सुनसरी घटनाको विरोधमा सिरहा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, प्रधानमन्त्रीको राजीनामा माग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १२, मंगलबार (१ घण्टा अघि)
  • ४३ पटक पढिएको
सुनसरी घटनाको विरोधमा सिरहा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौँ, १२ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वामा प्रदर्शन भएको छ ।

घटनाको निष्पक्ष छानबिनको माग गर्दै स्थानीयहरूले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री बालेन शाहको राजीनामा समेत माग गरेका थिए । सुनसरीमा सरकारले नै युवाको हत्या गरेको आरोप लगाउँदै गोली चलाउनेमाथि कारबाही गर्नुपर्ने, प्रहरी दमन बन्द गर्नुपर्ने माग राखेका छन् ।

यसअघि सोमबार पनि सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा र साँझ करिब ६ बजे गोलबजारको गोलपार्क तथा धनगढीमाई नगरपालिका–८ कसहा चोकमा पनि विरोध प्रदर्शन भएको थियो ।

जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार आन्दोलनकारीले करिब आधा घन्टा सडक अवरुद्ध गराएका थिए । प्रदर्शनकारीसँगको छलफलपछि सडक सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ ।

सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा दुई समूबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीको गोली लागेर देवानगञ्ज–३ कै २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । सोही विषयलाई लिएर सुनसरीलगायत विभिन्न ठाउँमा प्रदर्शन भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस