रमेश कुमार यादब
जेठ १०, रौतहट
डिभिजन वन कार्यालय रौतहटका डिभिजनल वन अधिकृत हेमन्त प्रसाद साहले रौतहट जिल्लाको वन अवस्था देशका अन्य जिल्लाको तुलनामा राम्रो रहेको दाबी गर्नुभएको छ । बाघ संरक्षण तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण सम्बन्धी विषयमा स्थानीय सञ्चारमाध्यमलाई सचेत र जिम्मेवार बनाउने उद्देश्यले आइतबार आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । डिभिजन वन कार्यालय रौतहटको आयोजना तथा वन कार्यालयकै सभाहलमा सम्पन्न कार्यक्रममा बोल्दै अधिकृत साहले रौतहटका वन क्षेत्रमा पछिल्लो समय संरक्षणको अवस्था सुधार हुँदै गएको जानकारी दिनुभयो ।
उहाँले वन क्षेत्रमा हुने तस्करी, अवैध रुख कटान तथा वन अतिक्रमण नियन्त्रणका लागि कडा निगरानी बढाइएको समेत बताउनुभयो । उहाँका अनुसार गत वर्ष केही स्थानमा बाघको आक्रमणबाट मानिसको मृत्यु तथा घाइते भएका घटनाहरू सार्वजनिक भए पनि ती घटनाहरू बस्तीभित्र नभई वन क्षेत्रमा भएको स्पष्ट पार्नुभयो । “हालसम्म बाघले मानिसको घरमै पुगेर आक्रमण गरेको घटना छैन,” अधिकृत साहले भन्नुभयो, “वन क्षेत्रमा विशेषगरी साँझपख घाँस दाउरा गर्न जाने क्रममा अचानक बाघसँग आमनेसामने हुँदा आक्रमण हुने गरेका छन् ।”
कार्यक्रममा उहाँले नेपालमा हाल करिब ३ सय ५५ वटा बाघ रहेको जानकारी दिनुभयो । रौतहटमा भने बाघको संख्या तुलनात्मक रूपमा कम रहेको बताउँदै विभिन्न वन क्षेत्रमा बाघको उपस्थितिको संकेत देखिएको उल्लेख गर्नुभयो । उहाँले विश्वका १३ देशमा करिब ३ हजार ९ सयको
हाराहारीमा बाघ रहेको र सन् २०२२ सम्ममा त्यस संख्या ६ हजार पु¥याउने लक्ष्य लिइएको जानकारी पनि दिनुभयो ।
डिभिजनल वन अधिकृत साहले पाटे बाघको शारीरिक बनावट, स्वभाव, आहारा, बासस्थान तथा आक्रमण गर्ने शैलीबारे विस्तृत जानकारी दिनुभयो । उहाँका अनुसार बाघ सामान्यतया मानिसबाट टाढा बस्न रुचाउने जनावर हो । तर आफ्नो सुरक्षा वा बच्चाको सुरक्षामा
खतरा महसुस भएमा उसले आक्रमण गर्न सक्ने बताउनुभयो । उहाँले रौतहटका विभिन्न वन क्षेत्रमा बाघको बसोबास रहँदै आएको जानकारी दिनुभयो ।
लमाहा नदी आसपासको वन क्षेत्र, धन्सारको जंगल, हातेमालो सामुदायिक वन उपभोक्ता समूह, रंगपुर साझेदारी वनको सतियारी वनक्षेत्र, गैडाटार, बागमतीको जुडिबेला तथा पौराई क्षेत्र, रामलाल वृन्दावन साझेदारी वनको तोरीबारी वनक्षेत्र तथा फतुवा विजयपुरस्थित नमस्ते सामुदायिक वन क्षेत्रमा बाघ देखिने गरेको उहाँले बताउनुभयो । बाघले मुख्य रूपमा जरायो, चित्तल, बँदेल, बाह्रसिंगा लगायतका जंगली जनावरलाई आहाराका रूपमा प्रयोग गर्ने जानकारी दिँदै उहाँले वन क्षेत्रमा जैविक विविधता कायम रहनु बाघ संरक्षणका लागि अत्यन्त आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा रौतहट जिल्लाको कुल १ लाख ३ हजार ८ सय ५६ हेक्टर भू–भागमध्ये करिब ३० हजार १ सय ७७ हेक्टर क्षेत्र वनले ओगटेको तथ्यांक समेत प्रस्तुत गरिएको थियो । अधिकृत साहले रौतहटमा बाघको यकिन संख्या हालसम्म पुष्टि हुन नसकेको बताउँदै जुन क्षेत्रमा बाघको गतिविधि बढी देखिन्छ, ती क्षेत्रमा वनको घनत्व र हरियाली पनि राम्रो रहेको उल्लेख गर्नुभयो ।
उहाँले आफू कार्यालयमा आएपछि वन संरक्षणलाई प्राथमिकतामा राखेर अवैध गतिविधिविरुद्ध विशेष अभियान सञ्चालन गरिएको दाबी गर्नुभयो । वन क्षेत्रमा तस्कर तथा अवैध रुख कटान नियन्त्रणका लागि निगरानी बढाइएको र स्थानीय समुदायसँगको सहकार्यमा संरक्षण अभियानलाई प्रभावकारी बनाइएको उहाँको भनाइ थियो ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई मानव–वन्यजन्तु द्वन्द्वसम्बन्धी समाचार सम्प्रेषण गर्दा तथ्यपरक, जिम्मेवार तथा जनचेतनामूलक सामग्री प्रस्तुत गर्न आग्रह गरिएको थियो । वन्यजन्तु संरक्षण र मानव सुरक्षालाई सन्तुलित रूपमा अगाडि बढाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने वक्ताहरूले बताएका थिए ।
