
काठमाडौं, २६ जेठ। कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै देशभरका विभिन्न सहरहरूमा युवाहरूसहित प्रदर्शन गर्ने बताएका छन्।
दीपकेले एक भिडियो सन्देश जारी गर्दै यदि आगामी शनिबारसम्म पनि धर्मेन्द्र प्रधानले राजीनामा नदिएमा देशभरका युवाहरूलाई उतारेर दिल्लीमा विशाल विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन्।
यसअघि शनिबार सीपीजेले दिल्लीको जन्तरमन्तरमा विरोध प्रदर्शन गरेको थियो । अत्यधिक गर्मीका बाबजुद पनि सयौँको सङ्ख्यामा युवाहरू सहभागी भएका थिए।
शिक्षा, रोजगारी र पेपर लीकको मुद्दालाई लिएर अचानक अभिजीत दीपके कसरी धेरै युवाहरूको आवाज बन्न पुगे यो आफैंमा चर्चाको विषय बनेको छ ।
दीपकेले मिडियासँगको ताजा कुराकानीमा यदि धर्मेन्द्र प्रधान आफैँले राजीनामा नदिएमा प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई पदबाट हटाउनुपर्ने माग गरेका छन्।
दीपकेले जन्तरमन्तरमा भने, ‘मात्र एक-दुई दिनभित्रमा लाखौँ विद्यार्थीहरू हामीसँग जोडिनेछन्। कक्रोच जनता पार्टी कुनै योजनाबद्ध रूपमा खोलिएको पार्टी होइन। यो त सरकारसँग आक्रोशित प्रत्येक विद्यार्थीको आवाज हो ।’
उनले अगाडि थपे, ‘विगत १०-१२ वर्षदेखि यी मानिसहरूले हामीलाई हिन्दू-मुस्लिमको राजनीतिमा फसाएर राखे, यसबाट कसलाई फाइदा भयो? के हिन्दू-मुस्लिम राजनीति गरेर देशमा कसैले रोजगारी पायो ?’
अभिजित दीपके को हुन् ?
पार्टी गठन गरेपछि अभिजीत दीपके भारतको राजनीतिक वृत्तमा पनि चर्चाको विषय बनेका छन् । यद्यपि उनले आफैँले आधिकारिक रूपमा भने कुनै राजनीतिक दल दर्ता गरेका होइनन्।
अभिजीत दीपके मिम र सोसल मिडियामा व्यङ्ग्यात्मक शैलीमा सुरु गरिएको एउटा अभियान पछि चर्चामा आएका हुन्।
३० वर्षका अभिजीत दीपके मूल रूपमा महाराष्ट्रको छत्रपति सम्भाजी नगरका बासिन्दा हुन्। उनी विगत दुई वर्षदेखि अमेरिकामा बस्दै आएका छन्।
बीबीसी मराठीसँगको कुराकानीमा दीपकेले आफूले पुणेबाट स्नातक गरेको बताएका थिए।
अभिजीत दीपके करिब तीन वर्षसम्म आम आदमी पार्टी (आप) सँग पनि आबद्ध रहेका थिए। त्यहाँ उनले पार्टीको कम्युनिकेसन टोलीमा काम गरे।
उनले भनेका छन्, ‘मैले केही समयका लागि उनीहरूसँग काम गरेँ, त्यसपछि मलाई आफूले अझै पढ्नुपर्छ भन्ने लाग्यो र म घरमै बसेर मास्टर्सको तयारी गर्न थालेँ। पछि मलाई बोस्टन युनिभर्सिटीबाट बोलाइयो ।’
अभिजीत दीपकेले बोस्टन युनिभर्सिटीबाट पब्लिक रिलेसन्समा स्नातकोत्तर तहको पढाइ पूरा गरेका छन्।
अंग्रेजी अखबार ‘द हिन्दू’ का अनुसार अभिजीतले सन् २०२० देखि २०२३ सम्म ‘आप’ को सोसल मिडिया टोलीमा काम गरेका थिए।
आम आदमी पार्टीका एक स्रोतले बीबीसीलाई दिएको जानकारी अनुसार अभिजीत दीपके पार्टीको मुम्बई टोलीमा थिए र सन् २०२३ मा उनी छत्रपति सम्भाजी नगर फर्किएका थिए।
दीपकेले बीबीसी मराठीलाई भनेका थिए, ‘म उनीहरू (आप) को स्वास्थ्य र शिक्षा क्षेत्रमा गर्ने कामबाट आकर्षित भएको थिएँ। यो भारतीय राजनीतिमा पहिलो पटक भइरहेको केही नयाँ कुरा थियो, जस्तै आज कक्रोच जनता पार्टी नयाँ छ। मैले केही समय उनीहरूसँग काम गरेँ, त्यसपछि मलाई थप पढ्नुपर्छ भन्ने लाग्यो र म घरमै बसेर मास्टर्सको तयारी गर्न थालेँ ।’
सीजेपी बनाउनुअघि के गरिरहेका थिए ?
पार्टी गठन गर्नुअघि पनि दीपके सोसल मिडियामा निकै सक्रिय रहँदै आएका छन्। उनको राजनीतिक दृष्टिकोण र विचारहरूलाई बुझ्नका लागि सोसल मिडिया प्लेटफर्म ‘एक्स’ मा उनले गरेका पुराना पोस्टहरूलाई हेर्न सकिन्छ।
उनले ‘एक्स’ मा गरेका थुप्रै पोस्टहरूमा आम आदमी पार्टी (आप) का संयोजक अरविन्द केजरीवालसँग जोडिएका विषयहरू सेयर गरेका छन्। सोसल मिडियामा अभिजीत दीपके स्पष्ट रूपमा अरविन्द केजरीवालको पक्षमा उभिएको देखिन्छ। उनी अक्सर भारतका आम नागरिकसँग जोडिएका मुद्दाहरूमा आफ्नो विचार राख्ने गर्छन्।
नेसनल एलिजिबिलिटी कम इन्ट्रान्स टेस्ट नीटको प्रश्नपत्र लिक् र त्यसपछि उत्पन्न परिस्थितिका कारण विद्यार्थीहरूले ज्यान गुमाएको विषयमा उनले थुप्रै पोस्टहरू सेयर गरेका छन्।
यसबाहेक, पेट्रोल र डिजेलको मूल्यवृद्धिप्रति उनले गरेका टिप्पणीहरू पनि सोसल मिडियामा देख्न सकिन्छ। उनले भारत-अमेरिका ट्रेड डिलको मुद्दामा समेत प्रश्न उठाएका छन् । भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेस कुमारप्रति पनि टिप्पणी गरेका छन्।
हालैका दिनहरूमा गरिएका थुप्रै सोसल मिडिया पोस्टहरूमा अभिजीत दीपकेले मोदी सरकार र भारतीय जनता पार्टी (भाजपा) माथि निशाना साधिरहेको देखिन्छ । चाहे त्यो भारत-अमेरिका व्यापार सम्झौताको विषय होस् वा पश्चिम बंगाल चुनावका क्रममा भाजपा नेताहरूले खाना खाँदै गरेको तस्बिरको प्रसंग नै किन नहोस्।
अभिजीत दीपकेले आफ्नो एउटा पोस्टमा क्षेत्रीय दलहरूले भाजपालाई सन् २०२४ को लोकसभा चुनावमा स्पष्ट बहुमत हासिल गर्न नदिएको र अब त्यस्ता दलहरूलाई एक-एक गरी समाप्त पारिनेछ भन्नेसम्मको आरोप समेत लगाएका छन्।
कसरी सुरु भयो सीजेपीको यात्रा ?
दीपकेको सीजेपीको यात्रा निकै व्यङ्ग्यात्मक र रमाइलो शैलीमा सुरु भएको हो।
सीजेपीको जग भारतका प्रधानन्यायाधीश सूर्यकान्तको एउटा टिप्पणीका कारण बसेको हो। उनको उक्त टिप्पणीलाई लिएर आम रूपमा के बुझियो भने, उनले देशका बेरोजगार युवाहरूलाई ‘ककरोच’ (साङ्लो) र परजीवी भनेका छन्।
यो कुरालाई लिएर धेरै मानिसहरूले तीव्र आक्रोश र असन्तुष्टि व्यक्त गरे।
यद्यपि, पछि न्यायाधीश सूर्यकान्तले आफूले यो पेसामा आउनका लागि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गर्नेहरूका बारेमा मात्र त्यस्तो कुरा गरेको स्पष्ट पारेका थिए । आफ्नो टिप्पणीमाथि स्पष्टीकरण जारी गर्दै उनले सञ्चार माध्यमको एउटा तप्काले आफ्नो कुरालाई गलत ढंगले प्रस्तुत गरेको दाबी समेत गरे।
तर, न्यायाधीश सूर्यकान्तको सोही बयानपछि सोसल मिडियामा एउटा व्यङ्ग्यात्मक अभियानको व्यापक चर्चा सुरु भयो। र, यही चर्चाको केन्द्रमा रह्यो अभिजीत दीपकेको कक्रोच जनता पार्टी’ (सीजेपी)।
अहिले इन्टरनेटमा यसै नामबाट वेबसाइट समेत बनिसकेको छ । इन्स्टाग्राममा यसका २ करोड २० लाखभन्दा बढी फलोअर्स भइसकेका छन् । यसका साथै, दुई लाखभन्दा बढी मानिसहरूले वेबसाइटमा गएर यसको सदस्यताका लागिसमेत आफ्नो नाम दर्त गराइसकेको बताइएको छ।
भारतका ‘जेनजी’
विश्वमै सबैभन्दा बढी युवा जनसङ्ख्या भएका देशहरूमध्ये भारत पनि एक हो । जहाँ करिब १ अर्ब ४० करोड कुल जनसङ्ख्याको आधा हिस्सा ३० वर्षभन्दा कम उमेरका युवाहरूको छ। यति हुँदाहुँदै पनि औपचारिक राजनीतिमा युवाहरूको सहभागिता भने निकै सीमित देखिन्छ।
यस विषयमा दीपकेको बुझाइ छ, ‘मानिसहरू निराश छन्, किनभने उनीहरूलाई आफ्नो कुरा कतै सुनुवाइ भइरहेको छैन वा राजनीतिमा आफ्नो सही प्रतिनिधित्व हुन सकेको छैन भन्ने लाग्छ।’
हालैका वर्षहरूमा दक्षिण एसियाका श्रीलंका, नेपाल र बंगलादेशसहित धेरै देशहरूमा युवाहरूको नेतृत्वमा बृहत् विरोध प्रदर्शनहरू भएका छन्। यी प्रदर्शनहरूका पछाडि मुख्य रूपमा बेरोजगारी, महँगी र भविष्यप्रतिको चिन्ता नै मूल कारण थिए।
नेपालमा त ‘जेनजी’ आन्दोलन चर्किएपछि सरकारले नै राजीनामा दिनु परेको थियो।
श्रीलंका र नेपालका जेनजीसँग भारतका युवाहरूको तुलना गर्दै अभिजीतले भने, ‘भारतका युवाहरूलाई श्रीलंका, नेपाल र बंगलादेशका युवाहरूसँग तुलना गर्नु उनीहरूका लागि एउटा ‘ठूलो अपमान’ हुनेछ, किनभने भारतीय युवाहरूले कुनै पनि प्रकारको हिंसा भड्काइरहेका छैनन् ।’
उनी थप्छन्, ‘युवा पुस्ता वर्तमान राजनीतिक व्यवस्थाबाट दिक्क भइसकेको छ। आगामी केही वर्षहरूमा तपाईँले युवाहरूले परिवर्तनको माग गरेको देख्नुहुनेछ, किनभने विगत १०-१२ वर्षमा यहाँका युवाहरूले ‘हिन्दू-मुस्लिम’ को उपदेशबाहेक अरू केही सुनेका छैनन्।’
उनको विश्वास छ, ‘युवाहरू यो राजनीतिक व्यवस्थालाई बदल्न चाहन्छन्, जहाँ हामी प्राविधिक रूपमा सक्षम हौँ र सबैले रोजगारी पाऊन्। अब अगाडि बढ्दै गर्दा हामीले विश्वका उत्कृष्ट देशहरूसँग आफ्नो तुलना गर्नुपर्छ। हामी कहिलेसम्म नेपाल, पाकिस्तान र बंगलादेशसँग मात्र तुलना गरेर बस्ने ? भारतीय जेनजी यही चाहन्छन् र उनीहरू आफूमाथि ककरोच जस्तो व्यवहार गरियोस् भन्ने चाहँदैनन्।’
