
काठमाडौं, १८ वैशाख। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।
निगम सञ्चालक समितिको बैठकले बिहीबार मध्य रातिदेखि लागू हुने गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।
नयाँ मूल्यअनुसार एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर १५० रुपैयाँले बढाइएको छ भने पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १२ रुपैयाँले घटाइएको छ ।
यसैगरी, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढाइएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ४६ अमेरिकी डलरले बढाइएको छ ।
