गरुडाको १५औँ नगर अधिवेशन तथा १०औँ बजेट अधिवेशन सम्पन्न, ८५ करोड ३७ लाख भन्दा बढिको बजेट पारित

गरुडाको १५औँ नगर अधिवेशन तथा १०औँ बजेट अधिवेशन सम्पन्न, ८५ करोड ३७ लाख भन्दा बढिको बजेट पारित

रमेश कुमार यादब
भदौं ०५, रौतहट
गरुडा नगरपालिकाले लामो समयदेखि देखिएको आन्तरिक विवाद र अवरोधका बीच आफ्नो १५औँ नगर अधिवेशन तथा १०औँ बजेट अधिवेशन सम्पन्न गरेको छ। स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट नगरसभामा प्रस्तुत गर्नुपर्ने भए पनि जनप्रतिनिधिबीचको आन्तरिक विवादका कारण निर्धारित समयमा नगरसभा हुन नसक्दा बजेट अधिवेशन करिब दुई महिना ढिलो भएको हो। शुक्रबार नगरपालिकाको आफ्नै सभाहलमा आयोजित औपचारिक कार्यक्रममा नगर प्रमुख कन्थमणि प्रसाद जैसवालको अध्यक्षतामा नगर अधिवेशन तथा बजेट अधिवेशन सम्पन्न भएको हो।

कार्यक्रममा नगर उपप्रमुख पुनम कुमारी चौधरीले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन् । लामो समयदेखि नगरसभामा देखिएको आन्तरिक बाधा–अवरोध अन्त्य गर्दै नगरपालिकाले चालु आर्थिक वर्ष २०८३÷०८४ का लागि कुल ८५ करोड ३७ लाख ८५ हजार ९ सय ९९ रुपैयाँ ६० पैसा बराबरको बजेट प्रस्तुत गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट असार १० गतेभित्र नगरसभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। तर गरुडा नगरपालिकामा जनप्रतिनिधिबीच लामो समयदेखि जारी आन्तरिक विवाद तथा मतभेदका कारण नगरसभा निर्धारित समयमा हुन नसक्दा बजेटसमेत समयमा आउन सकेको थिएन।


नगरपालिकाले प्रस्तुत गरेको बजेटमा संघीय सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजस्व बाँडफाँडलाई प्रमुख आयस्रोतका रूपमा समेटिएको छ।
आयतर्फ नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान १३ करोड ४५ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ११ करोड ९२ लाख ८२ हजार रुपैयाँ, सशर्त अनुदान चालुतर्फ २४ करोड ८६ लाख रुपैयाँ, सशर्त अनुदान पुँजीगततर्फ १ करोड ९१ लाख रुपैयाँ, विशेष अनुदान चालुतर्फ २ करोड १० लाख रुपैयाँ र समपूरक अनुदान पुँजीगततर्फ १ करोड ३९ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदानबापत ९२ लाख ५९ हजार रुपैयाँ, सशर्त अनुदान पुँजीगततर्फ ६० लाख रुपैयाँ, विशेष अनुदान चालुतर्फ २० लाख रुपैयाँ तथा राजस्व बाँडफाँडबाट ८८ लाख रुपैयाँ प्राप्त हुने अनुमान बजेटमा गरिएको छ।

नगरपालिकाले स्थानीय राजस्व बाँडफाँडबाट २ करोड १० लाख रुपैयाँ तथा आन्तरिक आयबाट १६ करोड १९ लाख ७० हजार ९ सय २ रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेको छ। सञ्चित कोषमा मौज्दात तथा अन्य शीर्षकबाट प्राप्त हुने रकमसमेत समेटेर आगामी आर्थिक वर्षको कुल बजेट ८५ करोड ३७ लाख ८५ हजार ९ सय ९९ रुपैयाँ ६० पैसा पुगेको उपप्रमुख चौधरीले जानकारी दिइन्।नगरपालिकाले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमध्ये पुँजीगत खर्चतर्फ ३२ करोड १९ लाख ५ हजार रुपैयाँ छुट्याएको छ भने चालु खर्चतर्फ ५३ करोड १८ लाख ८१ हजार रुपैयाँ विनियोजन गरेको छ।

यसअनुसार पुँजीगत खर्चको तुलनामा चालु खर्च करिब २१ करोड रुपैयाँ बढी रहेको छ। चालु खर्चमा कर्मचारी तलब–भत्ता, प्रशासनिक तथा सेवा प्रवाहलगायतका नियमित खर्च समेटिनेछन् भने पुँजीगत बजेटबाट नगरपालिकाका विकास निर्माण तथा पूर्वाधारसम्बन्धी कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकता
नगर प्रमुख कन्थमणि प्रसाद जैसवालले नगरसभाबाट नगरपालिकाको समग्र विकास, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा सामाजिक विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याइएको बताए। उनले नगरवासीको आवश्यकता र मागलाई सम्बोधन गर्दै विकास निर्माणका कामलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। नगर प्रमुख जैसवालले आफूहरू निर्वाचित भएदेखि नै नगरपालिकाको नेतृत्वलाई असफल बनाउन केही गलत तत्वहरू सक्रिय रहेको आरोप लगाए। तर जनताको हकहितका लागि निरन्तर काम गर्दै आएकाले त्यस्ता अवरोधले आफूहरूको काम रोक्न नसकेको उनको भनाइ थियो।

उनले भने, “हामी निर्वाचित भएदेखि नै हामीलाई असफल बनाउन केही गलत तत्वहरू लागिपरेका छन् । तर हामीले जनताको हकहितका लागि निरन्तर काम गरिरहेका छौँ। विकास निर्माणमा बाधा अवरोध गर्ने तत्वलाई जनताले ऐनाजस्तै स्पष्ट रूपमा हेरिसकेका छन् ।” नगर प्रमुख जैसवालले विगतका जनप्रतिनिधिको कार्यकाल र वर्तमान कार्यकालमा भएका विकास निर्माणका कामको तुलना गर्दा नगरपालिकामा विकासको लहर आएको दाबी गरे। नगरवासीले समेत आफूहरूको काम र उपलब्धिलाई मूल्यांकन गरिरहेको उनको भनाइ थियो।

लामो समय बजेट नआउँदा सेवा प्रवाह प्रभावित
बजेट समयमै आउन नसक्दा नगरपालिकाअन्तर्गतका नियमित विकास निर्माण, योजना कार्यान्वयन तथा सेवा प्रवाहका काम प्रभावित हुँदै आएका थिए। बजेट अभाव तथा नगरसभा नहुँदा नयाँ आर्थिक वर्षका योजनाहरू अघि बढाउन समेत कठिनाइ भइरहेको थियो। अब नगरसभा सम्पन्न भई नीति, कार्यक्रम तथा बजेट प्रस्तुत भएपछि रोकिएका विकास निर्माणका कामले गति लिने तथा नगरपालिकाको नियमित सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।

नगरसभा कार्यक्रममा केही समय अवरोध
नगरसभा सञ्चालनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेताहरूले केही समय अवरोधसमेत गरेका थिए। उनीहरूले विभिन्न विषयमा असहमति जनाउँदै कार्यक्रम प्रभावित पार्ने प्रयास गरे पनि नगरपालिकाले उक्त अवरोधको औचित्य नरहेको जनाउँदै नगरसभा प्रक्रियालाई निरन्तरता दिएको जनाएको छ । अवरोधका बाबजुद नगरपालिकाले निर्धारित कार्यसूचीअनुसार नगर अधिवेशन तथा बजेट अधिवेशन सम्पन्न गरेको हो।

लामो समयदेखि रोकिएको नगरसभा सम्पन्न भएपछि जनप्रतिनिधिबीचको विवाद र अवरोध केही हदसम्म अन्त्य भई अब नगरपालिकाको ध्यान विकास निर्माण र सेवा प्रवाहमा केन्द्रित हुने अपेक्षा गरिएको छ। करिब दुई महिनाको ढिलाइपछि नगर अधिवेशन तथा बजेट अधिवेशन सम्पन्न भएसँगै गरुडा नगरपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि आफ्नो नीति, कार्यक्रम तथा बजेट औपचारिक रूपमा अघि बढाएको छ। अब बजेटमा समेटिएका योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु नगरपालिकासामु मुख्य चुनौतीका रूपमा देखिएको छ।

लेखकको बारेमा

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस