
विराटनगर, २६ भदौ। पाँचथरको मिक्लाजुङ गाउँपालिकाबाट बुवाको हत्या आरोपमा आमा र छोरा पक्राउ परेका छन् । मिक्लाजुङ गाउँपालिका-३ का इन्द्रकुमार दमाईको हत्या आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिष कर्णका अनुसार पक्राउ पर्नेमा मिक्लाजुङ–३ की ४३ वर्षीया महिला र उनका १७ वर्षीय छोरा रहेका छन्। प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन । प्रारम्भिक अनुसन्धानबाट आमा–छोरा मिलेर बुवाको हत्या गरेको खुलेको डीएसपी कर्णले बताए । दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि अदालतबाट म्याद थप गरिएको छ।
दमाईं गत भदौ २० गते छिमेकी इन्द्र राईको पाखाबारीमा मृत अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार मृतक दमाईंको घाँटीमा सलको पासो लगाइएको थियो भने निधारलगायत शरीरका विभिन्न भागमा धारिलो वस्तुले प्रहार गरेको जस्तो चोट देखिएको थियो । प्रारम्भिक अनुसन्धानमै घटना आत्महत्या नभई हत्या भएको आशङ्का भएपछि प्रहरीले सूक्ष्म अनुसन्धान थालेको थियो।
अनुसन्धानका क्रममा पक्राउ परेका आमा–छोराले दमाईंलाई आफ्नै घरमा बन्चरो र दाउले प्रहार गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। हत्या गरेपछि शवलाई सुरुमा घरनजिकैको आल्चाको रुखमा झुन्ड्याइएको र पछि त्यहाँबाट करिब पाँच सय मिटर तल भीरपाखामा लगेर फालेको उनीहरूले बयान दिएका छन्। प्रहरीले घटनामा प्रयोग भएको बन्चरोसहित अन्य केही हतियारसमेत बरामद गरेको छ।
