
वीरगञ्ज, २० माघ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वाटर पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ स्थित गण्डक चोक क्षेत्रमा चेकप्वाइन्ट राखी चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरिएको करिब ५ लाख रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ।
यसैगरी, वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित इनर्वा क्षेत्रसहितका विभिन्न सीमा इलाकामा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर वीरगञ्जबाट खटिएको टोलीले थप अवैध सामानहरू बरामद गरेको छ। चेकजाँचका क्रममा भारतबाट विभिन्न सवारी साधनहरूमा लुकाइछिपाई ल्याउँदै गरिएको ६ लाख रुपैयाँ बराबरको कपडा, मोबाइल पार्ट्स, पैसा गन्ने मेसिन, ग्यास पार्ट्स, मोटर पार्ट्स लगायतका सामग्री बरामद गरिएको हो।
त्यस्तै, अवैध रूपमा प्रयोग हुँदै आएको ४ लाख रुपैयाँ मूल्य बराबरको एउटा अटो रिक्सा समेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रण गर्न निगरानी र गस्तीलाई थप कडा बनाउँदै लगेको जनाएको छ।

