बैशाख १९ गते
अहिलेको समय भगवान भरोसे बितिरहेको छ । जसलाई जहाँ र जसरी मन लागेको निस्किइरहेको छ । सामान्य अवस्थाको जस्तो जीवन व्यतीत गरिरहेका छौँ । भोजभतेर उस्तै छ, हाटबजार उस्तै छ, चौक र बजारमा भीड उत्तिकै, पसलमा भीड कम भएकै छैन । झन् बिहे र पूजामा मानिसको भीडको कुरा गरेर साध्य नै छैन । यसैमा छेका अर्थात् पुजाइको कामले पनि निकै गति लिएको छ । यी सबै काममा कोरोनाको प्रोटोकल अलिकति पनि अपनाइएको देखिएको छैन । सतर्क हुने फुर्सद नै छैन जस्तो भएको छ अहिले मानिसलाई ।
कोरोनो विस्तारले गत वर्षको सबै रेकर्डलाई तोडिसक्यो । कोरोनाको पहिलो लहरमा एक दिनमा जति संक्रमित थपिएका थिए, त्यसभन्दा बढी अहिलेको दोस्रो लहरमा एकै दिनमा संक्रमितको संख्या नाघेको छ । कोरोनाको संक्रमणले यति विकराल रुप धारण गर्दा पनि सर्वसाधारणमा चेतना किन नआएको होला रु जो सर्वसाधारण छन् तिनले सिक्ने भनेको समाजका अगुवा व्यक्तित्वसित हो । समाजका अग्रणी मानिसहरुमा नै सचेतना छैन भने सर्वसाधारणमा यसैको सिको वा लापरवाही सर्ने गर्दछ । अहिले भएको यही हो ।
अहिले कोरानाको विस्तार तीव्र गतिमा भइरहेको छ । हरेक दिन कोरोनाले नयाँ रेकर्ड कायम गरिरहेको छ । यस अवस्थामा सबैले सावधानी अपनाउनु तथा सतर्क रहनु नै उचित हुन्छ । सम्भव भएसम्म घरबाट बाहिर ननिक्लौँ र सम्भव भएसम्म सम्पूर्ण सुरक्षा अपनाएर मात्र केही गरौँ । अहिलेको समय भनेको अत्यन्त कठिन समय हो । यस समयमा हरेकले आफूलाई संयमित राख्नु परेको छ । कोरोनाले अझ बिगार्न नपाओस् । यसका लागि हरेकले आफ्नो तर्फबाट सुरक्षात्मक तथा सतर्कतापूर्ण उपाय अवलम्बन गर्नै परेको छ । समय छँदै कोरोनाको विस्तार रोक्ने संयन्त्रले यसतर्फ सकारात्मक पहल लिन जरुरी भइसकेको छ ।