रमेश कुमार यादब
असार ३२, रौतहट
रौतहटको गरुडा नगरपालिका–२ का वडा अध्यक्ष कृष्णनन्दन सहनीले प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिनेश सागर भुसालको नाम जोडेर दिएको आफ्नो अभिव्यक्तिप्रति सार्वजनिक रूपमा क्षमायाचना गर्दै उक्त विषयमा विस्तृत स्पष्टीकरण दिएका छन्। बिहीबार आफ्नै निवास गेडीगुठ्ठीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले आफूबाट अनपेक्षित रूपमा भाषागत त्रुटि भएको स्वीकार गर्दै त्यसबाट उत्पन्न भ्रमप्रति दुःख व्यक्त गरेका हुन्।
वडा अध्यक्ष सहनीले गत असार २५ गते राति योजना भुक्तानीसम्बन्धी विषयमा सञ्चारकर्मीहरूसँग धारणा राख्ने क्रममा बोलाइको सिलसिलामा प्रमुख जिल्ला अधिकारीको नाम उच्चारण हुन पुगेको बताए। उनले उक्त अभिव्यक्ति कुनै पूर्वनियोजित योजना, स्वार्थ वा नियतका आधारमा नभई बोल्ने क्रममा भएको सामान्य मानवीय त्रुटि भएको स्पष्ट पारे।
उनले योजना भुक्तानी प्रक्रिया कानुन, नियम, कार्यविधि तथा सम्बन्धित निकायबीचको समन्वयका आधारमा हुनुपर्ने विषय प्रष्ट्याउने क्रममा सीडीओको नाम जोडिन पुगेको भए पनि उक्त योजनाको भुक्तानी, निर्णय वा प्रशासनिक प्रक्रियासँग प्रमुख जिल्ला अधिकारीको कुनै प्रकारको प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध नरहेको दाबी गरे। “मैले व्यक्त गरेको भनाइको आशय कसैलाई आरोपित गर्ने वा कुनै पदाधिकारीलाई विवादमा तान्ने थिएन,” सहनीले भने, “बोल्ने क्रममा भएको भाषागत कमजोरीलाई केही व्यक्तिहरूले भिडियोको एउटा अंश मात्र काटेर सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा प्रचार–प्रसार गर्दा वास्तविक सन्दर्भभन्दा फरक अर्थ लाग्ने अवस्था सिर्जना भयो।”
उनले आफूले दिएको सम्पूर्ण अभिव्यक्तिको सन्दर्भलाई बेवास्ता गरी सीडीओको नाम उल्लेख भएको अंश मात्र सार्वजनिक
गरिएकाले जनमानसमा भ्रम उत्पन्न भएको जिकिर गरे। यसबाट प्रमुख जिल्ला अधिकारीको गरिमा, प्रतिष्ठा तथा सार्वजनिक छविमा असर पुग्न गएको भए त्यसप्रति आफू दुःखी रहेको र त्यसका लागि क्षमा प्रार्थना गर्ने बताए।सहनीले प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल सहित सम्पूर्ण सरोकारवाला निकाय, जनप्रतिनिधि, कर्मचारी तथा आम नागरिकसमक्ष उक्त भाषागत त्रुटिका लागि क्षमायाचना गर्दै भविष्यमा अभिव्यक्ति दिँदा अझ जिम्मेवार र सचेत रहने प्रतिबद्धता व्यक्त गरे।
नगर प्रमुखमाथि सहनीका गम्भीर आरोप
प त्रकार सम्मेलनमा वडा अध्यक्ष सहनीले गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि प्रसाद जयसवालको कार्यशैलीमाथि समेत तीखा टिप्पणी गरे। उनले नगर प्रमुखले स्थानीय सरकार सञ्चालनको लोकतान्त्रिक अभ्यास र संस्थागत प्रक्रियाभन्दा व्यक्तिगत निर्णयलाई प्राथमिकता दिँदै आएको आरोप लगाए।
सहनीका अनुसार व्यवसायिक पृष्ठभूमिबाट राजनीतिमा आएका नगर प्रमुख जयसवालले नगरपालिकालाई निजी कम्पनीसरह सञ्चालन गर्ने प्रवृत्ति अपनाएका छन्। उनले प्रमुख प्रशासकीय अधिकृतलाई “म्यानेजर”, कर्मचारीलाई “नौकर” र वडा अध्यक्षहरूलाई “भरिया” जस्तो व्यवहार गरिएको आरोप लगाए।
उनले नगरपालिकाभित्र जनप्रतिनिधिबीच समन्वयको अभाव रहेको दाबी गर्दै विकास निर्माणका नाममा सञ्चालन गरिएका धेरै योजना अधुरै छाडिएको बताए। यसका कारण नगरवासीले दैनिक रूपमा समस्या भोग्नुपरेको उनको भनाइ थियो।
बजेट निकासा र प्रमुख प्रशासकीय अधिकृतको सरुवाबारे आरोप
वडा अध्यक्ष सहनीले नगर प्रमुखले कानुनी प्रक्रिया पूरा नगरी केही योजनाको बजेट निकासा गराउन दबाब दिएको आरोप पनि लगाए। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नीलमकुमार न्यौपानेले नियम विपरीत रकम निकासा गर्न अस्वीकार गरेपछि उनको सरुवा
गराउने प्रयास भएको दाबी उनले गरे।
उनका अनुसार केही वडा अध्यक्ष र जनप्रतिनिधिहरूको पहल तथा दबाबका कारण उक्त सरुवा तत्काल रोक्न सफल भएको थियो। सहनीले नगरपालिकाभित्र आर्थिक अनुशासन र पारदर्शिताको विषयमा गम्भीर प्रश्न उठिरहेको दाबी गर्दै यसबारे सम्बन्धित निकायले निष्पक्ष छानबिन गर्नुपर्ने मागसमेत गरे।
नगरसभा र भुक्तानी प्रक्रियामाथि प्रश्न
नगरसभा सम्बन्धी विषयमा बोल्दै सहनीले विगतका योजनाको भुक्तानी गराउन प्रमुख प्रशासकीय अधिकृतमाथि दबाब सिर्जना गरिएको आरोप लगाए। उनले अस्वीकार गरेपछि नयाँ प्रमुख प्रशासकीय अधिकृत ल्याएर रकम निकासा
गराई नगरसभा सम्पन्न गर्ने
तयारी गरिएको दाबी गरे।उनले नगरपालिकामा आर्थिक अनुशासन कमजोर बन्दै गएको र जनप्रतिनिधिहरूबीच विश्वासको वातावरण खस्कँदै गएको टिप्पणी गरे। नगरसभा जस्तो महत्वपूर्ण विषयलाई समेत राजनीतिक र प्रशासनिक दबाबका माध्यमबाट अघि बढाउने प्रयास भइरहेको उनको आरोप थियो।
कर्मचारी र मजदुरको तलब रोकिएको दाबी
वडा अध्यक्ष सहनीले नगरपालिकाको आर्थिक व्यवस्थापन कमजोर भएका कारण विगत दुई महिनादेखि करारका कर्मचारी, नगर शिक्षक,
नगर प्रहरी, सरसफाइकर्मी तथा दैनिक ज्यालादारी मजदुरले तलब नपाएको दाबी गरे। उनले नगरपालिकाका विभिन्न तहका
कर्मचारी आर्थिक समस्यामा परिरहेको उल्लेख गर्दै उनीहरूको जायज मागका पक्षमा आफू निरन्तर आवाज उठाइरहने प्रतिबद्धता जनाए। “नगरपालिकाका कर्मचारी, शिक्षक, नगर प्रहरी र श्रमिकले समयमै पारिश्रमिक नपाउनु दुःखद विषय हो,” उनले भने, “यसको समाधानका लागि सम्बन्धित पक्षले तत्काल पहल गर्नुपर्छ।”
नगरपालिकाको धारणा आउन बाँकी
यता, वडा अध्यक्ष कृष्णनन्दन सहनीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका आरोपबारे गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणि प्रसाद जयसवाल वा नगरपालिकाको आधिकारिक धारणा भने समाचार तयार पार्दासम्म प्राप्त हुन सकेको छैन। आरोपको सम्बन्धमा नगर प्रमुख वा नगरपालिकाको प्रतिक्रिया प्राप्त भएमा त्यसलाई पनि सार्वजनिक गरिने जनाइएको छ।वडा अध्यक्ष सहनीको स्पष्टी
करण र नगर प्रमुखमाथि लगाइएका आरोपहरूले गरुडा नगरपालिकाको राजनीतिक तथा प्रशासनिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ। अब यस विषयमा नगरपालिकाको आधिकारिक प्रतिक्रिया र सम्बन्धित निकायहरूको कदमलाई चासोका साथ हेरिएको छ।
