
वीरगञ्ज , ३२ असार। वीरगञ्जको प्रसिद्ध शक्तिपीठ श्री गहवामाई मन्दिर को चौथो रथयात्रा बिहीबार श्रद्धा, भक्ति र उत्साहका साथ निकालिएको छ। विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको रथयात्रा यस वर्ष पनि हजारौं श्रद्धालु भक्तजनको सहभागितामा भव्य रूपमा सम्पन्न भइरहेको छ।
बिहान गहवामाई मन्दिरमा विशेष पूजा–आराधनापछि सुरु भएको रथयात्रा घण्टाघर, रेलवे रोडको भित्री बाइपास, छपकैया, मुख्य सडक, अस्पताल रोड, मकालु चोक, आदर्शनगर, घडिअर्वा हुँदै पुनः माईस्थान मन्दिर पुगेर समापन हुने कार्यक्रम रहेको माईस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र साह ले जानकारी दिए।
रथयात्रालाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा ट्राफिक प्रहरीको विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। सुरक्षा स्रोतका अनुसार सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्पूर्ण रथयात्रा मार्गमा सुरक्षा निगरानी बढाइएको छ। साथै, ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक स्थानमा वैकल्पिक व्यवस्था पनि गरिएको छ।
रथयात्रामा सहभागी हुन बिहानैदेखि बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका श्रद्धालुहरू मन्दिर परिसरमा पुगेका थिए। रथयात्रा सुरु हुनुअघि वर्षा भए पनि त्यसले भक्तजनको उत्साहमा कुनै कमी ल्याउन सकेन। मुख्य सडक विस्तारका क्रममा केही स्थानमा संरचना भत्काइएका कारण सामान्य असहजता भए पनि श्रद्धालुहरू भक्तिभावका साथ रथयात्रामा सहभागी भएका थिए।
आयोजकका अनुसार बिहानको रथयात्रापछि पूजा कार्यक्रम दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ। त्यसपछि केही समय विश्राम गरी दिउँसो १ बजेदेखि पुनः पूजा–आराधना सुरु गरिनेछ।
धार्मिक विधिअनुसार बेलुका ४ बजे मुख्य हवन सम्पन्न गरिने कार्यक्रम रहेको छ भने साँझ ६ बजे भव्य महाआरती गरिनेछ। महाआरती सम्पन्न भएपछि साँझ ६:३० बजेदेखि उपस्थित सम्पूर्ण श्रद्धालु भक्तजनका लागि प्रसाद वितरणको व्यवस्था गरिएको आयोजक समितिले जनाएको छ।
वीरगञ्जको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा स्थापित गहवामाई रथयात्राले धार्मिक सद्भाव, सामाजिक एकता र सांस्कृतिक परम्पराको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको विश्वास आयोजकहरूको छ।
