बरफको ढिस्को कहिले भत्कन्छ ? पग्लिँदो हिमनदीसँगै बढ्दो विपद्को खतरा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र १७, बुधबार (५५ मिनेट अघि)
  • ३६ पटक पढिएको
बरफको ढिस्को कहिले भत्कन्छ ? पग्लिँदो हिमनदीसँगै बढ्दो विपद्को खतरा

काठमाडौं, १७ भदौ। हालै चीन-नेपाल सीमामा गएको भौगर्भिक विपद्ले हिमनदीहरूतर्फ पुनः ध्यानाकर्षण गराएको छ। हिमनदीहरूलाई प्रायः विश्वव्यापी तापक्रम वृद्धिको ‘पीडित’ मानिन्छ। तर हिमनदीहरू खुम्चिने, पर्माफ्रोस्ट (जमेको माटो) पग्लिने र हिमतालहरू बढ्ने क्रमसँगै चरम मौसम तथा जटिल भौगर्भिक अवस्थाले हिमपहिरो, हिमताल फुट्ने, पहिरो र लेदो बग्ने जोखिम पनि बढाउन सक्छ।

चरम मौसम तथा जलवायु घटनाहरूको अनुगमन र पूर्वसूचना प्रविधिहरू निरन्तर विकसित भइरहँदा, दुर्गम तथा उच्च हिमाली क्षेत्रका हिमनदीहरूको अनुगमन गरी विपद् हुनुअघि नै पूर्वसूचना दिन सम्भव छ त ?

सीजीटीएनले हिमनदीसम्बन्धी विपद्, जलवायु परिवर्तन, अनुगमन र पूर्वसूचनाका विषयमा चिनियाँ मौसम विज्ञान प्रतिष्ठानअन्तर्गतको इन्स्टिच्युट अफ ग्लोबल चेन्ज एन्ड पोलर मेटियोरोलोजीका अनुसन्धान वैज्ञानिक चाङ तोङछी र राष्ट्रिय जलवायु केन्द्रको जलवायु परिवर्तन अनुगमन तथा प्रक्षेपण महाशाखाकी अनुसन्धान वैज्ञानिक मा लिज्वानसँग अन्तर्वार्ता गरेको छ।

  • हामी प्रायः हिमनदीहरूलाई जलवायु परिवर्तनको सिकार भएको ठान्छौँ। के हामीले अब हिमनदीहरू आफैँ विपद्को स्रोत बन्दै गएको देखिरहेका छौं? के बरफ-चट्टानको हिमपहिरो र हिमनदीसँग सम्बन्धित अन्य विपद्हरू अझै धेरै र गम्भीर हुँदै गएका हुन्?

चाङ तोङछी : हिमनदीसम्बन्धी विपद्हरू सधैँ अस्तित्वमा थिए। स्थिर जलवायु भएको समयमा यस्ता घटना कमै हुन्थे, त्यसैकारण यिनमा कमैको मात्र ध्यान जान्थ्यो। विश्वव्यापी तापक्रम वृद्धिको पृष्ठभूमिमा, हिमनदी विपद्हरू धेरै हुन थालेका छन्, जसले ठुलो क्षति पुर्‍याउनुका साथै ध्यानाकर्षणसमेत बढाइरहेका छन्।

विगत केही दशक, वा अझ भनौं पछिल्ला १० देखि २० वर्षको विश्लेषण गर्दा बरफ-चट्टानको हिमपहिरो र हिमनदीसँग सम्बन्धित अन्य विपद्हरूको सङ्ख्या वास्तवमै बढिरहेको र तिनको गम्भीरता पनि बढ्दो अवस्थामा रहेको देखिन्छ। यसमा दुवै कारक तत्त्वहरूले भूमिका खेलेका छन्। विश्वव्यापी तापक्रम वृद्धिले गर्दा पछिल्ला दशकहरूमा हिममण्डल (क्रायोस्फेरिक) विपद्का घटनाहरू बढेका छन्। मानवीय गतिविधिहरूको विस्तार, भूउपग्रह रिमोट सेन्सिङ र अन्य अनुगमन विधिहरूमा भएको विकासले गर्दा हामीलाई दुर्गम क्षेत्रमा भएका धेरै विपद्हरू पत्ता लगाउन सहज भएको छ, जसमा विगतमा मानवीय क्षति नगरे पनि स्पष्ट डोबहरू छाडेका घटनाहरू पनि पर्छन्।

मा लिज्वान: बढ्दो तापक्रमको पृष्ठभूमिमा, छिङहाइ-सिजाङ (तिब्बत) पठारलाई मुख्य क्षेत्र मानिने उच्च हिमाली एसियाका हिमनदीहरू खुम्चिँदै र पग्लिँदै गएका छन्। साथै, पर्माफ्रोस्ट पग्लिँदै गएको छ भने हिउँले ढाकिएका क्षेत्र घट्दै गएका छन् र यी क्रमहरू सन् १९९० को दशकदेखि तीव्र हुँदै गएका छन्।

यसले हिमनदीको अस्थिरता निम्त्याउनुका साथै हिमतालहरूको सङ्ख्या र क्षेत्रफल बढाएको छ। यसबाट हिममण्डलसँग सम्बन्धित विपद्हरू, जस्तै: बरफ र हिउँको पहिरो, हिमताल फुट्ने, हिमनदीसँग सम्बन्धित लेदो बग्ने र हिउँ पग्लिएर आउने बाढीका घटनाहरू धेरै हुन थालेका छन्।

अध्ययनहरूले हिमनदी खस्ने (भत्किने) घटनाहरू कम्तीमा सन् १९५० देखि बढेको देखाएका छन् भने थर्मोकार्स्ट पोखरीहरूको सङ्ख्या र पर्माफ्रोस्ट पग्लिएर जमिन भासिने क्रम सन् १९७० को दशकदेखि बढेको देखाएका छन्। सन् २०१५ यता उच्च हिमाली एसियाका ठुला क्षेत्रहरूमा निरन्तर रूपमा आकस्मिक हिममण्डलका घटनाहरू अवलोकन गरिएका छन्।

चीनले तीनवटा हिमनदीको सूचीकरण (इन्भेन्ट्री) सम्पन्न गरेको छ: पहिलो सन् १९७८-२००२, दोस्रो सन् २००८-२०१५ र तेस्रो सन् २०२३-२०२६ सम्म। विस्तृत मूल्याङ्कनले विगत ६० वर्षमा छिङहाइ-सिजाङ पठारमा हिमनदीको क्षेत्रफल ५१ हजार वर्ग किलोमिटरबाट घटेर ४४ हजार वर्ग किलोमिटर र त्यसपछि ३९ हजार वर्ग किलोमिटरमा झरेको देखाएको छ। छिङहाइ-सिजाङ पठारको दोस्रो विस्तृत वैज्ञानिक अभियानअनुसार, सन् १९९० देखि २०२० सम्ममा पठारमा रहेका हिमतालहरूको सङ्ख्या र क्षेत्रफल दुवै २० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ।

  • बढ्दो तापक्रमले हिमनदी र पहाडका भिरालो भागलाई स्थिर राख्ने भौतिक अवस्थाहरूलाई कसरी परिवर्तन गर्छ ? के हामी यो विशिष्ट घटनालाई प्रत्यक्ष रूपमा जलवायु परिवर्तनले नै निम्त्याएको हो भन्न नसके पनि जलवायु परिवर्तनले हिमनदी भत्किने जोखिम बढाउँछ भन्न सक्छौँ ?

मा लिज्वान: तापक्रम, वर्षा र भौगोलिक बनावट हिमनदी निर्माण र विकासका लागि तीन आवश्यक सर्तहरू हुन्। सन् १९६० को दशकयता छिङहाइ-सिजाङ पठार र वरपरका क्षेत्रहरू उल्लेख्य रूपमा तातिएका छन् र सोही अवधिको विश्वव्यापी औसतभन्दा यहाँको तापक्रम वृद्धिको दर स्पष्ट रूपमा बढी छ। उच्च तापक्रमका घटनाहरू धेरै हुन थालेका छन् भने वार्षिक वर्षा पनि उतारचढावका साथ बढेको छ र चरम मौसमी अवस्थाहरू थपिएका छन्। जलवायुको तापक्रम वृद्धिले हिमनदी पग्लिने गति बढाएको छ, हिमनदीको चाल बढाएको छ र तिनको आन्तरिक संरचनाको स्थिरता घटाएको छ, जसले हिमनदी बढ्ने र हिमपहिरो जाने गतिशील अवस्थाहरू सिर्जना गरेको छ।

यसैबिच, हिमनदी पग्लिएर बनेको पानीले हिमतालहरूको सङ्ख्या बढाउनुका साथै तिनको क्षेत्रफल द्रुत रूपमा विस्तार गरेको छ। चरम तापक्रम, चरम वर्षा र खुकुलो भौगर्भिक अवस्थासँगै यसले हिमताल फुट्ने विपद्का घटनाहरू बढाउन योगदान पुर्‍याएको छ।

अहिलेसम्मका अनुसन्धानबाट प्राप्त जानकारीका आधारमा, (भदौ १० को) घटना पहिलोपटक बरफ र चट्टानको हिमपहिरोले सुरु गरेको थियो। उक्त स्थल मध्य हिमालयको दक्षिणी भिरालो भागमा रहेको समुद्री हिमनदीहरूको क्षेत्रमा अवस्थित छ।

जलवायु तापक्रम वृद्धिको दीर्घकालीन प्रभावका कारण हिमनदीको बरफको तापक्रम बढेको छ र हिमनदीको बहाव तीव्र भएको छ। साथै, हिमनदीहरूको आन्तरिक संरचना बिस्तारै कम स्थिर हुँदै गएको छ र पहाडका भिरालो भागहरू झन्-झन् चिरिँदै गएका छन्।

जलवायु परिवर्तन हिमनदी पग्लिनुका लागि एक महत्त्वपूर्ण दीर्घकालीन जोखिम कारक हो। यस घटनाको प्रत्यक्ष कारण हिमनदीको अस्थिरताले निम्त्याएको भौगर्भिक वातावरणीय परिवर्तनहरू थिए।

  • कुनै हिमनदी वा बरफको ढिस्को कहिले भत्कन सक्छ भनेर हामी भविष्यवाणी गर्न सक्छौँ? ठुलो हिमपहिरो वा विपद् हुनुअघि वैज्ञानिकहरूले कस्ता सङ्केतहरू खोज्नुपर्छ?

चाङ तोङछी: पर्याप्त अनुगमन उपकरणहरू जडान गरिएका छन् र तथ्याङ्कलाई समयमै विश्लेषण गर्न सकिन्छ भने, कुनै हिमनदी भत्कने सम्भावना छ वा छैन भनेर हामी आधारभूत रूपमा भविष्यवाणी गर्न सक्छौँ, तर भत्कने ठ्याक्कै समय अनुमान गर्न धेरै गाह्रो छ। हाल, हिमनदीहरू प्रायः दुर्गम, उच्च हिमाली क्षेत्रहरूमा अवस्थित छन् जहाँ अनुगमन अपर्याप्त छ, जसले गर्दा हिमपहिरोको भविष्यवाणी गर्न अत्यन्तै कठिन हुन्छ।

भौगर्भिक र मौसमी कारकहरूसहित विभिन्न पक्षहरूका सङ्केतहरू अनुगमन गर्न आवश्यक छ, जस्तै: हिमनदी रहेको क्षेत्रमा भूकम्प गएको छ वा छैन, हालै लगातार वा तीव्र रूपमा तापक्रम बढेको छ वा छैन, र लामो समयसम्म वा अत्यधिक वर्षा भएको छ वा छैन भनेर हेर्नुपर्छ। यसबाहेक, अनुगमनको अवस्थाले साथ दिएको खण्डमा हिमनदीभित्रको दबाब र डिफर्मेसनजस्ता सङ्केतहरूमा विशेष ध्यान दिनुपर्छ।

मा लिज्वान : पहाडी हिमनदीहरू चिसो, उच्च उचाइ भएका क्षेत्रहरूमा फैलिएका छन्, जहाँ नियमित रूपमा व्यवस्थित स्थलगत अवलोकन गर्न कठिन हुन्छ, जसको परिणामस्वरूप प्रत्यक्ष अवलोकनका तथ्याङ्कहरू तुलनात्मक रूपमा सीमित छन्। उन्नत अवलोकन प्रविधिहरूको निरन्तर विकासले नियमित अनुगमनका लागि नयाँ अवसरहरू सिर्जना गरिरहेको छ।

यद्यपि, एक व्यापक पूर्वसूचना प्रणाली स्थापना गर्नु अझै पनि दीर्घकालीन चुनौतीकै रूपमा रहेको छ। छिङहाइ-सिजाङ पठारको जटिल भौगोलिक बनावट र विशिष्ट हिमनदी विपद्का विशेषताहरूलाई मध्यनजर गर्दै, उच्च जोखिममा रहेका हिमनदी र हिमताल क्षेत्रहरूको गतिशील अनुगमनलाई सुदृढ पार्ने कुरामा केन्द्रित भई समन्वयात्मक पृथ्वी प्रणाली अवलोकन सञ्जाल निर्माण गर्न आवश्यक छ। साथै, विशिष्ट हिमनदी विपद्का कारणहरूबारे अनुसन्धानलाई गहिरो बनाउनुपर्छ, एक व्यापक पूर्वसूचना सूचक प्रणाली स्थापना गरिनुपर्छ, र भविष्यका प्रवृत्तिहरूको मूल्याङ्कन र अनुमान गरिनुपर्छ, जसले गर्दा उच्च हिमाली हिमनदीहरूमा हुने परिवर्तनले निम्त्याउने प्रभाव र विपद् जोखिमहरूलाई वैज्ञानिक रूपमा रोक्न र सक्रियताका साथ प्रतिक्रिया जनाउन सकियोस्।

हालैका विपद्का घटनाहरूले हिमनदी विपद्हरू प्रायः भूकम्पले पहाडका भिरालो भागहरू खुकुलो बनाउने, हिमनदी खुम्चिने, पर्माफ्रोस्ट पग्लिने, चिरिएका भौगर्भिक अवस्थाहरू, लामो समयसम्मको गर्मी वा वर्षा, र चरम मौसमी तथा जलवायु अवस्थाहरूजस्ता अन्तरसम्बन्धित कारकहरूको जटिल शृङ्खलाबाट उत्पन्न हुने तथ्य देखाउँछन्।

यी कारकहरू लामो समयसम्म एकअर्कासँग जोडिएर बृहत् स्तरका शृङ्खलाबद्ध विपद्हरू निम्त्याउन सक्छन्। यी सबै कारकहरूलाई प्रभावकारी अनुगमन र पूर्वसूचना प्रणालीमा नियमित अनुगमनका लागि समावेश गरिनुपर्छ।

  • भूउपग्रह र अन्य अनुगमन प्रविधिहरूले हामीलाई अस्थिर हिमनदी वा पहाडको भिरालो भागको बारेमा के जानकारी दिन सक्छन् ? एउटा प्रभावकारी अनुगमन प्रणालीले तल्लो तटीय क्षेत्रका समुदायहरूलाई विपद्अघि कति समयको पूर्वसूचना दिन सक्छ ?

चाङ तोङछी: विपद् आउनुअघि रिमोट सेन्सिङ र स्थलगत अनुगमनजस्ता प्रविधिहरूले कुनै हिमनदी सम्भावित रूपमा अस्थिर छ वा छैन र यसले कति हदसम्म जोखिम निम्त्याउन सक्छ भन्ने जानकारी दिन सक्छन्। विपद् आएपछि, यी प्रविधिहरूले यसको स्थान, फैलावट र प्रभावको बारेमा जानकारी प्रदान गर्न सक्छन्।

विपद्का विभिन्न प्रकारहरूका आधारमा पूर्वसूचना दिने समय पनि निकै फरक हुन्छ। जब अनुगमन प्रणाली पूर्ण रूपमा सञ्चालित र प्रभावकारी रूपमा काम गरिरहेको हुन्छ, हिमताल फुट्ने घटनाको पूर्वसूचना केही दिनअघि नै दिन सकिन्छ। तर बरफको हिमपहिरो र हिउँको पहिरोको लागि पूर्वसूचना दिन अत्यन्तै गाह्रो हुन्छ र यसको समय धेरै छोटो, सम्भवतः केही मिनेट मात्र पनि हुन सक्छ।

  • हाम्रो वर्तमान पूर्वसूचना प्रणालीहरूमा रहेका सबैभन्दा ठुला कमजोरीहरू के हुन्?

चाङ तोङछी: अपर्याप्त अनुगमन नै हाल हिमनदी विपद्का लागि पूर्वसूचना प्रणालीको सबैभन्दा ठुलो कमजोरी हो। यसमा सीमित अनुगमन पहुँच (जसले सबै उच्च जोखिममा रहेका हिमनदीहरूलाई समेट्न सक्दैन) र स्थलगत अनुगमन तथ्याङ्कको अभावमा मुख्य रूपमा भूउपग्रह रिमोट सेन्सिङ तथ्याङ्कमा निर्भर रहने सीमित अनुगमन विधिहरू पर्छन्।

विपद्को द्रुत पहिचान र सटिक मूल्याङ्कन सुधार गर्न तथा पूर्वसूचनाका लागि ठोस सहयोग प्रदान गर्न बहुस्तरीय ‘हावा-अन्तरिक्ष-जमिन’ समेट्ने त्रि-आयामिक (थ्री-डाइमेन्सनल) अवलोकन र सेन्सिङ प्रणाली विकास गर्न सिफारिस गरिन्छ।

मा लिज्वान: संयुक्त राष्ट्रसङ्घको ‘सबैका लागि पूर्वसूचना’ पहलले पूर्वसूचना प्रणालीका चार प्रमुख तत्त्वहरू पहिचान गरेको छ: विपद् जोखिमको ज्ञान, अनुगमन र पूर्वानुमान, चेतावनीको प्रसार तथा सञ्चार, र पूर्वतयारी तथा प्रतिकार्य। हिमनदीसँग सम्बन्धित जोखिमहरूका लागि यी चारवटै क्षेत्रहरू अझै अविकसित अवस्थामा रहेकाले एक एकीकृत अनुगमन र पूर्वानुमान प्रणाली स्थापना गर्नु नितान्त आवश्यक छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस