विशेष दिनमा पोखरा पुगे पूर्वराजा, नेताहरूसँग भेटघाट गर्दै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ११, शुक्रबार (१ घण्टा अघि)
  • ३३ पटक पढिएको
विशेष दिनमा पोखरा पुगे पूर्वराजा, नेताहरूसँग भेटघाट गर्दै

काठमाडौं, ११ वैशाख। आज २० औं लोकतन्त्र दिवस । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भई देशमा लोकतन्त्र स्थापना दिन । संयोग यस्तो परेको छ कि राजतन्त्र अन्त्य भएको ठिक दुई दशकपछि आफूले शासनसत्ता सुम्पिएकै दिन पारेर पूर्वराजा ज्ञानेन्द्र काठमाडौं बाहिर निस्किँदैछन् ।

देशमा भएको जेनजी आन्दोलनको जगमा राष्ट्रिय स्वतन्त्र पार्टीकको झण्डै दुईतिहाइको बहुमतसहित बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि ज्ञानेन्द्र पहिलो पटक भ्रमणमा निस्किएका छन् ।

राजदरबार छाडेर देशको लोकतन्त्र आएको दिन पारेरै पूर्वराजा आज पोखरामा भ्रमणमा आउन लागेका हुन् ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुन:स्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेकै दिन उनले सक्रियता बढाउन लागेको उनको भ्रमण व्यवस्थापन समितिको भनाइ छ ।

‘यसपटकको भ्रमण अर्थपूर्ण’

भ्रमण व्यवस्थापन समितिका सदस्य अर्जुन खनालले पूर्वराजाको यसपटकको भ्रमण अर्थपूर्ण रहेको बताए ।

पूर्वराजा कम्तिमा २ हप्ता पोखरा बस्ने यसपटकको भ्रमणबाट राजनीतिक हिसाबले पनि सन्देश दिने उनले बताए ।

२०८१ माघ २७ गते पोखरा भ्रमणमा आएका ज्ञानेन्द्र २ साता बसेर फर्किँदा राजावादीहरुले काठमाडौं विमानस्थलमा ठूलो शक्ति प्रदर्शन गर्दै स्वागत गरेका थिए ।

बिहान साढे १० बजे ज्ञानेन्द्र पोखरा आउने कार्यक्रम रहेको सुरक्षा स्रोतले जनाएको छ ।

केशव भण्डारीको संयोजकत्वमा पूर्वराजा ज्ञानेन्द्रको भ्रमण व्यवस्थापन समिति बनेको खनालले जानकारी दिए ।

ज्ञानेन्द्र शाह कम्तिमा २ हप्ता पोखरा बस्ने

पूर्व राजा ज्ञानेन्द्र कम्तिमा २ हप्ता पोखरा बस्ने कार्यक्रम छ । पूर्वराजाले पोखरा बसाइँका क्रममा धार्मिक मठमन्दिरको दर्शनदेखि यसपटक राजनीतिक भेटघाटसमेत गर्ने स्रोतले जनाएको छ ।

पोखरा लेकसाइडमा भर्खरै निर्माण सकिएको सोल्टी होटलमा पूर्वराजा ज्ञानेन्द्र बस्ने छन् । पोखरामा यसअघि पेनेन्सुला होटल सञ्चालन गरेका खेम ढकालले लेकसाइडमै निर्माण गरेको होटल पाँचताले होटल सोल्टी ग्रुपले व्यवस्थापन तथा सञ्चालन हेरेको छ ।

पूर्वराजा ज्ञानेन्द्र त्यही होटलमा बसेर पोखराका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्तालाईसमेत भेटघाट गरेर यसपटक राजनीतिक सन्देशसमेत दिने उनीनिकट स्रोतले जानकारी दिएको छ ।

‘नेपाली कांग्रेसभित्र ठूलो शक्ति हिन्दुराज्य र राजसंस्थाको वकालत गरिरहेको छ । पूर्वराजाले यसपटक कांग्रेसका त्यस्ता नेताहरुलाई पनि भेट्नु हुनेछ । एमालेका नेता र माओवादीकै पूर्व नेताहरुसँग पनि भेट्ने कार्यक्रम छ,’ ज्ञानेन्द्रको भ्रमण व्यवस्थापन दलका एक सदस्यले भने ।

पूर्वराजा ज्ञानेन्द्र आज सोल्टी होटलमा बस्ने र औपचारिक कार्यक्रम पनि नभएको सचिवालयले जनाएको छ । उनको पोखरा भ्रमणलाई लिएर सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस