रमेश कुमार यादब
कार्तिक ०६, रौतहट
हिन्दु धर्मावलम्बीहरूको महान् पर्व विजयादशमीको समापन तथा आउँदै गरेका दीपावली र छठ पर्वको अवसर पारेर रौतहटको गरुडा नगरपालिकामा मेयर कप प्रिमियर लिग क्रिकेट प्रतियोगिताको पाँचौँ संस्करण शुक्रबारदेखि सुरु भएको छ। नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको पहलमा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको हो।
जिल्लाको मध्यभागमा अवस्थित तथा प्रमुख व्यापारिक केन्द्रका रूपमा परिचित गरुडा नगरपालिकामा युवाहरूको खेल प्रतिभा उजागर गर्ने, खेलकुदप्रति आकर्षण बढाउने र स्थानीय खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालको प्रमुख आतिथ्यतामा सुरु भएको प्रतियोगिताको उद्घाटन श्रीराम सुगर मिल्स प्रालिको प्रयोगविहीन अवस्थामा रहेको मैदानमा एक कार्यक्रमबीच गरिएको थियो। उद्घाटन समारोहमा नगर प्रमुख जैसवालले रिबन काटेर प्रतियोगिताको औपचारिक शुभारम्भ गर्नुभएको थियो। उद्घाटनपछि नगर प्रमुख जैसवालले ब्याटिङ तथा वडा अध्यक्ष विनोद प्रसाद जैसवालले बलिङ गरेसँगै प्रतियोगिताको खेल सुरु भएको थियो। उद्घाटन खेलमा गरुडा नगरपालिका–४ र गरुडा नगरपालिका–६ का टोलीबीच प्रतिस्पर्धा भएको आयोजकले जनाएको छ।
विकाससँगै खेलकुदलाई पनि प्राथमिकता
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख जैसवालले गरुडा नगरपालिका विकास निर्माणका काममा अग्रस्थानमा रहँदै आएको बताउनुभयो। नगरको समग्र विकासका लागि जात, धर्म र राजनीतिक दलको आधारमा कुनै भेदभाव नगरी सबै एकजुट भएर अगाडि बढिरहेको उहाँको भनाइ थियो।
उहाँले स्वास्थ्य र शिक्षा मानव जीवन तथा समाज विकासका महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै खेलकुद पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो। स्वस्थ जीवनशैली कायम राख्न, शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढ बनाउन र विभिन्न रोगसँग लड्ने क्षमता विकास गर्न खेलकुदले महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले धारणा राख्नुभयो।

नगर प्रमुख जैसवालले क्रिकेट देशकै लोकप्रिय खेलमध्ये एक भएको उल्लेख गर्दै गरुडाका युवाहरूले आफ्नै क्षेत्रमा यस प्रकारको प्रतियोगितामा सहभागी भएर खेल प्रदर्शन गरिरहेको देख्दा आफूलाई निकै खुसी लागेको बताउनुभयो।
स्थानीय स्तरमा आयोजना हुने प्रतियोगिताले खेलाडीको प्रतिभा पहिचान गर्न, उनीहरूको क्षमता विकास गर्न र भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने अवसर सिर्जना गर्न सहयोग पुग्ने उहाँको विश्वास थियो।
स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न आग्रह
नगर प्रमुख जैसवालले प्रतियोगितामा सहभागी खेलाडीहरूलाई आफ्नो खेल कौशल र प्रतिभाको माध्यमबाट स्थानीय क्षेत्रको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन आग्रह गर्नुभयो। खेलमा सफलता हासिल गर्न अनुशासन, निरन्तर अभ्यास, मेहनत र आत्मविश्वास आवश्यक रहेको उल्लेख गर्दै उहाँले खेलाडीहरूलाई निरन्तर प्रयास गर्न सुझाव दिनुभयो।
उहाँले उद्घाटन खेलमा सहभागी आयोजक टोली तथा गरुडा नगरपालिका–६ को टोलीलाई स्वच्छ, मर्यादित र शान्तिपूर्ण वातावरणमा खेल प्रदर्शन गर्न आग्रह गर्नुभयो। खेलमा एक टोलीको हार र अर्को टोलीको जित स्वाभाविक प्रक्रिया भएकाले हारबाट निराश नभई त्यसलाई सिकाइका रूपमा लिनुपर्ने उहाँको भनाइ थियो।

खेलाडीहरूको मनोबल उच्च राख्न, उनीहरूको प्रतिभा विकास गर्न र युवालाई खेलकुदमार्फत समाज तथा राष्ट्रको प्रगतिमा योगदान पुर्याउने अवसर उपलब्ध गराउन नगरपालिकाले आवश्यक सहयोग गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि नगर प्रमुख जैसवालले व्यक्त गर्नुभयो।
नौ टोलीबीच प्रतिस्पर्धा, विजेतालाई ८१ हजार पुरस्कार
आयोजक युथ क्लब अफ रौतहटका अनुसार मेयर कप प्रिमियर लिग सिजन–५ मा नगरपालिकाका विभिन्न क्षेत्रका गरी नौ टोली सहभागी भएका छन्। प्रतियोगिता कार्तिक १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म पुग्ने दुई टोलीलाई नगद पुरस्कारसहित कप, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।
आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले ८१ हजार रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई ४१ हजार रुपैयाँ नगद, कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिताले गरुडा क्षेत्रका युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय स्तरमा क्रिकेट खेलको विकास र विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। हरेक वर्ष पर्वको अवसरमा सञ्चालन हुँदै आएको मेयर कप क्रिकेट प्रतियोगिताले खेलकुदको माध्यमबाट युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्न, खेलप्रतिको रुचि बढाउन र स्थानीय स्तरमा खेलमैत्री वातावरण निर्माण गर्न योगदान पुर्याउने विश्वास गरिएको छ।

