पवन कुमार उपाध्याय
रौतहटको माधव नारायण नगरपालिका–६ माधोपुर। २६ वर्षीया रुबी साह शनिबार राती १० बजे गौर–सिर्सिया खण्डको मुडबलवा गेटनजिक निलो रङको सुटकेसभित्र मृत भेटिएपछि जिल्ला स्तब्ध भयो। घटनाको अनुसन्धानमा खुल्दै गएका तथ्यहरूले यो केवल एक सामान्य हत्या नभई—प्रेम, अपमान, ब्ल्याकमेल र सामाजिक अस्वीकृतिको जटिल त्रासदी भएको देखाउँछ।
प्रेमदेखि कोर्ट म्यारिजसम्म
रुबी साह र लक्ष्मण पासवानको सम्बन्ध विद्यालयकै कक्षाबाट सुरु भएको थियो। दुवै किशोरावस्थामै प्रेममा परे। त्यतिबेला रुबी १६ र लक्ष्मण १७ वर्षका थिए । समाज र परिवारको विरोध हुँदाहुँदै पनि उनीहरूले जिल्ला अदालत सर्लाही र भारतको सीतामढीस्थित अदालतमा कोर्ट म्यारिज गरेका थिए।
तर, यो विवाह परिवार र समाजले कहिल्यै स्वीकारेन। लक्ष्मणलाई समाजले “अपहरणकारी” भनेर चिनायो। चौध वर्षअघि नै उसलाई जेलसम्म पुर्यायो।१७ दिन हिरासतमा बसे । तर लक्ष्मणको मनमा रुबीकै नाम थियो। उसले आफ्नो शरीरमै रुबीको नाम कोरेको थियो, ट्याटु बनाएर।
रुबीलाई जबरजस्ती भारतको मुजफ्फरपुरका शिवसागर साहसँग विवाह गराइयो। त्यसपछि रुबीको एउटा छोरा भयो। लक्ष्मणले अर्को विवाह गरेर दुई छोरा र एक छोरी जन्माए। तर, पुरानो प्रेमको पासो उनीहरूबीच अझै बाँधिएको थियो।
रुबीको पीडा
लक्ष्मणको बयानबाट खुलेको एउटा गहिरो सत्य – रुबीलाई उसकै देवरले नुहाइरहेको अवस्थाको भिडियो बनाएर ब्ल्याकमेल गरेको थियो। त्यसरी दबाबमा पारेर उससँग शारीरिक सम्बन्ध राखियो।
त्यो मात्र होइन—सखुअबाका राजन महतो र राजु नामका अर्का व्यक्तिले प्रलोभन दिँदै उसको जीवनमा जबर्जस्ती प्रवेश गरे।
रुबीले आफ्नी आमासँग पीडा सुनाउँदा, आमाले उल्टै “त्यो संग नै जाऊ” भन्दै दबाब दिइन्। आफ्नै आमा, आफन्त र समाजबाट अपमानित भएकी रुबीले यी सबै पीडा अन्ततः लक्ष्मणलाई सुनाइन्।
लक्ष्मणको अन्तिम निर्णय
रुबीले आफ्नो पीडाको कथा सुनाएपछि लक्ष्मण भित्रभित्रै टुट्यो। समाजले नस्वीकारेको प्रेम, आफ्नै परिवारको अस्वीकृति, अनि रुबीलाई भोग्नुपरेको अपमान—यी सबैले उसलाई अपराधतर्फ धकेल्यो। लक्ष्मणले यही कारण आफू डिप्रेसनमा पुगेको र रुबीको हत्या गरी यो दुनियाँबाट बिदा भए। त्यो दिन राति, दुबैको जीवन सधैंका लागि अन्धकारमा डुब्यो।
गत शनिबार रुबी सुटकेसभित्र मृत भेटिइन्। त्यसपछि प्रहरीको अनुसन्धानको सुई लक्ष्मणतिर गयो। केही दिनमै लक्ष्मण खेतमै जलेको अवस्थामा भेटियो। उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पुर्याइयो तर बुधबार साँझ उसले अन्तिम सास फेऱ्यो।
नौ मिनेटको भिडियो सन्देश
मृत्युपूर्व लक्ष्मणले नौ मिनेट लामो भिडियो सन्देश बनाएर आफ्नो अपराध स्वीकार गर्यो। तर उसले सबै दोष रुबीकी आमालाई दियो।
भिडियोमा उसको स्वर काँपेको थियो, तर आँखामा अडिग प्रेम झल्किएको थियो। “म गरिब हुँ, तर म रुबीलाई प्रेम गर्थेँ। उसलाई धनीसँग बिहे गराइयो। त्यसैले यो अन्त्य भयो।” त्यो अन्त्य केवल रुबीकै थिएन—लक्ष्मणको पनि थियो । कीर्तिपुरको बर्न अस्पतालमा उपचारको क्रममा उसले अन्तिम सास फेर्यो।
अब सुटकेश र जलेको शरीर मात्रै प्रमाण बाँकी छन्। प्रेम, पीडा, समाजको अस्वीकृति, गरिबी र नियतिको अन्तिम खेल—सबै एउटै कथामा बाँधिएका छन्।
भिडियोमा उसले भनेको थियो—
“रुबी मेरो प्रेम थिई।”
“आमाले उसलाई धनीसँग विवाह गराइन्।”
“ब्ल्याकमेल र प्रलोभनले उसको जीवन नर्क बनाइयो।”
“म जेल जान्नँ। अब हाम्रो भेट माथि हुनेछ।”
रुबी र लक्ष्मण— एउटै गाउँका दुई बालसखा। प्रेमले बाँधिएका, तर समाजले छुट्याइएका।
अन्ततः दुबै जीवनबाटै हराए। के दोषी केवल लक्ष्मण थिए ? कि त्यो सोच, त्यो विभेद, त्यो समाज, जसले उनीहरूको प्रेमलाई स्वीकार्न सकेन ?
दुइ परिवारका टुक्रिएका भविष्यहरू
रूबी र लक्ष्मणको मृत्युले केवल दुई जीवन मात्र हराएनन्, यसले सातटा जिवन्त भविष्यलाई गहिरो अन्धकारमा धकेल्यो।
निलो सुटकेसमा अन्त्य भएको प्रेमकथा पछि बाँकी रहे— रूबीको छोरा, लक्ष्मणका दुई छोरा,एक छोरि लक्ष्मणका वृद्ध आमा–बुवा र श्रीमती।
रूबीको छोरो -आमा गुमाएको पीडाले अब उसको बाल्यकाल अधुरो बन्यो। बाबु भारतीय भए पनि आमा नेपाली भएकाले उसको पहिचान पनि दुई मुलुकबीचको ‘बीच बाटो’मा फस्नेछ। उसलाई शिक्षा, सुरक्षा र मायाको खाँचो अझ गहिरो हुनेछ।
समाजले “अपराधीको सन्तान” भनेर हेप्ने सम्भावना प्रबल छ। तर उनीहरू निर्दोष छन्— अपराधको दोष उनीहरूको होइन। उनीहरूले आमाको माया पाए पनि बुबाको मृत्युले जीवनभर खालीपन छोड्नेछ। राज्य वा समाजले शिक्षा र संरक्षणको जिम्मा नलिए उनीहरूको भविष्य असुरक्षित बन्नेछ।
लक्ष्मणका आमा–बुवा
लक्ष्मणका बाबु पहिले नै प्यारालाइसिसका बिरामी, आमा वृद्ध अवस्थामा। अब एकमात्र सहारा मानिएको छोरा गुमेपछि उनीहरूको जीवन निराधार भयो। उपचार, पालनपोषण र मानसिक शान्तिको लागि उनीहरू अझ कष्टपूर्ण यात्रामा धकेलिएका छन्। सन्तान गुमाउनु भनेको जीवनकै सबैभन्दा ठूलो पीडा हो।
लक्ष्मणकी श्रीमती
लक्ष्मणकी श्रीमती अब विधवा बनेकी छिन्। तिन नाबालक सन्तानको भविष्यको जिम्मा उनको काँधमा आयो।
तर समाजमा विधवा हुनु भनेको अझै पनि अपमान र दबाबको बोझ हो। शिक्षा वा रोजगारी नभए जीवन धान्न मुस्किल हुनेछ।
श्रीमान्को अपराधले थप कलंक झेलेकी उनले समाजको सहानुभूति भन्दा बढी तिरस्कार भोग्नुपर्ने खतरा ।
रूबी र लक्ष्मणको मृत्युसँग कथा सकिएको होइन।
साँचो कथा त अब सुरु भएको छ— त्यो कथा, जसमा निर्दोष बालबालिका, वृद्ध अभिभावक र एक विधवा महिला आफ्नो भविष्यसँग संघर्ष गर्दै बाँच्नुपर्ने ।
निलो सुटकेसको कथा केवल एउटा हत्या मात्र होइन—जातीय विभेद र सामाजिक पूर्वाग्रहले जन्माएको त्रासदी हो।


