
रमेश कुमार यादब
मंसिर ०८, रौतहट
रौतहटको गढीमाई नगरपालिकामा नगर प्रमुख पदकी आकांक्षी पूजा यादवले नगरवासीसँगको भेटघाट तथा नगरभित्रका विभिन्न वडामा रहेका समस्या र आवश्यकताबारे जानकारी लिने अभियानलाई निरन्तरता दिएकी छन्। पछिल्ला केही दिनदेखि उनी सामाजिक गतिविधिसँगै स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका समस्या, गुनासा र विकाससम्बन्धी आवश्यकताबारे जानकारी लिन सक्रिय देखिएकी छन्।
नगरपालिकाका सबै वडामा पुगेर स्थानीय बासिन्दासँग भेटघाट गर्ने, उनीहरूको अवस्था बुझ्ने र लामो समयदेखि समाधान हुन नसकेका समस्यालाई प्राथमिकताका आधारमा उठान गर्ने उद्देश्यसहित यादवले आफ्नो भेटघाट कार्यक्रमलाई अगाडि बढाइरहेकी छन्।
यसै क्रममा उनी गढीमाई नगरपालिका–६ अन्तर्गत पकहा र बखरी क्षेत्रमा पुगेर स्थानीय नागरिकसँग भेटघाट गरेकी थिइन्। सो अवसरमा स्थानीयवासीले उनलाई स्वागत गर्दै आफ्नो टोल तथा बस्तीमा रहेका विभिन्न समस्या र विकास निर्माणसँग सम्बन्धित विषयबारे जानकारी गराएका थिए।

स्थानीयवासीले सडक, पूर्वाधारलगायतका समस्या रहे पनि आफूहरूको सबैभन्दा ठूलो र प्रमुख समस्या खानेपानी रहेको बताएका थिए। उनीहरूले खानेपानीको सहज उपलब्धताका लागि निर्माण गरिएको पानी ट्यांकी लामो समय बितिसक्दा पनि सञ्चालनमा आउन नसकेकोप्रति गुनासो व्यक्त गरेका थिए।
स्थानीयका अनुसार खानेपानी ट्यांकी निर्माण सम्पन्न भइसकेको लामो समय भए पनि हालसम्म सर्वसाधारणले त्यसबाट पानी उपभोग गर्न पाएका छैनन्। जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष जोडिएको खानेपानी आयोजना निर्माण सम्पन्न भएर पनि प्रयोगमा नआउनु स्थानीयका लागि चिन्ताको विषय बनेको छ।
उक्त समस्याबारे जानकारी पाएपछि यादवले निर्माण गरिएको खानेपानी ट्यांकीको स्थलगत अवलोकनसमेत गरेकी थिइन्। अवलोकनका क्रममा ट्यांकी परिसर झाडी तथा घाँसपातले ढाकिएको र संरचनामा ताल्चा लागेको अवस्थामा देखिएको थियो। लाखौँको लगानीमा निर्माण गरिएको संरचना प्रयोगविहीन अवस्थामा रहँदा त्यसको उद्देश्य नै अधुरो भएको उनको भनाइ थियो।
स्थलगत अवस्थाको अवलोकनपछि यादवले निर्माण सम्पन्न भइसकेको खानेपानी संरचना वर्षौँसम्म सञ्चालनमा नआउनु अत्यन्तै दुःखद विषय भएको बताइन्। जनताको आधारभूत आवश्यकता पूरा गर्ने उद्देश्यले निर्माण गरिएका आयोजना समयमै सञ्चालनमा ल्याउनु सम्बन्धित निकाय र जनप्रतिनिधिको प्रमुख जिम्मेवारी हुनुपर्ने उनको धारणा थियो।
उनले उक्त खानेपानी आयोजनाको वास्तविक अवस्था, सञ्चालनमा देखिएका अवरोध तथा आवश्यक प्रक्रियाबारे सम्बन्धित खानेपानी मन्त्रालयसँग समन्वय गरी प्रक्रिया अगाडि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै, निर्माण सम्पन्न भइसकेको संरचनालाई थप समयसम्म अलपत्र अवस्थामा नराखी यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।
यादवले निर्वाचनका बेला जनतासँग विभिन्न विकास निर्माण तथा समस्या समाधानका प्रतिबद्धता जनाउने तर निर्वाचित भएपछि नागरिकका गुनासा र आवश्यकतालाई बेवास्ता गर्ने प्रवृत्ति उचित नभएको टिप्पणीसमेत गरिन्। जनप्रतिनिधि जनताको सेवक भएकाले नागरिकका समस्या सुन्ने मात्र नभई तिनको समाधानका लागि जिम्मेवार भएर काम गर्नुपर्ने उनले बताइन्।
उनका अनुसार कुनै पनि विकास आयोजना निर्माण गर्नु मात्रै ठूलो उपलब्धि होइन, त्यसबाट लक्षित समुदायले वास्तविक लाभ लिन पाउनु अझ महत्त्वपूर्ण कुरा हो। विशेषगरी खानेपानी, शिक्षा, स्वास्थ्य, सडकजस्ता आधारभूत आवश्यकतासँग जोडिएका योजनालाई प्राथमिकतामा राखेर प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेको उनले उल्लेख गरिन्।
पकहा र बखरीका स्थानीयवासीसँगको भेटघाटका क्रममा यादवले खानेपानी समस्यालाई सामूहिक प्रयास र सम्बन्धित निकायसँगको समन्वयबाट समाधान गर्नुपर्नेमा जोड दिँदै सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखिन्।
नगर प्रमुख पदकी आकांक्षी यादवले पछिल्लो समय नगरका विभिन्न वडामा पुगेर नागरिकसँग प्रत्यक्ष संवाद गर्ने अभियानलाई प्राथमिकता दिँदै आएकी छन्। उनको यो अभियानले नगरभित्रका वास्तविक समस्या पहिचान गर्न र नागरिकका आवश्यकता सम्बन्धित निकायसम्म पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

