
सल्यान, २८ जेठ। फोहोर व्यवस्थापनका लागि कतै जग्गाको अभाव छ, कतै स्रोत-साधनको । बजार क्षेत्रहरू दिनप्रतिदिन फोहोरको चापमा छन्।
अधिकांश साना तथा ठूला बजारमा सेफ्टी ट्यांकी भरिएपछि मानव मलमूत्रको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। कतिपय स्थानमा मानव मलमूत्र खुला स्थानमा फालिने अवस्था रहेको छ, जसले वातावरणीय तथा जनस्वास्थ्य जोखिम बढाइरहेको छ ।
यही चुनौतीलाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सल्यानका सात स्थानीय तहले समावेशी सरसफाइ अवधारणाअन्तर्गत साझा पहल सुरु गरेका छन् । शारदा नगरपालिकाको नेतृत्वमा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूले पहिलो पटक एउटै मञ्चमा बसेर फोहोर तथा मानव मलमूत्र व्यवस्थापनका लागि संयुक्त योजना बनाउने सहमति गरेका हुन् ।
शारदा नगरपालिकामा सम्पन्न बैठकले डम्पिङ साइट व्यवस्थापनदेखि मानव मलमूत्र प्रशोधन केन्द्र स्थापना, फोहोरलाई रोजगारी र आम्दानीसँग जोड्ने सम्भावना खोज्ने तथा स्रोत–साधनको साझेदारी गर्दै दीर्घकालीन समाधान खोज्ने विषयमा लिखित सहमति गरेको छ।
सहमतिअनुसार सहभागी स्थानीय तहहरूले आगामी नीति, कार्यक्रम तथा बजेटमा आवश्यक स्रोत सुनिश्चित गर्नेछन्। त्यसपछि संयुक्त रूपमा विस्तृत योजना निर्माण गरी कार्यान्वयनको प्रक्रिया अघि बढाइनेछ।
शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले समावेशी सरसफाइ केवल फोहोर उठाउने विषय नभई मानव मलमूत्र व्यवस्थापन, वातावरण संरक्षण, सार्वजनिक स्वास्थ्य र स्थानीय अर्थतन्त्रसँग जोडिएको विषय भएको बताए ।
उनका अनुसार शारदा नगरपालिकाले समावेशी सरसफाइको क्षेत्रमा काम गरिरहेको भए पनि अन्य स्थानीय तहहरूले पनि आ–आफ्नो ढंगले सरसफाइ व्यवस्थापनका प्रयास गरिरहेका छन् ।तर, कसैसँग उपयुक्त जग्गा छैन भने कसैसँग पर्याप्त स्रोत–साधन छैन। यही कारण साझा स्रोत र पूर्वाधारमार्फत कसरी समाधान खोज्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित भएको उनले बताए।
बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतमले स्थानीय तहहरूले पहिलो पटक फोहोर व्यवस्थापन र समावेशी सरसफाइका सवालमा सामूहिक समाधान खोज्ने गरी छलफल गरेको उल्लेख गर्दै यसलाई अत्यन्त सकारात्मक सुरुआतका रूपमा लिएको बताए । ‘यदि हामीले साझेदारीमा काम गर्न सक्यौं भने यो सल्यानका लागि मात्र होइन, देशभरिका स्थानीय तहका लागि पनि नमूना अभ्यास बन्न सक्छ’, उनले भने ।
त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले पनि यो छलफलले नयाँ सोचको ढोका खोलेको बताए । उनका अनुसार विकास निर्माणका अन्य विषयमा पनि स्थानीय तहहरूबीच सहकार्य हुने गरेको भए पनि मानव मलमूत्र व्यवस्थापन, घरधुरीबाट निस्किने फोहोर र प्लास्टिकजन्य फोहोरको सामूहिक समाधान खोज्ने प्रयास पहिलो पटक भएको हो ।
‘हामीले सोचेका पनि थिएनौं कि यस्तो विषयमा एकै ठाउँमा बसेर साझा समाधान खोज्न सकिन्छ। अहिले हरेक पालिकाको टाउको दुखाइ बनेको फोहोर र मानव मलमूत्र व्यवस्थापनमा सहकार्यको सम्भावना देखिएको छ’, उनले भने।
सल्यानका स्थानीय तहहरूले थालेको यो पहल विशेष महत्वको मानिएको छ। किनभने अधिकांश स्थानीय तह एक्लाएक्लै फोहोर व्यवस्थापन गर्न संघर्ष गरिरहेका छन् ।
धेरै पालिकाका बजार क्षेत्रमा फोहोर थुप्रिने समस्या बढ्दो छ भने सेफ्टी ट्यांकीबाट निस्किने लेदो (फिकल स्लज) को सुरक्षित व्यवस्थापन गर्ने पूर्वाधार प्रायः छैन। यसले वातावरण प्रदूषणसँगै जनस्वास्थ्यमा गम्भीर जोखिम निम्त्याइरहेको छ ।
विशेषज्ञहरूका अनुसार फोहोर व्यवस्थापन र मानव मलमूत्र व्यवस्थापनलाई छुट्टाछुट्टै नभई समग्र सरसफाइ प्रणालीको रूपमा हेर्नुपर्ने आवश्यकता छ। सल्यानका स्थानीय तहहरूले थालेको सहकार्य त्यही दिशातर्फको महत्वपूर्ण कदम मानिएको छ ।
बैंठकमा शारदा नगरपालिका, बागचौर नगरपालिका, वनगाड कुपिण्डे नगरपालिका, त्रिवेणी गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, सिद्धकुमाख गाउँपालिका र को सहभागिता रहेको थियो ।
स्थानीय तहका प्रमुखहरूले यो पहल सफल भएमा फोहोरलाई समस्या होइन, स्रोतका रूपमा रूपान्तरण गर्न सकिने छ। उनीहरूका अनुसार कम्पोस्ट मल उत्पादन, पुनःप्रयोग र पुनर्चक्रण तथा मानव मलमूत्र प्रशोधनमार्फत रोजगारी र आय सिर्जनासमेत सम्भव छ।
सल्यानबाट सुरु भएको यो साझा अभियानले स्थानीय तहहरूबीचको सहकार्यलाई नयाँ आयाम दिएको छ। फोहोर र मानव मलमूत्र व्यवस्थापनजस्तो जटिल विषयमा सामूहिक समाधान खोज्ने प्रयासले देशभरका स्थानीय तहलाई समेत नयाँ सन्देश दिएको छ सरसफाइको समस्या एक्लैले होइन, सहकार्यबाट समाधान गर्न सकिन्छ ।
