पूर्वाधार कार्यालय कलैयाका प्रमुख सम्पर्कविहीन, अर्बौँका योजना अलपत्र

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १८, शुक्रबार (१ घण्टा अघि)
  • ७४ पटक पढिएको
पूर्वाधार कार्यालय कलैयाका प्रमुख सम्पर्कविहीन, अर्बौँका योजना अलपत्र

काठमाडौं, १८ वैशाख। पूर्वाधार विकास कार्यालय कलैया का प्रमुख राजेन्द्र साह सरुवाको पत्र नबुझी रमाना नलिई लामो समयदेखि सम्पर्कविहीन बनेपछि कार्यालयका सम्पूर्ण कामकाज प्रभावित भएका छन्।

उनी संघीय भौतिक पूर्वाधार तथा विकास मन्त्रालय मा चार महिनाअघि सरुवा भए पनि हालसम्म कार्यालय, मन्त्रालय वा स्थानीय प्रशासनलाई कुनै जानकारी नदिई सम्पर्कविहीन भएका हुन्। साहले प्रयोग गर्ने सरकारी मोबाइल नम्बरसमेत बन्द रहेको र उनी कहाँ छन् भन्नेबारे कर्मचारीहरू अनभिज्ञ रहेका छन्।

प्रमुखको अनुपस्थितिका कारण कार्यालयको आर्थिक तथा प्रशासनिक कार्य पूर्ण रूपमा ठप्प भएको छ। यसले बारामा चालु आर्थिक वर्षका करिब १ अर्ब ३८ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरका ३७८ वटा विकास योजनाहरू प्रभावित भई अलपत्र परेको अवस्था सिर्जना भएको छ।

वैशाखको दोस्रो साता बितिसक्दा समेत उपभोक्ता समिति गठन हुन नसकेको र टेन्डर प्रक्रिया अघि नबढेकाले चालु आर्थिक वर्षको विकास बजेट फ्रिज हुने सम्भावना बढेको छ। कार्यालयअन्तर्गत १० लाखदेखि ५० लाख रुपैयाँसम्मका विभिन्न रणनीतिक योजनाहरू भए पनि प्रमुख नहुँदा भुक्तानी तथा कार्यान्वयन प्रक्रिया रोकिएको छ।

यसअघि १४ करोड रुपैयाँ हिनामिनाको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग को कारबाहीमा परेका साह विशेष अदालतबाट सफाइ पाएपछि पुनः सोही कार्यालयमा फर्किएका थिए। निलम्बनकै अवधिमा उपभोक्ता समितिको खाता सञ्चालन गरी आर्थिक कारोबार गरेको विवादमा समेत उनी तानिएका थिए।

यता मधेश प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय का निमित्त सचिव सञ्जय साहले भने भोलिसम्म नयाँ कार्यालय प्रमुख पठाइने र बाँकी दुई महिनामा साना योजनाहरू सम्पन्न गर्न सकिने दाबी गरेका छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस