दसैं, तिहार र छठलाई लक्षित गर्दै रौतहटका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना, चन्द्रनिगाहपुरमा रिफ्रेस सेन्टर सञ्चालन

दसैं, तिहार र छठलाई लक्षित गर्दै रौतहटका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना, चन्द्रनिगाहपुरमा रिफ्रेस सेन्टर सञ्चालन

रमेश कुमार यादब
असोज २४, रौतहट
नेपालीहरूको महान् चाड बडादसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै रौतहटमा यात्रुहरूको सुरक्षित, सहज र व्यवस्थित यात्राका लागि यात्रु सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ। चाडपर्वको समयमा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप बढ्ने, बढी भाडा असुली हुने, यात्रुलाई विभिन्न किसिमका समस्या पर्ने तथा सडक दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरीले जिल्लाका चार प्रमुख स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो। जिल्ला प्रहरी कार्यालय गौर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको संयुक्त आयोजनामा जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापामगरले जानकारी दिएका छन्।

उनका अनुसार चाडपर्वका बेला गाउँघरबाट सहर तथा सहरबाट आफ्नो घर फर्किने यात्रुहरूको संख्या उल्लेख्य रूपमा बढ्ने भएकाले यात्रुहरूलाई सुरक्षित र सहज रूपमा गन्तव्यसम्म पुग्न सहयोग गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो। प्रहरीका अनुसार चन्द्रपुर नगरपालिका–४ स्थित चन्द्रनिगाहपुर मेनचोक, गरुडा नगरपालिका–४ स्थित गरुडा बजार, बौधीमाई नगरपालिका–७ स्थित बंकुल चोक र गौर नगरपालिका–८ स्थित गौर बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। जिल्लाका प्रमुख बजार, चोक तथा यातायातका केन्द्रलाई समेटेर सहायता कक्ष सञ्चालनमा ल्याइएकाले यात्रुहरूलाई यात्रा क्रममा आइपर्ने समस्या समाधानका लागि प्रहरीसँग प्रत्यक्ष सम्पर्क गर्न सहज हुने अपेक्षा गरिएको छ।

प्रहरी निरीक्षक थापामगरका अनुसार यात्रु सहायता कक्षमार्फत सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा यात्रुले भोग्नुपर्ने विभिन्न समस्या, तोकिएकोभन्दा बढी भाडा असुली, यात्रुलाई ठगी गर्ने प्रयास, सवारीसाधनमा हुने अनियमितता तथा अन्य गुनासो प्रहरीसमक्ष राख्न सकिनेछ। यात्रुहरूले कुनै समस्या भोगेमा सम्बन्धित सहायता कक्षमा पुगेर जानकारी गराउन सक्नेछन्। प्राप्त गुनासो तथा सूचनाका आधारमा आवश्यक सहजीकरण र कारबाही प्रक्रिया अघि बढाउनसमेत प्रहरीले पहल गर्ने अपेक्षा गरिएको छ। विशेष गरी दसैँ, तिहार र छठजस्ता ठूला चाडपर्वका बेला रोजगारी, अध्ययन तथा अन्य कामका सिलसिलामा घरबाहिर रहेका नागरिकहरू परिवारसँग चाडपर्व मनाउन घर फर्किने गर्छन्।

यस अवधिमा बसपार्क, मुख्य सडक, बजार क्षेत्र तथा सार्वजनिक यातायातका साधनमा यात्रुको चाप बढ्ने गर्दछ। यात्रुको चाप बढेसँगै सिट नपाउने, क्षमताभन्दा बढी यात्रु राख्ने, मनपरी भाडा लिने तथा यात्रुलाई अनावश्यक दुःख दिने जस्ता समस्या उत्पन्न हुन सक्ने भएकाले यस्ता गतिविधि नियन्त्रण गर्न यात्रु सहायता कक्ष
प्रभावकारी हुने विश्वास गरिएको छ। यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरको अगाडि यात्रुहरूलाई लक्षित गरी रिफ्रेस सेन्टरसमेत सञ्चालनमा ल्याइएको प्रहरी निरीक्षक थापामगरले बताएका छन्। लामो दूरीको यात्रा गर्ने यात्रुहरूलाई केही समय आराम गर्न, पानी पिउन तथा आधारभूत आवश्यकताहरू पूरा गर्न सहज होस् भन्ने उद्देश्यले रिफ्रेस सेन्टर स्थापना गरिएको हो।

उक्त सेन्टरमा यात्रुहरूका लागि शुद्ध खानेपानी र शौचालयको सुविधा उपलब्ध गराइएको छ। लामो समयसम्म यात्रा गर्दा यात्रुहरू थकित हुने तथा चालकहरूमा समेत थकानका कारण ध्यान केन्द्रित गर्न कठिनाइ हुन सक्ने भएकाले यात्रा क्रममा आवश्यक विश्राम लिनु महत्त्वपूर्ण मानिन्छ। रिफ्रेस सेन्टरले यात्रुहरूलाई केही समय आराम गर्ने अवसर प्रदान गर्नुका साथै सुरक्षित यात्राबारे सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। चाडपर्वको समयमा सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनु प्रहरीका लागि थप चुनौतीपूर्ण हुने गर्दछ। यसलाई ध्यानमा राख्दै प्रहरीले यात्रु सहायता कक्ष सञ्चालनसँगै सडक सुरक्षामा ध्यान दिन, ट्राफिक नियमको पूर्ण पालना गर्न र सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउन यात्रु तथा सवारी चालकलाई आग्रह गरेको छ।

प्रहरीले यात्राका क्रममा सवारीसाधनको अवस्था जाँच गर्न, सवारी चालकको लापरबाहीप्रति सचेत रहन, क्षमताभन्दा बढी यात्रु राखिएको सवारीसाधनमा यात्रा नगर्न तथा लामो दूरीको यात्रामा आवश्यक विश्राम लिनसमेत सुझाव दिएको छ। त्यस्तै, सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा बढी भाडा असुली वा अन्य कुनै समस्या भएमा चुप लागेर नबस्न र नजिकैको यात्रु सहायता कक्षमा जानकारी गराउन आग्रह गरिएको छ।

चाडपर्वको समयमा यात्रुहरूलाई ठगी, असुविधा र सम्भावित जोखिमबाट जोगाउनुका साथै सुरक्षित यातायात सेवा सुनिश्चित गर्न यात्रु सहायता कक्ष र रिफ्रेस सेन्टरको व्यवस्था गरिएको प्रहरीले जनाएको छ। यात्रु, सवारी चालक, यातायात व्यवसायी तथा सुरक्षाकर्मीबीच सहकार्य र समन्वय हुन सकेमा चाडपर्वको यात्रा थप सुरक्षित, व्यवस्थित र सहज बनाउन सकिने विश्वास गरिएको छ। प्रहरीले दसैँ, तिहार तथा छठ पर्व मनाउन घर फर्किने र अन्य गन्तव्यतर्फ यात्रा गर्ने सम्पूर्ण नागरिकलाई सचेत र जिम्मेवार भएर यात्रा गर्न आग्रह गर्दै कुनै समस्या परेमा यात्रु सहायता कक्षको सहयोग लिन अनुरोध गरेको छ।

लेखकको बारेमा

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    खोजी गर्नुहोस