स्याङ्जामा ३ वर्षमा १०९ किशोरीले लिए सुरक्षित गर्भपतन सेवा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन ५, सोमबार (१ घण्टा अघि)
  • ३३ पटक पढिएको
स्याङ्जामा ३ वर्षमा १०९ किशोरीले लिए सुरक्षित गर्भपतन सेवा

स्याङ्जा, ०५ असोज । स्याङ्जामा पछिल्ला तीन आर्थिक वर्षमा २० वर्ष नपुगेका १०९ किशोरीले सुरक्षित गर्भपतन सेवा लिएका छन् । यो अवधिमा जिल्लामा सुरक्षित गर्भपतन सेवा लिने कुल २ हजार ९१० जना थिए । तीमध्ये १०९ जना २० वर्ष मुनिका किशोरीहरु रहेका प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाको तथ्यांक छ ।

कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा २० वर्षमुनिका ३७ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । २०८१/८२ मा यो संख्या बढेर ४२ पुगेको थियो । गत आर्थिक वर्ष २०८२/८३ मा भने घटेर ३० मा झरेको छ ।

किशोरीले सुरक्षित गर्भपतन सेवा लिने संख्या पछिल्लो वर्ष घटे पनि २० वर्ष नपुग्दै गर्भधारण गरी स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिनुपर्ने अवस्था भने जिल्लामा अझै देखिएको छ । यद्यपि उनीहरू कुन परिस्थितिमा गर्भवती भए, विवाह भएको थियो वा थिएन, गर्भधारण इच्छित थियो वा थिएन तथा परिवार नियोजनका साधनको पहुँच कस्तो थियो भन्ने विवरण तथ्यांकबाट मात्रै खुल्दैन ।

कार्यालयका तथ्यांक अधिकृत विनोदप्रसाद भट्ट उपलब्ध तथ्यांकलाई मात्रै आधार बनाएर किशोरीमा हुने गर्भधारणलाई बालविवाहसँग जोडेर निष्कर्ष निकाल्न नमिल्ने बताउँछन् ।

‘गर्भपतन सेवाको तथ्यांकले सेवा लिनेको संख्या देखाउँछ,’ भट्टले भने, ‘यसको पछाडि गर्भधारणको कारण, विवाहको अवस्था, परिवार नियोजनको पहुँच र किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञानजस्ता विषयलाई पनि सँगसँगै हेर्नुपर्छ ।’

उनका अनुसार सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन अनुमति प्राप्त स्वास्थ्य संस्थाबाट तथ्यांक संकलन गरिएको हो ।

औषधिबाटै गर्भपतन गराउने धेरै

तीन वर्षको तथ्यांक हेर्दा २० वर्षमुनिका अधिकांश किशोरीले औषधिबाटै सुरक्षित गर्भपतन सेवा लिएका छन् । आर्थिक वर्ष २०८०/८१ मा सेवा लिने ३७ किशोरीमध्ये ३० जनाले औषधिबाट र सात जनाले शल्यक्रियामार्फत सेवा लिएका थिए ।

२०८१/८२ मा ४२ जनामध्ये २७ जनाले औषधिबाट र १५ जनाले शल्यक्रियामार्फत सेवा लिए ।

गत आर्थिक वर्ष २०८२/८३ मा भने ३० किशोरीमध्ये २८ जनाले औषधिबाट र दुई जनाले शल्यक्रियामार्फत सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

यस अवधिमा २० वर्षभन्दा माथिका २ हजार ८०१ जनाले सेवा लिएका छन् । तीमध्ये पनि अधिकांशले औषधिबाटै सेवा लिएका छन् ।

वालिङमा किशोरीको संख्या बढी

जिल्लाका ११ स्थानीय तहमध्ये तीनै आर्थिक वर्षमा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या वालिङ नगरपालिकामा सबैभन्दा धेरै छ ।

वालिङमा आर्थिक वर्ष २०८०/८१ मा ३२० जनाले सेवा लिएकोमा १२ जना २० वर्षमुनिका थिए । तीमध्ये १० जनाले औषधिबाट र दुई जनाले शल्यक्रियामार्फत सेवा लिएका थिए ।

२०८१/८२ मा वालिङमा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढेर ३९७ पुगेको थियो । त्यसमध्ये २४ जना २० वर्षमुनिका थिए । १० जनाले औषधिबाट र १४ जनाले शल्यक्रियामार्फत सेवा लिएका थिए ।

गत आर्थिक वर्षमा वालिङमा ४०८ जनाले सेवा लिए । तीमध्ये १५ जना २० वर्षमुनिका थिए । १४ जनाले औषधिबाट र एक जनाले शल्यक्रियामार्फत सेवा लिएका थिए ।

वालिङमा तीन वर्षमा मात्रै ५१ जना २० वर्षमुनिका किशोरीले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

पुतलीबजारमा भने घट्दो

पुतलीबजार नगरपालिकामा सुरक्षित गर्भपतन सेवा लिनेको कुल संख्या भने पछिल्ला तीन वर्षमा घटेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा २०३ जनाले सेवा लिएकोमा सात जना २० वर्षमुनिका थिए ।

२०८१/८२ मा सेवा लिनेको संख्या १८८ पुगेको थियो । त्यसमध्ये एक जना २० वर्षमुनिका थिए ।

गत आर्थिक वर्षमा सेवा लिनेको संख्या घटेर १३० पुगेको छ । त्यसमध्ये तीन जना २० वर्षमुनिका छन् ।

अन्य स्थानीय तहमा पनि किशोरी सेवाग्राही

आँधीखोला गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा ३४ जनाले सुरक्षित गर्भपतन सेवा लिएकोमा चार जना २० वर्षमुनिका थिए । त्यसपछिका दुई आर्थिक वर्षमा सेवा लिनेको संख्या क्रमश: १९ र ३९ भए पनि तीमध्ये २० वर्षमुनिका सेवाग्राही देखिएका छैनन् ।

अर्जुनचौपारी गाउँपालिकामा तीन वर्षमा क्रमश: ५६, ६३ र ४३ जनाले सेवा लिएका छन् । तीमध्ये क्रमश: एक, एक र तीन जना २० वर्षमुनिका छन् ।

भीरकोट नगरपालिकामा २०८०/८१ मा ८३ जनामध्ये एक जना, २०८१/८२ मा ७३ जनामध्ये पाँच जना र गत आर्थिक वर्षमा ६१ जनामध्ये दुई जना २० वर्षमुनिका थिए ।

हरिनास गाउँपालिकामा तीन वर्षमा क्रमश: १५५, ५१ र ५१ जनाले सेवा लिएका छन् । तीमध्ये २० वर्षमुनिका किशोरीको संख्या क्रमश: दुई, चार र तीन छ ।

चापाकोट नगरपालिकामा २०८०/८१ मा ९२ जनामध्ये चार जना, २०८१/८२ मा ६१ जनामध्ये पाँच जना र गत वर्ष ८० जनामध्ये तीन जना २० वर्षमुनिका थिए ।

गल्याङ नगरपालिकामा तीन वर्षमा ४५, ५३ र ५४ जनाले सेवा लिएकोमा क्रमश: एक, शून्य र एक जना २० वर्षमुनिका थिए ।

कालीगण्डकी गाउँपालिकामा २०८०/८१ मा ४३ जनामध्ये चार जना र २०८१/८२ मा ४७ जनामध्ये दुई जना २० वर्षमुनिका थिए । गत वर्ष सेवा लिएका ३२ जनामध्ये भने २० वर्षमुनिका कोही थिएनन् ।

बिरुवा गाउँपालिकामा २०८०/८१ मा सात जनाले सेवा लिएकोमा एक जना २० वर्षमुनिका थिए । त्यसपछिका दुई आर्थिक वर्षमा सेवा लिने क्रमश: १३ र सात जनामध्ये २० वर्षमुनिका कोही छैनन् ।

फेदीखोला गाउँपालिकामा २०८०/८१ मा दुई जनाले सेवा लिएका थिए । दुवै २० वर्षभन्दा माथिका थिए । त्यसपछिका दुई आर्थिक वर्षमा फेदीखोलाबाट सुरक्षित गर्भपतन सेवा लिनेको संख्या शून्य छ ।

किशोरीमा गर्भधारण किन भइरहेको छ ?

नेपालको कानुनले विवाहका लागि २० वर्ष उमेर तोकेको छ । तर स्याङ्जामा २० वर्ष नपुग्दै गर्भधारण गरेका किशोरीले सुरक्षित गर्भपतन सेवा लिएको तथ्यांकले किशोरावस्थामा हुने गर्भधारणका कारणबारे थप अध्ययनको आवश्यकता देखाउँछ ।

यद्यपि, सुरक्षित गर्भपतन सेवा लिने किशोरीको तथ्यांकलाई मात्रै आधार बनाएर उनीहरू बालविवाहका कारण गर्भवती भएको निष्कर्ष निकाल्न मिल्दैन ।

तथ्यांक अधिकृत भट्टका अनुसार किशोरीको गर्भधारणका कारण पहिचान गर्न विवाहको अवस्था, परिवार नियोजनका साधनको प्रयोग तथा पहुँच, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी ज्ञान, अनिच्छित गर्भधारण र स्वास्थ्य सेवामा पहुँचलगायत पक्षको अध्ययन आवश्यक हुन्छ ।

‘उपलब्ध तथ्यांकका आधारमा मात्रै निष्कर्ष निकाल्नुभन्दा गर्भधारण कुन परिस्थितिमा भयो, गर्भपतन गर्नुपर्ने अवस्था किन आयो र स्वास्थ्य सेवामा पहुँच कस्तो थियो भन्नेबारे थप अध्ययन आवश्यक छ,’ भट्टले भने ।

कलिलो उमेरको गर्भधारणमा स्वास्थ्य जोखिम

स्वास्थ्यकर्मीहरूका अनुसार किशोरावस्थामा हुने गर्भधारणले आमा र बच्चा दुवैको स्वास्थ्यमा जोखिम बढाउन सक्छ ।

शरीर पूर्ण रूपमा विकसित भइनसकेको अवस्थामा गर्भधारण हुँदा गर्भावस्था र सुत्केरीका क्रममा विभिन्न जटिलता देखिन सक्छन् । कम उमेरमा गर्भधारण तथा प्रसूति हुँदा सुत्केरी हुन कठिनाइ, संक्रमण तथा अन्य स्वास्थ्य समस्या देखिन सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

कम उमेरका आमाबाट जन्मिने बच्चामा कम तौल, समयअघि जन्मिने तथा अन्य स्वास्थ्य जटिलताको जोखिम पनि हुन सक्छ ।

अनिच्छित गर्भधारणपछि समयमै सुरक्षित स्वास्थ्य सेवामा पहुँच नपुग्दा जोखिम अझ बढ्न सक्छ । असुरक्षित रूपमा गर्भपतन गराउने प्रयासले अत्यधिक रक्तस्राव, संक्रमणलगायत गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस