टापुजस्तै रहेको वडा नं. ५ नरकटिया भवानीपुरमा विकासको लहर ल्याएका छौं” — वडाध्यक्ष फेकु दास

टापुजस्तै रहेको वडा नं. ५ नरकटिया भवानीपुरमा विकासको लहर ल्याएका छौं” — वडाध्यक्ष फेकु दास

रमेश कुमार यादब
भदौं १४, रौतहट
रौतहटको वृन्दावन नगरपालिका–५ नरकटियामा पछिल्लो समय विकास निर्माणका कामले गति लिन थालेको छ। सडक, शिक्षा, स्वास्थ्य, वडा कार्यालय, धार्मिक तथा सार्वजनिक संरचनालगायतका क्षेत्रमा योजनाबद्ध रूपमा काम अघि बढाइएको वडाध्यक्ष फेकु दासले बताउनुभएको छ। वडाध्यक्ष दासका अनुसार आफू २०७९ सालमा वडाध्यक्षका रूपमा निर्वाचित भएपछि वडावासीको आवश्यकता, चाहना र दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै काम अघि बढाइएको हो। विगतमा समथर भू–भागमा अवस्थित भए पनि विकास र पूर्वाधारका दृष्टिले नरकटिया क्षेत्र निकै पछाडि परेको उहाँको भनाइ छ ।
“म निर्वाचित हुनुअघि यहाँको अवस्था हेर्दा यो ठाउँ दुर्गम क्षेत्रभन्दा कम थिएन। बाटोघाटोको समस्या, पर्याप्त सार्वजनिक संरचनाको अभावलगायतका कारण स्थानीयवासीले दैनिक जीवनमा धेरै समस्या भोग्नुपथ्र्यो,” वडाध्यक्ष दासले सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो, “निर्वाचित भएपछि जनताको आवश्यकता र मागलाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढाएका छौँ।”
सडक पूर्वाधारमा प्राथमिकता
वडाध्यक्ष दासका अनुसार वडा कार्यालयदेखि हाइवे जोड्ने सडक निर्माण तथा स्तरोन्नतिसहित वडाका विभिन्न टोल र बस्तीमा सडक पूर्वाधार विकासका काम गरिएको छ । वर्षायाममा हिलो तथा पानी जम्ने र आवतजावतमा समस्या हुने अवस्थालाई न्यूनीकरण गर्दै स्थानीयवासीलाई सहज रूपमा आवतजावत गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले सडक निर्माण तथा स्तरोन्नतिलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो। गाउँका विभिन्न स्थानमा आवश्यकताअनुसार बाटोघाटो निर्माण, मर्मत तथा
तरोन्नति गरिँदै आएको भन्दै उहाँले आगामी दिनमा पनि बाँकी रहेका सडक तथा पूर्वाधारका कामलाई क्रमशः अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको छ।
वडा कार्यालय भवन निर्माण
वडावासीलाई आफ्नै वडाबाट सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले वडा कार्यालय भवन निर्माण गरिएको वडाध्यक्ष दासले बताउनुभयो। उहाँका अनुसार वडा कार्यालय भवन निर्माणमा करिब ६० लाख रुपैयाँ खर्च भएको छ । यसअघि पर्याप्त भौतिक संरचनाको अभावमा सेवा प्रवाहमा समेत समस्या हुने गरेको उल्लेख गर्दै उहाँले नयाँ भवन निर्माणपछि वडा कार्यालयबाट प्रदान हुने सेवामा सहजता आउने विश्वास व्यक्त गर्नुभयो।
शिक्षामा भौतिक पूर्वाधारसँगै विद्यार्थीलाई सहयोग
नरकटियाको श्रीराम जानकी आधारभूत विद्यालयमा आठकोठे भवन निर्माणको काम अघि बढाइएको छ। विद्यालयको भौतिक संरचना सुधारसँगै विद्यार्थीका लागि आवश्यक शैक्षिक सामग्री तथा पोशाक वितरणलगायतका कार्यक्रम पनि सञ्चालन गरिएको वडाध्यक्ष दासले बताउनुभयो। उहाँका अनुसार आठकोठे विद्यालय भवन निर्माणका लागि करिब ७२ लाख रुपैयाँ बजेट रहेको छ र भवन निर्माणको काम अहिले पनि अघि बढिरहेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीको नियमित उपस्थिति र शिक्षाप्रति आकर्षण बढाउने उद्देश्यले ड्रेस तथा झोला वितरण गरिएको उहाँको भनाइ छ । विद्यालयको भौतिक संरचना बलियो र व्यवस्थित बनाएर विद्यार्थीलाई गुणस्तरीय तथा सहज शैक्षिक वातावरण उपलब्ध गराउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
स्वास्थ्य चौकीका लागि दुईतले भवन निर्माणको तयारी
स्वास्थ्य क्षेत्रलाई पनि वडाको महत्वपूर्ण प्राथमिकताका रूपमा अघि बढाइएको वडाध्यक्ष दासले बताउनुभयो। स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा आफ्नै वडामा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य चौकीका लागि दुईतले भवन तथा कम्पाउन्ड वाल निर्माणको प्रक्रिया अघि बढाइएको उहाँले जानकारी दिनुभयो। स्वास्थ्य संस्था व्यवस्थित र आवश्यक पूर्वाधारसहित सञ्चालनमा आएमा सामान्य स्वास्थ्य सेवाका लागि स्थानीयवासीले टाढा जानुपर्ने बाध्यता कम हुने उहाँको भनाइ छ ।
धार्मिक तथा सार्वजनिक संरचनामा पनि लगानी
नरकटिया क्षेत्रमा रहेका धार्मिक तथा सांस्कृतिक स्थलको संरक्षण र विकासलाई समेत वडाले प्राथमिकतामा राखेको वडाध्यक्ष दासले बताउनुभयो। मठ–मन्दिर, धार्मिक स्थल तथा सार्वजनिक प्रतीक्षालयलगायतका संरचना निर्माण तथा सुधारका कामहरू गरिएको उहाँले जानकारी दिनुभयो । स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाले गाउँको पहिचानसँगै सामाजिक एकता र आपसी सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता संरचनाको संरक्षण र विकासमा आगामी दिनमा समेत ध्यान दिइने उहाँले बताउनुभयो ।
नगर र प्रदेश सरकारको सहयोग महत्वपूर्ण
वडामा विकास निर्माणका काम अघि बढाउन वृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मी तथा मधेस प्रदेश सरकारका अर्थमन्त्री ८८युवराज भट्टराई ‘समीर’को साथ, सहयोग र समन्वय महत्वपूर्ण रहेको वडाध्यक्ष दासले बताउनुभयो । उहाँका अनुसार स्थानीय तह र प्रदेश सरकारबीच आवश्यक समन्वय र सहकार्यका कारण वडामा विभिन्न योजनाहरू सञ्चालन गर्न सहज भएको हो । केही योजना सम्पन्न भइसकेका छन् भने केही महत्वपूर्ण योजना निर्माण तथा प्रगतिका क्रममा रहेका छन् । “जनताको आवश्यकता र चाहनाअनुसार विकासका काम अघि बढाउँदा अनेकौँ चुनौती र समस्या सामना गर्नुप¥यो । स्थानीयस्तरमा विभिन्न किसिमका अवरोध पनि आए । तर ती चुनौतीलाई अवसरका रूपमा लिएर निरन्तर काम गर्दै जाँदा अहिले वडाको स्वरूपमा क्रमशः परिवर्तन देखिन थालेको छ,” उहाँले भन्नुभयो । विकास निर्माणका क्रममा आफूले भोगेका कठिनाइ र स्थानीयस्तरमा आएका समस्या समाधान गर्दै अघि बढ्नुपरेको अनुभवसमेत उहाँले सुनाउनुभयो। जनताको आवश्यकता र मागलाई केन्द्रमा राखेर काम गर्दा विकासका योजनालाई व्यवहारमा कार्यान्वयन गर्न सकिएको उहाँको दाबी छ ।
कृषिलाई आर्थिक आधार बनाउने योजना
नरकटियाको मुख्य आर्थिक आधारका रूपमा रहेको कृषि क्षेत्रको विकास र किसानको आयआर्जन बढाउन आगामी दिनमा थप कार्यक्रम सञ्चालन गर्ने वडाध्यक्ष दासले बताउनुभयो । किसानलाई आवश्यक सहयोग, कृषि उत्पादनमा वृद्धि तथा उत्पादित वस्तुको बजारीकरणमा ध्यान दिन सके स्थानीय अर्थतन्त्र बलियो बन्न सक्ने उहाँको भनाइ छ । स्थानीय उत्पादनले उचित बजार र उचित मूल्य पाएमा गाउँमै रोजगारी तथा आम्दानीका अवसर सिर्जना गर्न सकिने उहाँले बताउनुभयो। “कृषि उत्पादन बढाउनु मात्र पर्याप्त हुँदैन, किसानले उत्पादन गरेको वस्तुको उचित मूल्य र बजार पनि पाउनुपर्छ । त्यसका लागि आगामी दिनमा थप काम गर्ने हाम्रो योजना छ,” उहाँले भन्नुभयो ।
रोजगारी सिर्जना गर्ने उद्योग स्थापना गर्ने लक्ष्य
वडाध्यक्ष दासले आगामी दिनमा अवसर पाएमा नरकटिया क्षेत्रमा उद्योग तथा कारखाना स्थापना गरी स्थानीय युवालाई गाउँमै रोजगारीको अवसर सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राख्ने बताउनुभयो । स्थानीय युवाहरू रोजगारीका लागि बाहिरिनुपर्ने बाध्यता अन्त्य गर्न गाउँमै रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । कृषि उत्पादनमा आधारित उद्योग तथा अन्य सम्भावित व्यवसायिक गतिविधिलाई प्रोत्साहन गर्न सके स्थानीय स्तरमै रोजगारी र आर्थिक गतिविधि बढाउन सकिने उहाँले बताउनुभयो।
‘जनताको आवश्यकता र अधिकारभित्र रहेर काम गरेका छौँ’
आफ्नो कार्यकालमा जनताको आवश्यकता र मागअनुसार भौतिक पूर्वाधार निर्माणमा केन्द्रित भएर काम गरेको वडाध्यक्ष दासको दाबी छ । “हामीले जनताको अधिकार र आवश्यकताभित्र रहेर विकास निर्माणका काम गरेका छौँ। सबै समस्या एकैपटक समाधान गर्न सम्भव नहोला, तर प्राथमिकता निर्धारण गरेर क्रमशः काम गर्दै गएका छौँ,” उहाँले भन्नुभयो। उहाँले आगामी दिनमा पनि सडक, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा सामाजिक र धार्मिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बाँकी रहेका योजनाहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वडाध्यक्ष दासले आफूलाई निर्वाचनमा विजयी गराउन सहयोग गर्ने वृन्दावन नगरपालिका–५ नरकटियाका सम्पूर्ण स्थानीयवासीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि जनताको सुझाव, सहयोग र सहकार्यका आधारमा वडाको विकासलाई निरन्तरता दिने बताउनुभयो । “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो । आगामी दिनमा पनि वडावासीको सुझाव र आवश्यकतालाई केन्द्रमा राखेर काम गर्नेछु,” उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

लेखकको बारेमा

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    खोजी गर्नुहोस