कलैयामा ट्राफिक सचेतनाका लागि ‘टिकटक प्रतियोगिता’, विजेतालाई ५ हजार पुरस्कार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १०, बिहिबार (३ घण्टा अघि)
  • ७५ पटक पढिएको
कलैयामा ट्राफिक सचेतनाका लागि ‘टिकटक प्रतियोगिता’, विजेतालाई ५ हजार पुरस्कार

वीरगञ्ज, १० वैशाख। बारा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य (सांसद) ई. अरविन्द साहले ट्राफिक जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक भिडियो प्रतियोगिताको घोषणा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको जानकारीअनुसार “#wowkalaiya ट्राफिक सचेतन सम्बन्धी टिकटक भिडियो प्रतियोगिता” शीर्षकमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

प्रतियोगिता वैशाख १२ गतेदेखि २२ गतेसम्म गरी ११ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन इच्छुकले ट्राफिक सचेतनासम्बन्धी भिडियो तयार गरी टिकटकमा पोस्ट गर्नुपर्नेछ । भिडियो भोजपुरी वा नेपाली भाषामध्ये कुनै एक भाषामा हुनुपर्ने जनाइएको छ ।

प्रतियोगितामा सहभागी भिडियोमा अनिवार्य रूपमा @arvindsah504 लाई ट्याग गर्नुपर्नेछ भने #wowkalaiya र #baratraffic ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । साथै, भिडियोमा “WowKalaiya” को आवाज समावेश गरिएको हुनुपर्ने सर्त राखिएको छ ।

प्रतियोगितामा सबैभन्दा धेरै भ्यु प्राप्त गर्ने एक जना प्रतियोगीलाई विजेता घोषणा गरिनेछ । विजेतालाई पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने सांसद साहले जानकारी दिएका छन् । विजेताको घोषणा वैशाख २३ गते गरिने साहले बताए ।

सांसद साहले ट्राफिक नियमको पालना, दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै आम नागरिकलाई व्यापक सहभागिताका लागि आग्रह गरेका छन् । साथै, उनले उक्त सूचना सामाजिक सञ्जालमार्फत व्यापक रूपमा सेयर गरी जनचेतना अभियानलाई सफल बनाउन अनुरोध समेत गरेका छन् ।

कलैयाको ट्राफिक व्यवस्थापन तथा सौन्दर्यीकरणका लागि सांसद साहले चलाएको कदमको सबैले प्रशंसा गरिरहेका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस