
सुर्खेत, २० माघ। दैलेखको भगवतीमाई गाउँपालिका–४ बेस्तडास्थित कट्टी खोलामा बीभत्स अवस्थामा मृत फेला परेका २२ वर्षीय गोविन्द विकको योजनाबद्ध रूपमा हत्या भएको खुलेको छ । प्रहरीका अनुसार १७ वर्षीय एक किशोरको मुख्य योजनामा ७ जना मिलेर गोविन्दको हत्या गरिएको हो ।
प्रहरीले अनुसन्धान प्रतिवेदनसहित सरकारी वकिल कार्यालयमा बुझाएको मिसिल अनुसार, हत्यामा संलग्नहरू विरुद्ध जन्मकैदको सजाय मागदाबी गरिएको छ । प्रहरीका अनुसार गत भदौ २३ गते बिहान ६ः५० बजे कट्टी खोलाको बिचमा गोविन्दको शव फेला परेको थियो ।
‘नाङ्गो र घोप्टो पारेर बीभत्स अवस्थामा शव भेटिएको थियो,’ जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख गणेशबहादुर बरालले भने, ‘शवको टाउको, हात र खुट्टामा गम्भीर चोट र नीलडामहरू थिए ।’ सुरुमा ज्यान सम्बन्धी कसुरमा अनुसन्धान सुरु भए पनि पुस २९ गते मृतकका परिवारले किटानी जाहेरी दिएपछि घटनाको रहस्य खुलेको उनले बताए ।
उनका अनुसार, हत्याका मुख्य योजनाकार किशोरकी २५ वर्षीया दिदीसँग मृतक गोविन्दको प्रेम सम्बन्ध रहेको र उनीहरू सँगै बस्ने–सुत्ने गरेको थाहा पाएपछि भाइले हत्याको योजना बुनेका थिए ।
हत्याको योजना भदौ २० गते नै बनेको रहेछ । मुख्य योजनाकारले बेस्तडा जाने सार्वजनिक बाटोमा आफ्ना साथीहरूलाई ‘दिदीसँग सुत्ने गोविन्दलाई ठीक पार्नु पर्छ, मलाई सहयोग गर’ भन्दै प्रलोभन देखाएर भेला पारेका थिए ।
बरालले भने, ‘दुई दिनसम्म साथीहरूलाई बेस्तडास्थित दिदीको घरमा कसैले थाहा नपाउने गरी गोप्य रूपमा राखेको देखियो ।’
भदौ २२ गते राति करिब १० बजे मुख्य योजनाकारले गोविन्दलाई दिदीको कोठामा फेला पारे । उनले समातेर भुइँतलामा झारे, जहाँ साथीहरूलाई राखेका थिए ।
‘त्यहाँ उनले सुरुमा ढुङ्गाले गोविन्दको छातीमा प्रहार गरे,’ प्रहरी प्रमुख बरालले भने, ‘गोविन्दले गुहार माग्न खोज्दा घाँटी थिचेर फलामको रड र ढुङ्गाले टाउको तथा पेटमा प्रहार गरिएछ ।’
अन्य आरोपीहरू सागर विक, परिवर्तित नाम दैलेख ९, दैलेख १० र दैलेख ८ ले पनि दाउरा र मुक्काले प्रहार गरी गोविन्दको घटनास्थलमै हत्या गरेको खुलेको बराल बताउँछन् ।
हत्यापछि घटनालाई दुर्घटनाको रूप दिन आरोपीहरूले निकै चलाखी अपनाए । उनीहरूले गोविन्दको शरीरका सम्पूर्ण कपडा खोलेर नाङ्गो बनाए । ‘शवलाई कम्बलमा बेरेर बोरामा हाली कट्टी खोलामा बगाइएको थियो भने उनको मोबाइल पनि खोला किनारमै फालिएको थियो,’ बराल भन्छन् ।
घटना लुकाउनका लागि हत्या गरिएको कोठा लिपपोत गरी रगतका दागहरू मेटाइएको थियो । भोलिपल्टै उक्त कोठामा नयाँ डेरावाल समेत सारिएको पनि उनले बताए ।
घटनापछि मुख्य योजनाकार र उनकी दिदी लुकिछिपी भारततर्फ फरार भएका थिए । प्रहरीले हत्यामा संलग्न मुख्य योजनाकारसहित १९ वर्षीय सागर विक, २५ वर्षीया र अन्य ५ जना नाबालकहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको छ ।
घटनाको समयमा आरोपीहरूले लागुऔषध र मदिरा समेत सेवन गरेको र हत्यापछि सफल भएको भन्दै रक्सी पार्टीसमेत गरेको अनुसन्धानबाट खुलेको पनि प्रहरी प्रमुख बराल बताउँछन् ।
सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालत दैलेखमा जन्मकैदको मागदाबीसहित मुद्दा दायर गरेको छ ।

