वीरगञ्ज, २८ माघ। बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिका–२० का २४ वर्षीय मोहम्मद सेफविरुद्ध जिल्ला अदालत काठमाडौँमा करिब २० करोड रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सेफ क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रही गैर कानुनी रूपमा १९ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको अभियोग लगाएको छ । अभियोग पत्रमा सो बराबरको सम्पत्ति जफत गर्न, बिगोको दोब्बर जरिवाना गर्न तथा कसुरको गम्भीरता हेरी २ वर्षदेखि १५ वर्षसम्म कैद सजाय गर्न माग दाबी गरिएको छ । साथै बरामद भएका मोबाइल फोन र सिम कार्डहरू समेत जफत गर्न माग गरिएको छ ।
प्रहरीले सेफलाई गत २०८२ मङ्सिर १० गते साँझ काठमाडौँको भद्रकाली क्षेत्रबाट शङ्कास्पद अवस्थामा पक्राउ गरेको थियो । खानतलासीका क्रममा दुई थान मोबाइल फोन बरामद गरिएको थियो । प्रारम्भिक जाँचका क्रममा उनको ‘बाइनन्स’ एकाउन्टमार्फत यूएसटीडी, बोओएनके र पीईपीईजस्ता क्रिप्टोकरेंसीमा ठुलो रकमको कारोबार भएको फेला परेको थियो ।
अभियोग पत्रअनुसार सेफले कुल १९ करोड ८१ लाख ४९ हजार ६८१ रुपैयाँ बराबरको अवैध क्रिप्टो कारोबार गरेको देखिएको छ । अनुसन्धानका क्रममा उनले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिटिजन्स बैंक, मुक्तिनाथ विकास बैंक, सिद्धार्थ बैंकलगायत १० भन्दा बढी बैंकमार्फत करोडौँ रुपैयाँको कारोबार गरेको खुलेको छ ।
उनको बैंक स्टेटमेन्ट विश्लेषण गर्दा डेबिटतर्फ करिब ६ करोड ६१ लाख रुपैयाँ र क्रेडिटतर्फ ६ करोड ६५ लाख रुपैयाँभन्दा बढी कारोबार भएको पाइएको छ ।
बयानका क्रममा सेफले करिब ८–९ महिना अघि मुराध आलम नामक व्यक्तिमार्फत क्रिप्टो कारोबारमा जोडिएको स्वीकार गरेका छन् । मुराधले क्रिप्टोमा लगानी गर्दा राम्रो फाइदा हुने प्रलोभन देखाउँदै बाइनन्स एकाउन्ट खोलिदिएको र सोहीमार्फत कारोबार सिक्दै अरूलाई समेत डिजिटल मुद्रा बिक्री गर्ने गरेको खुलेको छ ।
उनले काम गरेबापत मासिक २०० देखि २५० अमेरिकी डलर पारिश्रमिक पाउने गरेको बयान दिएका छन् । मामिलाबारे अदालतमा थप सुनुवाइ प्रक्रिया अगाडि बढ्ने जनाइएको छ ।


