
काठमाडौं, ०४ असार। आफ्नो विवादित बोलीबारे पूर्वाधारमन्त्री सुनिल लम्सालले संसद्मा स्पष्टीकरण सार्वजनिक गरेका छन् ।
बजेटबारे प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै उनले आफ्नो मनसाय निर्माण व्यवसायीलाई हतोत्साही बनाउने नरहेको दाबी गरे ।
केही दिनअघि नागढुंगा-मुग्लिन सडक स्तराेन्नति अनुगमनमा गएका बेला मन्त्री लम्सालले ‘काम नगर्ने ठेकेदारकाे खुट्टा भाँचिदिए हुन्छ’ भनेकाे भिडियाे सामाजिक सञ्जालमा भाइरल भएकाे थियाे ।
भिडियाे भाइरल भएपछि मन्त्री लम्सालकाे व्यापक आलाेचना भएकाे थियाे ।
एउटा ठेक्का तोड्दा निर्माण व्यवसायीलाई ठूलो क्षति पुग्ने भन्दै उनले यसबारे सरकार जानकार रहेको बताए । १ प्रतिशतमात्र पनि सम्भावना भएसम्म सुधार गरेरै जाने भन्ने आफूहरूको उद्देश्य रहेको भन्दै सोही अनुसार आह्वान गरिएको उनले बताए ।
निर्माण क्षेत्रमा रहेका समस्या समाधान गर्न सार्वजनिक खरिद ऐनमा सुधार गर्न लागिएको उनको भनाइ छ ।
