देशभर आज नागपञ्चमी पर्व मनाइँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १, सोमबार (६ दिन अघि)
  • ५१ पटक पढिएको
देशभर आज नागपञ्चमी पर्व मनाइँदै

वीरगञ्ज , ०१ भदौ। वैदिक सनातन परम्पराअनुसार आज देशभर श्रद्धा र भक्तिपूर्वक नागपञ्चमी पर्व मनाइँदैछ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरको मूलढोकामा विधिपूर्वक नागको तस्वीर टाँसेर पूजाअर्चना गर्ने प्रचलन रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार मूलढोकामा नागको तस्वीर टाँस्दा वर्षभरि नाग, सर्प, बिच्छीजस्ता विषालु जीवका साथै अग्नि, मेघ र चट्याङको भयबाट जोगिन सकिने धार्मिक विश्वास छ ।

वैदिक कालदेखि नै नागलाई सर्पको राजाका रूपमा तथा भगवान् शिव र विष्णुको स्वरूप मानेर पूजा गर्ने परम्परा रहँदै आएको छ। घरको जगमुनि रहेका नाग कुपित नहोऊन् र समयमा पानी परोस् भनी नागलाई खुसी पार्न दूध, अक्षता, दुबो र खीर चढाउने गरिन्छ ।

नागपञ्चमीका दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गरिन्छ। आजका दिन खेतबारीमा खनजोत नगर्ने र घिस्रने जीवलाई नमार्ने मान्यता छ ।

काठमाडौँको नागपोखरी, टौदह, र भक्तपुरको सिद्धपोखरीलगायतका धार्मिक स्थलहरूमा बिहानैदेखि श्रद्धालुको विशेष घुइँचो लागेको छ । वैज्ञानिक दृष्टिकोणले पनि प्रकृतिमा रहेका विषालु पदार्थ सोसेर वातावरण सन्तुलित राख्न नागको महत्त्वपूर्ण भूमिका रहने भएकाले यो पर्वको विशेष महत्त्व मानिन्छ । नागपञ्चमीसँगै वैदिक सनातन धर्मावलम्बीहरूका मुख्य चाडबाडको याम सुरु भएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस