

“लाखौँ रुपैयाँ लगानी गरेर किनेको गाडी एक महिनादेखि ग्यारेजमा थन्किएको छ । न त गाडी बनाइदिन्छन्, न त चित्तबुझ्दो जवाफ दिन्छन्,” जयसवालले गुनासो पोख्दै यसले आफूलाई मानसिक र आर्थिक तनाव दिएको बताए ।

एक महिनासम्म कुनै ठोस निर्णय नआएपछि आफू उपभोक्ता संरक्षण विभाग, कानुनी प्रक्रिया तथा मिडियामार्फत न्याय खोज्न बाध्य भएको उनको भनाइ छ ।

यस विषयमा नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड नेपालले हालसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन । ५२ लाख रुपैयाँ जस्तो ठुलो रकम खर्चेर खरिद गरिएको गाडीमा गम्भीर समस्या देखिँदा पनि कम्पनीको सुस्तताले अन्य विद्युतीय गाडी प्रयोगकर्तामा समेत त्रास उत्पन्न गरेको छ ।

ग्राहकको समस्याप्रति बेवास्ता गरिए विद्युतीय सवारीप्रतिको जनविश्वास कमजोर हुने सरोकारवालाहरूको चिन्ता छ । बजारमा ‘प्रिमियम’ भन्दै बिक्री गरिएको XUV400 EV मा देखिएको यो समस्याले नयाँ विद्युतीय गाडी किन्न सोचिरहेका उपभोक्ताहरूलाई समेत झस्काएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस