सडक निर्माण लापरवाहीले गौर–चपुरसडकखण्डमा सवारी दुर्घटना

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ माघ २०, मंगलबार (३ हप्ता अघि)
  • २ पटक पढिएको
सडक निर्माण लापरवाहीले गौर–चपुरसडकखण्डमा सवारी दुर्घटना

रौतहट, २० माघ। जिल्लाको चपुर सडकखण्डअन्तर्गत सुखदेव चोकभन्दा केही पछाडि मंगलबार बिहानै कार दुर्घटना भएको छ । सडक निर्माणमा संलग्न निर्माण कम्पनीको चरम लापरवाहीका कारण दुर्घटना भएको भन्दै स्थानीयले कडा विरोध जनाएका छन् ।

मंगलवार बिहानै बागमती प्रदेश ०१-०३१ च १७१२ नम्बरको पन्च ई.भी. कार निर्माणाधीन सडकको असुरक्षित अवस्थाका कारण दुर्घटनामा परेको हो । दुर्घटनामा मानवीय क्षति नभए पनि सवारी साधनमा भने पूर्ण रूपमा क्षति पुगेको हो । प्रत्यक्षदर्शीका अनुसार सडकमा रहेका खाल्डाखुल्डी र अव्यवस्थित निर्माण सामग्रीका कारण चालकले नियन्त्रण गुमाउँदा घटना भएको हो ।

​स्थानीयका अनुसार उक्त सडकखण्डमा लामो समयदेखि निर्माण कार्य भइरहे पनि सुरक्षाका कुनै पनि न्यूनतम मापदण्ड अपनाइएको छैन । निर्माणाधीन क्षेत्रमा यात्रु र चालकलाई सचेत गराउने चेतावनी संकेत  रिफ्लेक्टर, वा डायभर्सन बोर्ड नराखिनु नै दुर्घटनाको मुख्य कारण रहेको उनीहरूको दाबी छ ।

सडक बनाउन खाडल खनिएको छ तर कतै पनि संकेत राखिएको छैन । रातको समयमा वा बिहानको कुहिरोमा बाटो नदेखिँदा सवारी चालकहरू मृत्युको पासोमा परिरहेका छन् एक स्थानीयले आक्रोश पोखे ।

​स्थानीयको माग र प्रशासनको ध्यानाकर्षण
सडक निर्माणमा भइरहेको ढिलासुस्ती र लापरवाहीले सर्वसाधारणको ज्यान जोखिममा पर्नु गम्भीर चिन्ताको विषय बनेको छ । स्थानीय आक्रोशित समूहले यस्ता ज्यानमारा सडक खण्डहरूको तत्काल मर्मत गर्न र सुरक्षा व्यवस्था दुरुस्त बनाउन माग गरेका छन् ।

साथै निर्माण कार्यमा लापरवाही गर्ने ठेकेदार तथा निर्माण कम्पनीलाई तत्काल कानुनी दायरामा ल्याई कारबाही गर्न उनीहरूले जोडदार माग गरेका छन् ।

प्रहरीले घटनाको मुचुल्का तयार गरी अनुसन्धान सुरु गरेको जनाएको छ तर सडक निर्माणका नाममा सर्वसाधारणको ज्यानसँग खेलबाड गर्ने प्रवृत्ति नरोकिँदासम्म यस्ता दुर्घटना न्यूनीकरण हुने देखिँदैन । सम्बन्धित निकायले समयमै चासो नदिए थप ठूलो मानवीय क्षति हुन सक्ने खतराप्रति स्थानीयले सचेत गराएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस