
रमेश कुमार यादब
कार्तिक २१, रौतहट
अँध्यारो हटाएर उज्यालो फैलाउने नेतृत्व नै जनताको साँचो नेतृत्व हो भन्ने मान्यतालाई गरुडा नगरपालिका–५ का वडाध्यक्ष रामबिनोद साहले व्यवहारमै उतार्ने प्रयास गरेका छन्। वडालाई सुरक्षित, व्यवस्थित र उज्यालो बनाउने उद्देश्यसहित सञ्चालन गरिएको ‘उज्यालो वडा’ अभियानअन्तर्गत महम्मदपुर र शिवनगरधामका विभिन्न महत्वपूर्ण स्थानमा चारवटा हाइमास्ट टावर लाइट जडान गरिएको छ।
वडाध्यक्ष साहको पहलमा वडा कार्यालयको बजेटबाट करिब १० लाख रुपैयाँको लागतमा १३ मिटर अग्ला चारवटा हाइमास्ट टावर लाइट जडान गरिएको हो।
मुख्य सडक, सार्वजनिक आवागमन हुने स्थान तथा धार्मिक क्षेत्रलाई लक्षित गरी जडान गरिएका यी बत्तीले रातिको समयमा स्थानीयवासी, यात्रु तथा भक्तजनलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ। शुक्रबार आयोजित एक औपचारिक कार्यक्रमबीच वडाध्यक्ष रामबिनोद साहले जडान गरिएका टावर लाइटको उद्घाटन कार्यक्रम आयोजना गरेका थिए। गरुडा नगरपालिकाका मेयर पदका प्रत्याशी बृजकिशोर यादव र बिपिन जैसवालले संयुक्त रूपमा टावर लाइटको उद्घाटन गर्दै स्थानीयवासीलाई समर्पण गरेका हुन्।

वडाध्यक्ष साहका अनुसार गरुडा नगरपालिका–५ अन्तर्गत पर्ने महम्मदपुर गाउँका तीनवटा महत्वपूर्ण स्थानमा हाइमास्ट टावर लाइट जडान गरिएको छ। रामसागर ठाकुरको घर नजिक, मन्दिप साहको घरअगाडि र जादोलाल यादवको घरअगाडि टावर लाइट राखिएको छ। त्यसैगरी रौतहट जिल्लाकै प्रसिद्ध धार्मिक स्थल शिवनगरधाममा समेत एउटा टावर लाइट जडान गरिएको छ।
वडाध्यक्ष साहले आफ्नो चुनावी प्रतिबद्धताअनुसार वडावासीको आवश्यकता र मागलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढाउँदै आएको बताए। वडाका मुख्य सडक, सार्वजनिक स्थल र रातिको समयमा अँध्यारो रहने क्षेत्रलाई क्रमशः उज्यालो बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको उनको भनाइ छ।
उनले भने, ‘वडाको कुनै पनि कुना अँध्यारो नरहोस् र स्थानीयवासीले रातिको समयमा समेत निर्धक्क भएर आवतजावत गर्न सकून् भन्ने उद्देश्यले टावर लाइट जडान गरेका हौँ। जनतासँग गरेको प्रतिबद्धता पूरा गर्नु मेरो जिम्मेवारी हो। वडाको आवश्यकता र उपलब्ध बजेटअनुसार विकासका कामलाई निरन्तरता दिनेछु।’
मुख्य सडकमा उज्यालो भएपछि सुरक्षा र आवागमनमा सहजता
टावर लाइट उद्घाटन कार्यक्रममा उपस्थित गरुडा नगरपालिकाका मेयर पदका प्रत्याशी बृजकिशोर यादवले वडाध्यक्ष साहले गरेको कामको प्रशंसा गर्दै सार्वजनिक सुरक्षाका दृष्टिले यो महत्वपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार महम्मदपुरका मुख्य सडक तथा चोकहरूमा उच्च क्षमताका बत्ती जडान भएपछि रातिको समयमा त्यस क्षेत्रमा पुग्ने यात्रुहरूलाई सहज हुनेछ। विशेषगरी ग्रामीण क्षेत्रका सडकमा राति अँध्यारो हुँदा पैदलयात्री, सवारीसाधन चालक तथा स्थानीयवासीले विभिन्न समस्या भोग्नुपर्ने अवस्था रहेको थियो।

मुख्य सडकमा पर्याप्त प्रकाशको व्यवस्था भएपछि रातिको समयमा हुन सक्ने चोरी, लुटपाटलगायतका आपराधिक गतिविधिमा समेत कमी आउने विश्वास उनले व्यक्त गरे।यादवले भने, ‘वडाको शान्ति सुरक्षा कायम गर्न, रातिको आवागमन सहज बनाउन र नगरलाई सुन्दर तथा उज्यालो बनाउन हाइमास्ट लाइटको आवश्यकता थियो। ढिलै भए पनि वडाध्यक्ष रामबिनोद साहले वडा बजेटबाट गरेको यो काम प्रशंसनीय छ। यस्ता जनमुखी कामले स्थानीयवासीलाई प्रत्यक्ष लाभ पुर्याउँछन्।’
महम्मदपुरदेखि कटहरियासम्मको मुख्य सडकमा यात्रुलाई राहत
त्यसैगरी अर्का मेयर पदका प्रत्याशी बिपिन जैसवालले ‘उज्यालो वडा’ अभियानले स्थानीयस्तरमा सुरक्षा, व्यापार व्यवसायको प्रवर्द्धन तथा रात्रिकालीन आवागमनलाई सहज बनाउन सहयोग पुग्ने बताए। महम्मदपुर हुँदै कटहरियासम्म पुग्ने मुख्य सडकमा टावर लाइट जडान हुनु स्थानीयवासीका लागि महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ। रातिको समयमा यस सडकबाट आवतजावत गर्ने यात्रु, व्यवसायी तथा सर्वसाधारणलाई अब पहिलेको तुलनामा सहज हुने उनले बताए।

जैसवालले सडक तथा चोकमा पर्याप्त उज्यालो हुँदा चोरी, लुटपाटलगायतका गतिविधि नियन्त्रण गर्न पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे। उज्यालो वातावरणले स्थानीय बजार तथा व्यवसायलाई समेत चलायमान बनाउन मद्दत गर्ने उनको भनाइ थियो। उनले विशेषगरी शिवनगरधाममा टावर लाइट जडान हुनुलाई धार्मिक तथा पर्यटन क्षेत्रका लागि सकारात्मक कदमका रूपमा व्याख्या गरे। रौतहट जिल्लाको प्रमुख धार्मिक नगरीका रूपमा परिचित शिवनगरधाममा विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन्। रातिको समयमा धार्मिक स्थल तथा आसपासका सडकमा पर्याप्त उज्यालो नहुँदा भक्तजन र स्थानीयवासीले समस्या भोग्दै आएका थिए।
टावर लाइट जडान भएपछि शिवनगरधाम आउने भक्तजन, दर्शनार्थी तथा आसपासका बासिन्दालाई रातिको समयमा आवतजावत गर्न सहज हुने उनले बताए। धार्मिक स्थलको सौन्दर्य बढाउन र यस क्षेत्रलाई थप आकर्षक बनाउन पनि यसले योगदान पुर्याउने उनको विश्वास छ।
वडावासीद्वारा वडाध्यक्षको प्रशंसा
महम्मदपुर गाउँदेखि शिवनगरधाम चोकसम्मका विभिन्न महत्वपूर्ण स्थानमा उच्च क्षमताका टावर लाइट जडान भएपछि वडा नं। ५ का स्थानीयवासीमा खुसी छाएको छ। लामो समयदेखि रातिको समयमा अँध्यारोका कारण असहजता भोग्दै आएका स्थानीयवासीले अब सडक तथा सार्वजनिक स्थानमा उज्यालोको सुविधा पाउने भएका छन्।
स्थानीयवासीले वडाको बजेटबाट प्रत्यक्ष जनतालाई लाभ पुग्ने गरी गरिएको यस कार्यको प्रशंसा गर्दै वडाध्यक्ष साहलाई धन्यवाद दिएका छन्।

स्थानीय पूर्वाधार विकासमा सडक, नाला र भवन निर्माणसँगै सार्वजनिक सुरक्षा तथा नागरिकको दैनिक जीवनसँग जोडिएका आवश्यकतालाई पनि प्राथमिकता दिनुपर्ने देखिन्छ। यसै सन्दर्भमा गरुडा–५ मा सञ्चालन गरिएको ‘उज्यालो वडा’ अभियानलाई स्थानीय आवश्यकता सम्बोधन गर्ने प्रयासका रूपमा हेरिएको छ।
चारवटा हाइमास्ट टावर लाइट जडानसँगै महम्मदपुर र शिवनगरधामका महत्वपूर्ण क्षेत्र रातिको समयमा समेत उज्यालो बन्ने अपेक्षा गरिएको छ। आगामी दिनमा वडाका अन्य अँध्यारा स्थानमा समेत प्रकाशको व्यवस्था गर्न सके यस अभियानले अझ व्यापकता पाउने स्थानीयवासीको अपेक्षा छ।
