
काठमाडौं, ११ वैशाख। बितेको २४ घण्टामा २ हजार ६९२ जना सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । यसबाट राज्य कोषमा सात लाख ६० हजार रुपैयाँ जम्मा भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सवारी नियम उल्लंघन गर्नेहरु कारबाहीमा परेका हुन् ।
ट्राफिक संकेत उल्लंघन गर्ने २२४ जना, तीव्र गतिमा गाडी गुडाउने १३२ जना, मादक पदार्थ सेवन गरेका ९१ जना र यान्त्रिक अवस्था ठीक नभएका गाडी चलाउने ६३ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, लेन अनुशासन पालना नगर्ने २३७ जना, सार्वजनिक गाडीका ढोका बन्द नगरी चलाउने ४७ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७८ जना, निर्धारित स्थानमा यात्री चढाउने र ओराल्ने नियम पालना नगर्ने ४० जना र अन्य सवारी नियम पालना नगरेका १ हजार ७८० जनालाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
