रौशन चौधरी । रौतहट । चैत्र ३० गते
शहरी विकास मन्त्री प्रभु साहको गृह नगरपालिका रौतहटको मौलापुर नगरपालिकाको एक विद्यालयमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीवाँसको टोलीले छापा मारेको छ ।
मौलापुर नगरपालिका ६ माध्यमिक विद्यालय पथरा बुधराममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सोमबार छापा मारेको हो ।
अख्तियारको टोलीले छापामारी गर्दै उक्त विद्यालयको आवश्यक कागजातहरु नियन्त्रणमा लिएको छ ।
प्रधानाध्यापक रामएकवाल यादवले विद्यालयको रकम व्यापक घोटाला गरेको भनी सुचना प्राप्त भएपछि अनुसन्धानका लागि अख्तियारको टोलीले छापा मारेको र कागजातहरु नियन्त्रणमा लिएको जानकारी प्राप्त भएको छ ।
विद्यालयको २८ लाख रकम प्रधानाध्यापक रामएकवाल यादवले आफ्नो निजि खातामा जम्मा गरेको आरोप छ ।
त्यस्तै यस विद्यालयको रंग रोगनको लागि लिएको रकमबाट ४० हजार ठेक्दार रुपेश यादवको नाममा बिना जनकारी दिइकन रकम उठाइएको बताइएको छ ।
त्यस्तै महकार पोखराको ठेकेदार नागेन्द्रले दिएको ६ लाख भन्दा बढि रकम हिना मिना गरेको आरोप छ ।
प्रधानाध्यापकले विद्यालयको पुस्तक, छात्रवृति, दिवाखाजा लगाएत शिर्षकमा लाखौ रकम हिनामिना गरेको आरोप लागेपछि अख्तियारको टोलीले अनुसन्धानका लागि विद्यालयको महत्वपुर्ण कागजातहरु नियन्त्रणमा लिएको छ ।
प्रहरी निरिक्षक राजु प्रसाद कुर्मीको नेतृत्वको टोलीले छापा मारेको हो । यसै क्रममा गौर स्थित रहेको शिव शक्ति इम्पोरियाम बाट विना विल भरपाइको कक्षा १ देखि ५ सम्मका छात्र छात्राहरुको लागि विधालय पोशाक ल्याइएको बुझिएको छ । विधालयमा रहेको ५० वटा कमप्यूटर मध्ये अधिकांश विग्रेको अवस्था रहेको पाइएको थियो । बर्दिवाँसको टोलीले ७ , ८ र ९ का छात्रछात्राहरु सँग भेटेर विधालयको समस्याको बारेमा बुझेको थियो । प्रअ यादवले विल र लेखा परिक्षणको बारेमा पहिलाको प्रअले राखेको प्रतिक्रिया दिए । आउँदो बैशाख १५ गते सम्म आवश्यक सबै डकुमेन्टहरु लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासमा पुग्न अल्टिमेटम दिइएको छ ।