सञ्जय साह ‘मित्र’
शीतल गिरीले रौतहटमा मानिसको बसोबास ई.पू. १००० तिर अर्थात् करिब ३१०० वर्ष पहिले भएको अनुमान प्रसंगवश भन्ने कृतिमा गरेका छन् ।
हामी रौतहटको इतिहासबारे जान्ने प्रयासमा छौँ ।
ऋग्वेदमा नदीको महत्वबारे यसरी उल्लेख भएको पाइन्छ – “इयं में गंगे यमुने सरस्वती शुतुद्रिस्तोमं स च ता परुष्णण्या आस्किन्या मरुद्वृधेवितस्तयार्जीकीये शृणुह्या सुषोमपा ।”
नदी सभ्यता भन्नु प्राचीन मानव सभ्यता हो । तीनतिरबाट विशाल नदीले सिंचित यस तीरभुक्ति (तिरहुत) भूमिमा मानव बसोबासको सन्दर्भ प्रागैतिहासिक पृष्ठभूमिका अन्य प्रमाणहरूजस्तै धुमिल छ ।
राधाकृष्ण चौधरीले प्राचीन भारत का राजनीतिक एवं सांस्कृतिक इतिहास भन्ने ग्रन्थ (पृष्ठ २३) मा मोहनजोदारो सभ्यताको उत्खननबाट प्राप्त अवशेषमा इ.पूं ५५००को पनि देखिएको उल्लेख गरेका छन् । तथा वैदिक सभ्यतालाई इ.पूं ४५०० सम्म लैजाने पनि उल्लेख गरेका छन् । सिन्धुघाँटीबाट कहिले गंगामा आर्यहरू बसाइँ सरे ? यकिनसाथ भन्न सजिलो छैन । ऋग्वेदले पनि स्पष्ट संकेत किन गरेको छैन भने ऋग्वेदको रचनाकाल स्पष्ट हुन सकेको छैन । यद्यपि वैदिककालले मानव सभ्यताको विकासले एउटा उत्कर्ष प्राप्त गरिसकेको युगलाई प्रतिनिधित्व गर्दछ । पाणिनिले अष्टाध्यायीमा २२ जनपद भनेर उल्लेख गरेका छन् । पाणिनिको अध्ययन निकै व्यवस्थित थियो । उनले उल्लेख गरेका जनपदहरू यी हुन् – कंबोज, गांधार, मद्र, यौधेय, कोशल, वृज्जि, अवंती, कुरु, शाल्व, पाञ्चाल, भरत, उशीनगर, मगध, प्राच्य, विदेह, अंग, वंग, सौवीर, ब्राह्मणक, कच्छ, केकय, त्रिगर्त, काशी, कलिंग, अश्मक ।
इ.पू. छैटौं शताब्दीदेखि इ.पू. चौथो शताब्दीको अवधिमा आर्यहरूको बसोबास क्षेत्र निकै विस्तार भइसकेको थियो । के भनिन्छ भने उत्तरवैदिकयुगमा जनपदको विकास भएको हो र राज्यको कल्पना भौगोलिक आधारमा गरिन थालिएको थियो । बौद्धसाहित्यको ग्रन्थ अंगुत्तरनिकायमा १६ महाजनपदको उल्लेख पाइन्छ – अंग, मगध, काशी, कोशल, वज्जि, मल्ल, चेदि, वत्स, कुरु, पंचाल, मत्स्य, सूरसेन, अस्मक, अवंती, गांधार, कंबोज । यसै गरी जैनग्रन्थ भगवतीसूत्रमा उल्लेख गरिएका महाजनपदहरू यस प्रकार छन् – अंग, बंग, मगध, मलय, मालव, अच्छ, वच्छ, कच्छ, पाध, लाध, मोलि, काशी, कोशल, अवाह र सम्मुतर ।
निसन्देह दुवै धार्मिक ग्रन्थमा वज्जि महाजनपदको नामोल्लेख पाइन्छ । वज्जि भन्नु चाहिं लिच्छविहरू हुन् भन्ने कुरामा सन्देह छैन ।
इतिहासले वज्जिसंघलाई आठ राज्यको संघ बताएको छ जहाँ गणतान्त्रिक शासन व्यवस्था रहेको थियो । बुद्धको समयसम्म वज्जिसंघ विद्यमान थियो । पाणिनि र कौटिल्यले पनि वृज्जिहरूको बारेमा उल्लेख गरेका छन् । गणतान्त्रिक शासन व्यवस्था भएको वज्जिसंघको राजधानी वैशाली थियो । वैशाली सभ्यता र संस्कृतिको केन्द्र थियो । यी तथ्यहरूबाट स्पष्ट हुन सजिलो हुन्छ कि रौतहटको वर्तमान भूमि वज्जिसंघअन्तर्गत थियो । वज्जि संस्कृति र सभ्यता उत्कर्षमै रहेको समय केही वज्जि (लिच्छवि)हरू नेपाल उपत्यका पसेका थिए भन्ने मेरो अनुमान रहेको छ ।
नेपालको प्राचीन तथा मध्यकालीन इतिहास भन्ने पुस्तकमा प्रा.डा. श्रीरामप्रसाद उपाध्यायले पनि लिच्छविहरू वसाढ (वैशाली)बाट नेपाल उपत्यका पसेको उल्लेख गरेका छन् ।
मध्ययुगको बारेमा धेरै कुरा बाहिर आइसकेको छैन । तिरहुत क्षेत्रभित्र पनि सानातिना राजा रजौटाहरूको उदय र अस्त भइरहेको देखिन्छ । यद्यपि वज्जिसंघ भने निकै लामो समयसम्म निकै शक्तिशाली गणतन्त्रको रूपमा स्थापित भइरह्यो ।
वज्जिसंघलाई देखिनसहने मगध थियो । वज्जिसंघको सोहरत यति धेरै थियो कि यसबाट मगध जल्दथियो र जसरी पनि आफ्नो कब्जामा लिन वा ध्वस्त पार्न चाहन्थ्यो । भगवान गौतम बुद्ध जीवित रहेसम्म वज्जिसंघमाथि कसैले आँखा लगाउने साहस किन गरेनन् भने भगवान गौतम बुद्धलाई वैशाली अत्यन्त प्रिय थियो ।
वज्जिसंघको स्थापना कहिले भएको थियो भन्ने निश्चित छैन तापनि यसबारे धेरै इतिहासकारहरूले आफ्नो धारणा राखेका छन् । डा. योगेन्द्र मिश्र (ऐन अर्ली हिस्ट्री अफ वैशाली, १९६२) मा वज्जिसंघको अस्तित्व इ.पू. ७२५ देखि इ.पू. ४८४ सम्म रहेको थियो भन्ने उल्लेख गरेका छन् ।
मगध सम्राट थिए बिम्बिसार । यिनको शासनकाल इ.पू. ५४७ देखि इ.पू.४९५ रहेको मानिएको छ । बिम्बिसारले वज्जिसंघमाथि आक्रमण गरेका थिए । वज्जिसंघका संघनायक चेटकले आफ्नी छोरी चेल्लनाको विवाह इ.पू. ५३० मा बिम्बिसारसित गराइदिए । यो एक किसिमले राजनैतिक दाउ थियो । बिम्बिसारले आफ्नै ससुरालीमा फेरि आक्रमण गरेनन् । बिम्बिसार र चेलनाबाट अजातशत्रुको जन्म भएको थियो । अजातशत्रुले इ.पू. ४९५देखि इ.पू. ४६३ सम्म शासन गरेको इतिहासमा उल्लेख पाइन्छ । भगवान गौतम बुद्धको अपार छत्रछाया प्राप्त थियो वैशालीलाई । भगवान गौतम बुद्धको महापरिनिर्वाण इ.पू. ४८७ मा भएको मानिन्छ । भगवान बुद्धको महापरिनिर्वाणको तीन वर्षपछि इ.पू. ४८४ मा चेल्लनापुत्र अजातशत्रुले वैशालीमाथि आक्रमण गरी यसको पतन गराउन सफल भए । यसबाट यो पनि स्पष्ट हुन्छ कि केही समय यो भूमि मगधको अधिनस्थ हुन गएको हो ।
यहाँ स्मरणीय के छ भने पाटलीपुत्र भनेको अहिले पटनालाई बुझ्दा हुन्छ । अजातशत्रुले पिता बिम्बिसारको हत्या गरी पाटलीपुत्र नगर बसाएका थिए । अजातशत्रुका अन्यन्त प्रिय मन्त्री थिए – वर्षकार । उनकै सल्लाहमा मामाको राज्य वैशालीमाथि आक्रमण गरी अजातशत्रुले ध्वस्त बनाएका थिए । भएको के थियो भने वर्षकारले योजना बनाई आफूलाई मगधबाट देशनिकाला गराएका थिए र वैशालीमा आई बसेका थिए । देशनिकाला केवल नाटक थियो । वर्षकार मगधप्रति निष्ठावान थिए । वैशालीमा आठकुलको गणतान्त्रिक शासन थियो । सबैमा विस्तारै फुट ल्याउने कोसिस गरे र कैयौँ वर्षको प्रयासपछि उनी सफल भए । फुटले शासन कमजोर भएको र आ–आफ्नो गणलाई बलियो बनाउने दाउ लिएको उचित मौका पाई वर्षकारले अजातशत्रुलाई आक्रमण गर्ने निम्तो दिए र सहजै वैशालीमाथि आधिपत्य जमाउन सफल भए ।
वैशालीमा वर्षकारको कूटनीति सफल भई वैशाली मगधको नियन्त्रणमा भएपछि चेटक चाहिँ परिवार र समर्थकसहित नेपाल उपत्यका प्रवेश गरेका थिए । नेपाल उपत्यकातिर विभिन्न समयमा अनेक दल नेपाल उपत्यका प्रवेश गरिसकेका थिए । बागमतीको किनारै किनार वैशाली तथा नेपाल उपत्यकाबीच व्यवसाय धेरै पहिले सुरु भइसकेको थियो ।
डा. प्रफुल्लकुमार सिंह मौनको पुस्तक बज्जिका साहित्य का इतिहास (पृष्ठ ११)अनुसार चन्द्रगुप्त मौर्यपछि वज्जिसंघको स्वतन्त्रता समाप्त भइसकेको थियो । सम्राट अशोकको समय वैशाली मात्र सैन्य शिविर बनेर रहेको थियो । यस तथ्यबाट यो पनि स्पष्ट हुन्छ कि यो भूमि चन्द्रगुप्त मौर्य तथा सम्राट अशोकबाट पनि शासित थियो । स्मरणीय छ – वैशालीमा अहिले पनि उत्तराभिमुख अशोकस्तम्भ रहेको छ ।
इतिहासहरू के कुरा स्पष्ट छन् भने अजातशत्रुले आक्रमण गरी वैशालीलाई ध्वस्त बनाए पनि यहाँ राजतन्त्रीय शासन व्यवस्था नलादेर गणतान्त्रिक विधिबाटै शासन चलाउने र निर्णय लिने विधि कायम राखे । केही कालपछि यो क्षेत्र मगधबाट फेरि स्वतन्त्र भएको पनि इतिहास पाइन्छ । इ.पू. १५० देखि इ. १०० सम्म लिच्छवि स्वतन्त्र रहेको उल्लेख पाइन्छ । इसाको पहिलो शताब्दीको अन्त्यतिर वैशाली र पाटलीपुत्रमाथि कुषाण सम्राट कणिष्कको आधिपत्य हुन पुग्दछ । कणिष्कले वैशाली (लिच्छवि) बाट बुद्धको भिक्षापात्र तथा बौद्ध महाकवि अश्वघोषलाई आफूसित लिएर पुरुषपुर (पेशावर) गए । कणिष्क पेशावर गएपछि लिच्छवि पुनः स्वतन्त्र भयो । निकै उतारचढावबीच वैशालीको इतिहासले एकचोटि फेरि उत्कर्ष प्राप्त गरेको छ । गुप्त शासनकालमा यसले पुनरुत्थान पाएको हो । चन्द्रगुप्तको राज्यारोहण सन् ३१९ मा भएको थियो । लिच्छवि राजकुमारी कुमारदेवीको विवाह चन्द्रगुप्त प्रथमसित भएको थियो । चन्द्रगुप्त प्रथमलाई वैशाली दहेजमा दिइएको थियो । चन्द्रगुप्त प्रथम र कुमारदेवीका पुत्र थिए – समुद्रगुप्त । यिनको शासनकाल सम्भवतः सन् ३३५ देखि ३७५ सम्म रहेको थियो । चन्द्रगुप्तको सिक्कामा पनि लिच्छवयः अंकित गरिएको पाइन्छ ।
चौथो शताब्दीमा फाहियानले पनि आफ्नो यात्रावृत्तान्तमा तद्युगीन वैशालीको भव्यताको वर्णन गरेका छन् । उनले पनि तीरभुक्तिको राजधानी वैशाली भनी उल्लेख गरेका छन् । वैशालीको पुरातात्विक उत्खननबाट ‘तीरभुक्ति’ र ‘वैशाली’ नामक मोहरहरू प्राप्त भएका छन् ।
इतिहासकार शैलेन्द्र सेंगरको ‘प्राचीन भारत’ भन्ने पुस्तकको पृष्ठ ३०६ मा उल्लेख गरिएको छ – “गोविन्दगुप्त वैशाली के तीर भुक्ति प्रदेश मे सामन्त शासक था ।” चन्द्रगुप्त विक्रमादित्यपछि कुमारगुप्त शासक बनेका थिए । कुमारगुप्तकै समयमा गोविन्दगुप्त तीरभुक्ति प्रान्तका सामन्त शासक थिए । कुमारगुप्तको शासनकाल सन् ४१५ देखि ४५५ सम्म रहेको मानिएको छ । यी सबै सन्दर्भमा विचार गर्दा वर्तमानमा रौतहट भनिएको भूमि यिनै शासनमा शासित रहेको देखिन आउँछ ।
रौतहटको बस्ती प्राचीन हो । प्रागैतिहासिक बस्ती हो रौतहट । जसरी लिच्छवि भनेका बज्जी र बज्जी भनेका लिच्छवि हुन्, त्यसरी नै रौतहटिया भनेका पनि लिच्छवि वा बज्जी पनि हुन् ।