सीमा नाकामा चोरी–तस्करी नियन्त्रणका लागि ७३, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षाका लागि ३७, बजार अनुगमनका लागि २१ र कर्डन तथा सर्चका लागि १८ ड्युटी परिचालन गरिनेछ । सभा, जुलुस तथा धर्नाको आकस्मिक सुरक्षाका लागि १६ र विपद् प्रतिकार्यका लागि २२ टोली परिचालन हुनेछन् । सीमा नाकामा २८ वटा हेल्प डेस्कसमेत सञ्चालन गरिने प्रहरीले जनाएको छ।
चाडपर्वका समयमा भारत–नेपाल सीमा नाकामा मानिसको आवतजावत बढ्ने भएकाले सीमा क्षेत्रमा तस्करी तथा अवैध सामान ओसारपसारको जोखिमलाई समेत ध्यानमा राखिएको उनले बताए ।धार्मिक स्थलमा हुने भीडभाडमा चोरी, लुटपाट तथा मानिस हराउने घटना रोक्न पनि सुरक्षा व्यवस्था कडा पारिनेछ।छठका क्रममा घाटमा डुब्ने तथा भीडजन्य दुर्घटना हुनसक्ने, दशैंमा घर फर्किने तथा तिहारपछि बढ्ने आवतजावतका कारण सडक दुर्घटना र ट्राफिक जाम हुनसक्ने जोखिमलाई पनि प्रहरीले सुरक्षा योजनामा समेटेको उनको भनाइ छ ।पटका तथा आतिसबाजीबाट आगलागी, जुवा–तास तथा अवैध सट्टेबाजी, मादक पदार्थ सेवनबाट झैझगडा र घरेलु हिंसा तथा भीडभाडमा पाकेटमारी, चोरी र लुटपाट हुनसक्ने भन्दै प्रहरीले त्यसतर्फ पनि निगरानी बढाउने जनाएको छ ।
त्यसैगरी सुनचाँदी पसल, बैंक तथा नगद कारोबार हुने स्थानमा चोरी तथा डकैती, देउसी–भैलो, सांस्कृतिक कार्यक्रम र डिजेका कारण रात्रीकालीन शान्ति–सुरक्षामा चुनौती, धार्मिक कार्यक्रम तथा जुलुसबाट स्थानीय विवाद र सामाजिक तनाव हुनसक्ने जोखिमलाई समेत प्रहरीले पहिचान गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षा, अवैध मदिरा तथा लागुऔषधको ओसारपसार, कालोबजारी, कृत्रिम अभाव तथा मूल्यवृद्धि, सामाजिक सञ्जालमार्फत गलत सूचना फैलाएर तनाव सिर्जना गर्ने गतिविधि तथा आगलागी, विद्युत् सर्ट र अन्य आकस्मिक विपद्लाई पनि सुरक्षा चुनौतीका रूपमा राखिएको छ ।प्रवक्ता ढकालका अनुसार अन्य जनशक्तिलाई कमान्ड पोस्ट, संयुक्त गस्ती, सादा पोसाकमा सूचना संकलन तथा आकस्मिक ड्युटीमा परिचालन गरिनेछ ।


























