रमेश कुमार यादब
भदौं १०, रौतहट
रौतहटको बृन्दावन नगरपालिका–१ बैराठपुरमा गत शुक्रबार भएको सामान्य झैँ–झगडालाई जातीय विवादको रूप दिएर आफूहरूलाई फसाउन खोजिएको आरोप लगाउँदै हरिचन्द्र पटेल सहितका स्थानीयले आपत्ति जनाएका छन्। उनीहरूले घटनालाई अतिरञ्जित नगरी निष्पक्ष रूपमा छानबिन गरी वास्तविक दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । भदौ ५ गते शुक्रबार साँझ दुई पक्षबीच भएको विवादलाई लिएर आफूहरूमाथि जातीय भेदभाव तथा ज्यान मार्ने प्रयास समेत गरेको आरोप लगाइएको भन्दै हरिचन्द्र पटेलले ती आरोपको खण्डन गरेका छन् ।
पटेलले आफू र आफ्ना साथीमाथि लगाइएका आरोप झुटा, भ्रामक र तथ्यहीन रहेको दाबी गरेका छन्। पटेलका अनुसार शुक्रबार साँझ आफू र एक जना साथी बजारबाट घरतर्फ फर्किने क्रममा नन्दलाल रामको किराना पसल अगाडि पुगेका थिए। उनका एक साथी पसलमा चुरोट किन्न गएको र आफू भने कालोपत्रे सडकमा उभिएर साथीलाई बोलाइरहेको अवस्थामा पसल सञ्चालक नन्दलाल रामले आफूलाई ‘गिलास चोर’ भन्दै गालीगलौज गरेको पटेलको भनाइ छ।आफूले साथीले कुरा नसुनेका कारण पटक–पटक बोलाएको मात्र र रामलाई अपशब्द प्रयोग नगर्न तथा मुख सम्हालेर बोल्न आग्रह गरेको पटेलले बताए।
तर, त्यसपछि रामले पसलको काउन्टरबाट हाम फालेर आफूलाई हात मुक्का प्रहार गर्दै कुटपिट गर्न थालेको उनले आरोप लगाए। पटेलले रामले आफू वैदेशिकरोजगारीबाट धेरै पैसा कमाएर आएको भन्दै आफूहरूलाई धम्कीसमेत दिएको आरोप लगाए। त्यसपछि रामको घरमा रहेका महिला तथा पुरुषहरू समेत घटनास्थलमा आएर लाठी, फलामको रड, कोदालो, भाला लगायतका सामग्री प्रयोग गरी आफूलाई कुटपिट गरेको पटेलको दाबी छ। घटनापछि आफूलाई नै दोषी देखाउने गरी जातीय नारासहित विभिन्न आरोप लगाइएको भन्दै पटेलले आपत्ति जनाएका छन्। उनले जातीय पहिचानलाई आधार बनाएर कुनै पनि घटनामा एक पक्षलाई स्वतः पीडित र अर्कोलाई दोषी ठहर गर्नु उचित नहुने बताए।

“घटनाको वास्तविकता के हो भन्ने कुरा निष्पक्ष रूपमा छानबिन हुनुपर्छ। जातीय आवरणमा कसैलाई फसाउने वा बदनाम गर्ने काम हुनु हुँदैन,” पटेलले पत्रकार सम्मेलनमार्फत बताएका छन्। उनले प्रहरी प्रशासन तथा सम्बन्धित निकायलाई घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही गर्न आग्रह गरेका छन्। यसै घटनाका सम्बन्धमा रामबाबु पटेलले आफू घटना भएको समयमा घटनास्थलमा नरहेको दाबी गरेका छन् । उनका अनुसार नन्दलाल राम र हरिचन्द्र पटेलबीच राति विवाद भएको जानकारी आफूले भोलिपल्ट बिहान मात्र पाएका थिए । रामबाबुका अनुसार आफू बिहान स्थानीय प्रतिक्षालयतर्फ गएको बेला घटनाबारे जानकारी पाएपछि घटनास्थलमा पुगेका थिए ।
त्यहाँ हरिचन्द्र पटेललाई नन्दलाल रामको घरतर्फबाट आएका महिला तथा पुरुषहरूले पुनः कुटपिट गरिरहेको देखेपछि स्थानीयहरू मिलेर उनलाई छुटाएको उनको दाबी छ। उनले पनि घटनालाई जातीय विवादको रूप दिएर समाजमा विभाजन ल्याउने प्रयास नगर्न आग्रह गरेका छन्। विवादमा संलग्न सबै पक्षको बयान, घटनास्थलको अवस्था तथा उपलब्ध प्रमाणका आधारमा निष्पक्ष अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै, घटनामा मुछिएका अर्का व्यक्ति भोला पटेलले आफू गरिब तथा दलित परिवारको व्यक्ति भएकै कारण आफूहरूमाथि कुटपिट गरिएको भन्ने नन्दलाल रामको आरोप निराधार रहेको दाबी गरेका छन्। उनले बैराठपुरमा विभिन्न समुदायका मानिसहरू लामो समयदेखि मिलेर बस्दै आएको उल्लेख गर्दै घटनालाई जातीय रंग दिनु उपयुक्त नभएको बताए।

भोला पटेलले नन्दलाल राम वैदेशिक रोजगारीबाट केही रकम कमाएर फर्किएपछि त्यसको प्रभाव देखाउँदै स्थानीयसँग विवाद गर्ने गरेको आरोप समेत लगाए। उनले
रामको किराना पसलमा मदिरा बिक्री तथा घरमा समेत मदिरा सेवन गराउने गरेको भन्ने आरोप लगाउँदै त्यसबारे सम्बन्धित निकायबाट आवश्यक अनुसन्धान हुनुपर्ने माग गरे।यद्यपि, यी आरोपहरूको स्वतन्त्र पुष्टि हुन बाँकी छ। घटनामा संलग्न दुवै पक्षले एक–अर्कामाथि आरोप लगाएका कारण वास्तविक अवस्था प्रहरी अनुसन्धान तथा उपलब्ध प्रमाणबाट स्पष्ट हुने देखिन्छ। स्थानीयवासीले पनि सामान्य विवादलाई जातीय द्वन्द्वको रूप नदिई घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।
उनीहरूले जातीय संवेदनशील विषयमा प्रमाणबिना आरोप–प्रत्यारोप गर्दा सामाजिक सद्भावमा असर पर्न सक्ने भन्दै सम्बन्धित निकायलाई संयमित रूपमा अनुसन्धान अघि बढाउन आग्रह गरेका छन् । घटनाका सम्बन्धमा दुवै पक्षबाट फरक–फरक दाबी सार्वजनिक भएपछि बैराठपुरमा भएको विवादको वास्तविक कारण, कुटपिटमा को–को संलग्न थिए तथा जातीय भेदभावसम्बन्धी आरोपमा तथ्य के हो भन्ने विषयमा निष्पक्ष अनुसन्धान आवश्यक देखिएको छ। पीडित वा आरोपित जुनसुकै समुदायका भए पनि प्रमाणका आधारमा दोषी ठहर हुने गरी कानुनी प्रक्रिया अघि बढाउनुपर्ने माग स्थानीयस्तरबाट उठेको छ ।
पीडित भएको दाबी गर्ने जुनसुकै पक्ष भए पनि जात, समुदाय वा अन्य कुनै पहिचानका आधारमा निष्कर्ष निकाल्नुको सट्टा प्रमाणका आधारमा अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउनुपर्ने माग गरिएको छ । घटनापछि बैराठपुरमा सामाजिक सद्भावमा असर नपरोस् भन्दै स्थानीयले समेत संयम अपनाउन र सामान्य विवादलाई जातीय तनावमा परिणत हुन नदिन सम्बन्धित पक्ष तथा सुरक्षा निकायले पहल गर्नुपर्ने बताएका छन्।
