मानमत–कलैया–मटिअर्वा सडक ठेक्का रद्द, निर्माण कम्पनीमाथि कारबाही

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ११, शुक्रबार (२ घण्टा अघि)
  • ६८ पटक पढिएको
मानमत–कलैया–मटिअर्वा सडक ठेक्का रद्द, निर्माण कम्पनीमाथि कारबाही

वीरगञ्ज, ११ वैशाख। बाराको मानमत–कलैया–मटिअर्वा सडकखण्ड निर्माणमा चरम लापरबाही भएको भन्दै हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गतको योजना कार्यालय वीरगञ्जले निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ ।

कार्यालयले जारी गरेको सूचनाअनुसार निर्माण व्यवसायी सप्तकोशी जलाधार–ओम साई एन्ड कम्पनी जेभी काठमाडौँलाई पटक–पटक म्याद थप गरिए पनि निर्धारित समयभित्र काम सम्पन्न गर्न कुनै चासो नदेखाएपछि ठेक्का तोड्ने निर्णय गरिएको हो ।

निर्देशनालयका अनुसार लामो समयदेखि सडक अधुरो अवस्थामा छाडिँदा सडक धुलाम्य र हिलाम्य बनेको थियो । यसका कारण सवारी दुर्घटनाको जोखिम बढ्नुका साथै स्थानीयवासीको जनजीवन कष्टकर बन्दै गएको थियो ।

योजना कार्यालयले निर्माण कम्पनीलाई लिखित तथा मौखिक रूपमा बारम्बार काम सम्पन्न गर्न निर्देशन दिएको र कम्पनीले स्वयं प्रतिबद्धता जनाए पनि कार्य प्रगति सन्तोषजनक नभएपछि गत २०८२ असोज ३१ गते १५ दिने अन्तिम स्पष्टीकरण सूचना प्रकाशित गरिएको थियो । तर, त्यसपछि पनि अपेक्षित सुधार नआएपछि सार्वजनिक खरिद ऐन, २०६३ अनुसार ठेक्का सम्झौता अन्त्य गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयले अब कम्पनीको कार्यसम्पादन जमानत रकम जफत गर्ने, बाँकी काम सम्पन्न गर्न लाग्ने अतिरिक्त खर्च सरकारी बाँकीसरह असुलउपर गर्ने तथा कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्ने प्रक्रिया अघि बढाएको छ ।

यसैबिच, हालसम्म सम्पन्न कामको नाप जाँच, मूल्याङ्कन तथा वित्तीय फरफारखका लागि कम्पनीलाई सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अन्तिम अवसर दिइएको छ । तोकिएको समयभित्र उपस्थित नभए एकतर्फी रूपमा नाप जाँच प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिइएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस