
पर्सा ,२८ असोज। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आयात गरिरहेको युरिया मलमध्ये दुई रेल्वे र्याक मल एक साताको अवधिमा वीरगञ्ज नाकाबाट नेपाल भित्रिएको छ। मल सिर्सिया सुक्खा बन्दरगाह हुँदै भित्रिएको साल्ट ट्रेडिङको वीरगञ्ज प्रादेशिक कार्यालयले जनाएको छ।
कार्यालय प्रमुख अमोज लामिछानेका अनुसार ग्लोबल टेन्डरमार्फत आदित्य बिड्ला कम्पनीले ठेक्का पाएको ३० हजार टन युरिया मल चीनबाट आयात भइरहेको छ। मल बोकेको तेस्रो रेल्वे र्याक भारतको आदापुर रेल्वे स्टेसनसम्म आइपुगेको र मंगलबार राति वा बुधबार बिहानसम्म नेपाल भित्रिने सम्भावना रहेको उनले बताए।
लामिछानेले दसैँअघि चारवटा रेल्वे र्याक मल नेपाल आइपुग्ने अपेक्षा गरिएको जानकारी दिए।
वीरगञ्ज कार्यालयले ११ हजार ५०० टन मल पाउने आयात भइरहेको उक्त खेपबाट साल्ट ट्रेडिङको वीरगञ्ज प्रादेशिक कार्यालयले ११ हजार ५०० टन युरिया मल प्राप्त गर्नेछ। बाँकी मल विराटनगर र भैरहवास्थित प्रादेशिक कार्यालयमा वितरण गरिने लामिछानेले बताए।
भैरहवा कार्यालयका लागि छुट्याइएको एक रेल्वे र्याक मलसमेत वीरगञ्ज आइपुगेको छ। बाँकी मल भने भैरहवा नाकाबाट ट्रकमार्फत ढुवानी गरिने जनाइएको छ।
हिउँदे बालीका लागि मल उपयोगी हुने हाल धानबालीका लागि मलको माग नरहे पनि आयात भइरहेको युरिया मल आगामी हिउँदे बालीका लागि उपयोगी हुने कार्यालय प्रमुख लामिछानेले बताए। उनका अनुसार उक्त मल गहुँ तथा तेलहन बालीमा प्रयोग गर्न सकिनेछ।
हिउँदे बाली लगाउने समय नजिकिँदै गर्दा मल आयात भइरहेकाले आगामी सिजनमा किसानलाई आवश्यक पर्ने मलको आपूर्ति सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
