
रमेश कुमार यादब
भदौं १८, रौतहट
रौतहट । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पु¥याएपछि विपद्मा परेका नागरिकको सहयोगका लागि देश–विदेशबाट सहयोगका हातहरू अघि बढिरहेका छन्। दुःख र पीडाको यो घडीमा पीडित परिवारलाई राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने उद्देश्यले विभिन्न व्यक्ति, संस्था, राजनीतिक दल, स्थानीय तह, उद्योगी–व्यवसायी, शिक्षक, चिकित्सक तथा सर्वसाधारणले आ–आफ्नो क्षमताअनुसार सहयोग गरिरहेका छन् ।
यही क्रममा रौतहटको बृन्दावन नगरपालिका अन्तर्गत नेपाली कांग्रेस नगर कार्यसमितिले पनि मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै विपद् प्रभावित नागरिकका लागि आर्थिक सहयोग जुटाएको छ। नगर कार्यसमितिको पहलमा सङ्कलन गरिएको रु. १ लाख ४ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको बृन्दावन नगरपालिकाका पूर्व नगर प्रमुख तथा नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति रामस्नेही यादवले
जानकारी दिनुभएको छ ।
पूर्व नगर प्रमुख यादवका अनुसार विपद्को समयमा पीडितको साथमा उभिनु मानवताको सबैभन्दा ठूलो धर्म हो। आफूहरू जुनसुकै स्थानमा रहे पनि विपद्मा परेका नागरिकको दुःखलाई साझा दुःखका रूपमा लिएर सहयोग गर्नु आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामी जुन ठाउँमा भए पनि सबैभन्दा पहिला मानव हौँ। आपत्–विपत् परेको बेला एक–अर्कालाई सहयोग गर्नु नै मानवको ठूलो धर्म हो। यही भावनाका साथ हामीले कार्यसमितिमा छलफल गरी सहयोग रकम सङ्कलन गर्ने निर्णय गरेका हौँ । कार्यसमितिसँगै केही व्यक्तिहरूले पनि आ–आफ्नो तर्फबाट सहयोग गर्नुभएको छ।

यसरी सङ्कलन भएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको हो।” भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीका
कारण रसुवा, नुवाकोट, धादिङ लगायतका विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढी र पहिरोका कारण कतिपय परिवार विस्थापित भएका छन् भने सडक, पुल, घर, व्यवसाय तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। प्राकृतिक विपद्का कारण कतिपय परिवारले आफन्त गुमाएका छन् भने धेरै नागरिक अझै पनि आफ्नो परिवार तथा आफन्तको अवस्थाबारे चिन्तित छन्। विपद्को यस्तो कठिन अवस्थामा राहत, उद्धार र पुनस्र्थापनाका लागि राज्यका विभिन्न निकायसँगै
राजनीतिक दल, सामाजिक संस्था, निजी क्षेत्र तथा आम नागरिकको भूमिका महत्वपूर्ण हुने गर्दछ।
बृन्दावन नेपाली कांग्रेस नगर कार्यसमितिले राहत कोषमा गरेको आर्थिक सहयोगले विपद्मा परेका नागरिकप्रति स्थानीय तहबाट समेत ऐक्यबद्धता र मानवीय संवेदना प्रकट गरेको देखिन्छ। सहयोग रकम हस्तान्तरण गर्दै यादवले विपद् कुनै व्यक्ति, परिवार, समुदाय वा क्षेत्र विशेषको मात्र समस्या नभएको बताउँदै यस्तो समयमा सबै पक्ष एकजुट भएर पीडितको साथमा उभिनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार सानो–ठूलो जस्तोसुकै सहयोग भए पनि विपद्मा परेका नागरिकका लागि त्यसको महत्व ठूलो हुन्छ। उहाँले देशका विभिन्न भागमा प्राकृतिक विपद्का कारण पीडित बनेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनस्र्थापनाका कार्यक्रमलाई प्रभावकारी बनाउन सबै पक्षले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो।
बृन्दावन नेपाली कांग्रेस नगर कार्यसमितिले गरेको यस सहयोगलाई स्थानीय स्तरमा मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र विपद्का बेला पीडितप्रति ऐक्यबद्धता जनाउने सकारात्मक पहलका रूपमा लिइएको छ । राजनीतिक गतिविधिसँगै सामाजिक तथा मानवीय कार्यमा पनि राजनीतिक संगठनहरू सक्रिय हुनुपर्ने सन्देशसमेत यस सहयोगले दिएको छ ।
यसैबीच, विनाशकारी बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। शोकसन्तप्त परिवारजनप्रति
गहिरो समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र उद्धार, उपचार र पुनस्र्थापनाका लागि सम्बन्धित निकायसँग आग्रह गरिएको छ। साथै, पीडित परिवारले भोगिरहेको दुःख र अपूरणीय क्षतिलाई सामना गर्ने शक्ति भगवान् पशुपतिनाथले प्रदान गरून् भन्ने कामनासमेत गरिएको छ।
