
काठमाडौं, १० वैशाख। आयोजक नेपाल ‘ए’ टोली एक दिवसीय शृङ्खलाको पहिलो खेलमा ओमानसँग पराजित भएको छ । काठमाडौँस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा बुधवार भएको खेलमा ओमानले नेपाल ‘ए’ लाई ७० रनले पराजित गरेको हो ।
ओमानले दिएको २८१ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए ४४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २१० रनमा समेटियो । नेपालका लागि इशान पाण्डेले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ खेले । उनले ६२ बलको सामना गर्दै ३ चौकाको सहयोगमा ५२ रनको योगदान गरे ।
कप्तान अनिलकुमार साहले ६४ बलमा ६ चौकाको सहयोगमा ५० रन, तृतराज दासले ३१, देव खनालले ४३ रन बनाउँदा सन्दीप जोरा २२ रनमा आउट भए ।
बलिङतर्फ ओमानका शकिल अहमदले ३ विकेट लिए भने नदिम खान र मुजिबर अलिले समान २/२ विकेट हात पारे । त्यस्तै होनैन अलिले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २८० रनको योगफल बनाएको थियो । ओमानका लागि मुजिबुर अलिले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ खेले । उनले ८५ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ७२ रन बनाए ।
कप्तान जितेन्दर सिंह ४८ बलमा ५८ रन बनाए । हषिर डपादारले ४६, आशिष ओडाराले २७ तथा विनायक शुक्ला २५ रन बनाए । जितेन रामानन्दी १७ रनमा अविजित रहे ।
यता नेपाल ‘ए” का लागि आकाश चन्दले ४ विकेट लिँदा सन्तोष यादवले २ तथा शाहव आलम, शेर मल्ल र रशिद खानले समान १/१ विकेट लिए । नेपाल ‘ए र ओमानबिच अर्को खेल ११ वैशाखमा हुनेछ ।
१२ वैशाखदेखि सुरुआत हुने आइसिसी विश्वकप लिग दुई अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न ओमान नेपाल आएको हो । उक्त प्रतियोगिताको तयारी स्वरूप ओमानले नेपाल ‘ए टोलीसँग खेलेको हो । विश्वकप लिग दुईको त्रिकोणात्मक सिरिजमा नेपालसहित संयुक्त अरब इमिरेट्स (युएई) र ओमान सहभागी छन् ।
