स्यालो ट्युबवेल जडानका लागि रौतहटमा ८७६ किसानको आवेदन, सीमित कोटामा छनोट प्रक्रिया तीव्र

स्यालो ट्युबवेल जडानका लागि रौतहटमा ८७६ किसानको आवेदन, सीमित कोटामा छनोट प्रक्रिया तीव्र

रमेश कुमार यादब
जेठ १९, रौतहट
मधेश प्रदेश सरकारको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सिँचाइ सुविधाको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएको स्यालो ट्युबवेल जडान कार्यक्रमका लागि रौतहटमा किसानहरूको उत्साहजनक सहभागिता देखिएको छ । कृषि ज्ञान केन्द्र रौतहटमा स्यालो ट्युबवेल जडानका लागि ८ सय ७६ जना किसानले आवेदन दर्ता गराएका छन् ।कृषि ज्ञान केन्द्र रौतहटका अनुसार ३ करोड ९८ लाख ४१ हजार रुपैयाँ लागत अनुमान गरिएको उक्त कार्यक्रम अन्तर्गत किसानहरूबाट आवेदन माग गरिएकोमा २२ दिनको अवधिमा ८७६ वटा आवेदन परेको हो । पछिल्लो समय जिल्लामा वर्षा अभावका कारण सिँचाइ संकट गहिरिँदै गएपछि किसानहरू वैकल्पिक सिँचाइ स्रोतको खोजीमा रहेका बेला कार्यक्रमप्रति उल्लेखनीय आकर्षण देखिएको हो ।

कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख सुरेन्द्र प्रसाद कुर्मीले किसानहरूको आवश्यकता र समस्यालाई मध्यनजर गर्दै कार्यक्रम ल्याइएको जानकारी दिए । उनका अनुसार प्रत्येक वर्ष जेठ महिनादेखि असारको अन्तिमसम्म पर्याप्त वर्षा नहुँदा धानको ब्याड सुक्ने, रोपाइँ प्रभावित हुने तथा उत्पादनमा प्रत्यक्ष असर पर्ने समस्या देखिने गरेको छ ।

“किसानलाई सिँचाइमा सहजता प्रदान गर्ने उद्देश्यले स्यालो ट्युबवेल जडान कार्यक्रम सञ्चालन गरिएको हो । करिब चार बिगाहा क्षेत्रफलको अन्तरालमा किसानको खेतमा सिँचाइ सुविधा पुग्ने गरी योजना बनाइएको छ,” प्रमुख कुर्मीले बताए ।उनले कृषि ज्ञान केन्द्रबाट प्रदान गरिने सेवा पूर्ण रूपमा पारदर्शी, निष्पक्ष र नियमसम्मत रहेको उल्लेख गर्दै आवश्यक कागजात पूरा गरेपछि कुनै राजनीतिक दबाब वा सिफारिसबिना सेवाग्राहीले सेवा पाउने स्पष्ट पारे । “हामीले कार्यालयको जिम्मेवारी सम्हालेपछि सेवाग्राहीलाई अनावश्यक दुःख नदिई छिटो, छरितो र सहज सेवा प्रदान गर्दै आएका छौँ,” उनले भने ।

यता कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत तथा सूचना अधिकारी सरोज मण्डलका अनुसार आवेदन संकलन अवधि सकिएसँगै मूल्याङ्कन तथा छनोट प्रक्रिया अगाडि बढाइएको छ । मण्डलका अनुसार हाम्रो कार्यालयले प्रथम पटक १५ दिन र दोस्रो पटक ७ दिन गरी जम्मा २२ दिनको अवधिमा परेको आवेदन अनुसार कार्यालयले माग गरेका सम्पूर्ण आवश्यक कागजात पूरा गरेका आवेदकहरूलाई प्राथमिकतामा राखेर छनोट गरिने उनले जानकारी दिए ।

“स्यालो ट्युबवेल जडानका लागि सात दिनभित्र ८७६ वटा आवेदन प्राप्त भएका छन् । प्राप्त आवेदनमध्ये मापदण्ड पूरा गरेका करिब ५ सय किसानहरूको छनोट गरी बिहीबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ,” सूचना अधिकारी मण्डलले बताए ।
उनका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ मा सीमित बजेट तथा कार्यक्रमको दायराभित्र रहेर छनोट भएका किसानहरूलाई स्यालो ट्युबवेल जडानको सुविधा उपलब्ध गराइनेछ । उनले खडेरी र वर्षा अभावका कारण समस्यामा परेका किसानका लागि यो कार्यक्रम निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

रौतहट सहित मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्लो समय वर्षा न्यून हुँदा धान रोपाइँ प्रभावित हुने चिन्ता बढिरहेको छ । यस्तो अवस्थामा स्यालो ट्युबवेल मार्फत भूमिगत पानी प्रयोग गरी सिँचाइ सुविधा उपलब्ध हुँदा कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने तथा किसानहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

स्थानीय किसानहरूले पनि खडेरीको समयमा सिँचाइको मुख्य विकल्पका रूपमा स्यालो ट्युबवेल उपयोगी हुने भन्दै कार्यक्रमलाई अझ व्यापक बनाउनु पर्ने माग गरेका छन् । आवेदनको संख्या अत्यधिक रहेकाले आगामी वर्षहरूमा बजेट वृद्धि गरी थप किसानलाई समेट्नुपर्ने आवश्यकता देखिएको किसानहरूको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस